मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ४ मंगलबार १८:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशमा भ्रष्टाचार र अनियमितता मौलायो : देवेन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ४ मंगलबार १८:३९:००

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देशमा भ्रष्टाचार र अनियमितता मौलाएको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा पौडेलले प्रधानमन्त्री ओली आत्मरति गर्दै हिँडे पनि तथ्य तथ्यांकहरूले भ्रष्टाचार र अनियमितता निकै मौलाएको देखाएको बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले सरकारको कामको प्रशंसा एकतर्फी रूपमा गर्दै हिँड्नुले उनको असफलता प्रकट भएको पौडेलको भनाइ छ । ओली सरकारकोे तीन वर्षको अवधिमा कुनै प्रभावकारी काम हुन नसकेको उनले बताए । 

सरकारले निर्वाचनको वेलामा घोषणा गरेको ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ताको विषय नीति, कार्यक्रम र बजेटमा हाल्न नसकेको उनको भनाइ छ । सरकारको आत्मरति र आत्मप्रशंसाबाहेक केही नभएको उनको दाबी छ । 

पौडेलले वैशाखमा निर्वाचन नहुने दाबी पनि गरे । निर्वाचन गर्न प्रतिनिधिसभा विघटनको कदम चालिएको नभई सरकार टिकाउन र निरंकुश प्रणाली लागू गर्ने उद्देश्य राखिएको उनले जिकिर गरे । 

कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले केपी ओलीको सरकार पूर्ण रूपमा असफल भएको बताए । राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न नसकेको तथा अर्थमन्त्रीले बजेट कटौती गर्नुपर्ने अवस्थासम्म आइपुगेको उनले बताए । संयुक्त आन्दोलनको निम्ति कम्युनिस्ट पार्टीले विश्वास गुमाएको पनि उनले बताए । 

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले नेकपाको आन्तरिक किचलो, वर्तमान व्यवस्थाको फाइदा उठाउँदै र विदेशी शक्तिको हस्तक्षेपका कारण प्रतिनिधिसभा विघटन भएको बताए । तीनवर्षे कार्यकालमा प्रधानमन्त्री ओलीले केही गर्न नसकेको उनको भनाइ छ । 

प्रतिनिधिसभा विघटन केपी ओली र नेकपाको मात्रै असफलता नभई व्यवस्थाकै असफलता भएकाले वर्तमान व्यवस्थाकै पुनर्विचार गर्नुपर्नेमा उनले जोड दिए ।