
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी ओली राज्य सञ्चालन र नागरिकको अपेक्षा र आवश्यकता पूरा गर्न तीन वर्षमा पूर्णतः असफल भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध रत्नपार्क शान्ति बाटिकामा विवेकशील साझाले सुरु गरेको १० दिने प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले सरकार गठन गरेको तीन वर्षमा ओलीले पटक–पटक चिट चोर्दा, सेन्टर कब्जा गर्दा र आफैँ कापी जाँच्दासमेत पूर्णतः असफल भएको जिकिर गरे ।
पाण्डेले प्रधानमन्त्री ओलीलाई स्ट्यान्डप कमेडियन हुनु र प्रधानमन्त्री बन्नुमा फरक रहेको भन्दै व्यंग्य गरे । हजुरबुबाले ल्याएको प्रजातन्त्र, बाले ल्याएको लोकतन्त्र अनि काकाले ल्याएको गणतन्त्र जोगाउन आफ्नो पुस्ता र आफ्नो पार्टी सक्षम रहेको उनको दाबी छ ।
विरोध सभामा बागमती प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले पुरातनवादी राजनीतिक संस्कार सुधार गर्न विवेकशील साझा पार्टी प्रतिबद्ध भएर लागेको बताए ।
पार्टीको अभियान विभागले प्रतिगमनविरुद्ध प्रतिरोध अभियान आयोजना गरेको हो । अभियान दश दिनसम्म दैनिक साँझ ४ बजे रत्नपार्कको शान्ति बाटिकामा आयोजना हुने पार्टीका अभियान विभाग प्रमुख प्रमेश श्रेष्ठले बताए ।