१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण ५ बुधबार ०९:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सूचना जारी गर्दै फेरि बागमती प्रदेश सभाको बैठक स्थगित

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ५ बुधबार ०९:१०:००

मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव संसदमा छलफल अघि बढाइने चरणमा पुगेपछि सरकारको दबाबमा सभामुखले  बैठक स्थगित गरिरहेका छन् 
बागमती प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि उल्लेख गरेर सूचना टाँस गर्दै बागमती प्रदेश सभा बैठक फेरि स्थगित गरेको छ । यसअघि १९ माघका लागि बोलाइएको बैठक १८ माघ राति सूचना टाँस गरेर ५ फागुनसम्मका लागि स्थगित गरिएको थियो । बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि बिहान ६ः३५ मा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचना टाँस गर्दै फेरि बैठक अनिश्चित भएको छ ।

मंगलबार साँझ नै आज बुधबारका लागि प्रदेश सभा नबोलाउने संकेत देखिएको थियो । नेकपा प्रचण्ड–नेपाल समूहको दबाब र विपक्षी दलहरूको बैठकपछि बुधबार प्रदेश सभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका सभामुख सानुकुमार श्रेष्ठले सत्तापक्षबाट संकेत पाउना साथ पुनः बैठक स्थागित गरेका हुन् । सभामुख श्रेष्ठले बैठक स्थगितबारे ‘विशेष कारण’ भनेका छन् । 

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध सत्तारुढ दल नेकपा प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश सभा बैठक सरकारको दबाबका कारण धकेलिएको हो । ५ पुसमा प्रतिनिधिसभा विघटनपछि १० पुसमा प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । ९ माघमा प्रदेश सभामा टेबुल भएको अविश्वासको प्रस्ताव १९ माघमा प्रदेश सभामा छलफल अघि बढाउने भनिए पनि त्यसपछि सरकारको दबाबका कारण सभामुख श्रेष्ठले पटकपटक स्थगित गर्दै आएका छन् । 

अविश्वासको प्रस्ताव सामना गर्छु भन्ने मुख्यमन्त्रीद्वारा बैठक नबोलाउन दबाब

हरेक सार्वजनिक मञ्चमा आफूविरुद्ध प्रदेश सभामा दर्ता गरिएको अविश्वासको प्रस्ताव सामाना गर्छु भन्दै अभिव्यक्ति दिने मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सभा बैठकलाई जतिसक्दो पर धकेल्न खोजिरहेका छन् ।

सभामुखलाई दबाब दिँदै मुख्यमन्त्री पौडेलले बैठक बोलाइएको अन्तिम क्षणमा स्थगित गर्ने रणनीति अपनाएर सोहीअनुसार गर्न भनिरहेका छन् । त्यसअनुरूप सभामुख श्रेष्ठले ९ माघमा प्रदेश सभामा अविश्वासको प्रस्ताव टेबुल गराएपछि चरणबद्ध प्रक्रिया अघि बढाउन आनाकानी गरिरहेका छन् ।

सभामुखबाट धोका दिइयो : जमकट्टेल
नेकपा प्रचण्ड–नेपाल समूहका संसदीय दलका उपनेता शालिकराम जमकट्टेलले सभामुखबाट धोका दिइएको आरोप लगाए । आफूहरूले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव गरेपछि पटकपटक बैठक स्थगित गरेर अल्पमतको सरकारलाई टिकाइराख्ने कोसिस भइरहेको बताए ।

‘सर्वदलीय सहमतिअनुसार बैठक सञ्चालन गर्ने प्रतिबद्धता भएको थियो । सभामुखले एक्कासि सदन स्थगित धोका दिए,’ उनले भने । सभामुख श्रेष्ठले संसदीय व्यवस्थाका मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेश सभा नियमावली उल्लंघन गरेको उनको आरोप छ ।