१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार २o:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले संविधानमाथि नांगो नाच देखाए : घनश्याम भुसाल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:३७:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता घनाश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले नेपालीको भाग्य र भविष्यसँग गाँसिएको संविधानमाथि नांगो नाच देखाएको आरोप लगाएका छन । नेकपा प्रचण्ड–माधव पक्षले बाग्लुङ सदरमुकाममा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा भुसालले संसद् विघटनले मुलुकलाई अस्थिरतामा लगेको बताउँदै प्रधानमन्त्री ओलीको कदम नरकको यात्रा रहेको दाबी गरे । उनले दुईतिहाइको जनमत प्राप्त प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशको नाममा मुलुकलाई प्रतिगमनतर्फ हिँडाएको बताए । 

पूर्वकृषिमन्त्रीसमेत रहेका भुसालले संसद् विघटन गरेर संविधान र संसद्लाई घायल बनाएको जिकिर गरे । ‘काम गर्न दिइएन भन्नु, पार्टीबाट सहयोग भएन भन्नु या अरू कुनै विषय र बाहना बनाउनु ओलीको नाटक हो,’ भुसालले भने, ‘ओली अहिले हिँडेको बाटो ठीक बाटो होइन, नरकको यात्रा हो, यो बाटो बारुदको गोदाममा आगो लगाएर हिँडेजस्तो हो ।’ 

आफैँले बनाएको संविधानमाथि कैँची चलाउने र पार्टीभित्रको सहमतिसमेत नमान्ने प्रधानमन्त्री ओलीलाई अनैतिकताको सजाय दिइनुपर्ने बताए । उनले ओलीले जनतालाई भेडा सम्झिएर जनताले दिएको जनमतलाई जुवा खेलमा परिणत गरेको हुँदा ओलीकै पक्षमा अदालतले निर्णय गरेमा देश सकिने स्थितिमा आउने हुँदा अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेर जनताको पक्षमा निर्णय लिनेमा विश्वस्त रहेको बताए । 

प्रधानमन्त्री ओलीले जनताको अमूल्य अभिमतलाई शकुनीको पासाले पल्टाएकोजस्तो रूपमा लिँदा मुलुक गम्भीर संकटमा फसेको उनको भनाइ थियो । प्रतिगमनविरुद्धको लडाइँ उत्कर्षमा पुग्न लागिरहेको भन्दै भुसालले अब प्रधानमन्त्री ओलीलाई घिसारेरै सडकमा ल्याइने उद्घोष गरे । ‘अब ओलीलाई आन्दोलनले सडकमा ल्याउँछ, यदि कथंकदाचित ल्याउन सकिएन भने या विभिन्न सेटिङले ल्याउने परिस्थिति भएन भने पनि प्रतिक्रान्तिले अन्ततः घिसारेर सडकमा ल्याउनेछ,’ भुसालले भने । 

आफू कृषिमन्त्री हुँदा कृषिमा केही सकारात्मक काम गर्न थाले पनि प्रधानमन्त्री ओलीका कारण त्यसको कार्यान्वयनमा जान नसकेको भुसालको आरोप थियो । भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता ओलीकै कारण तोडिएको भन्दै ओलीको निरंकुशतन्त्रको छिट्टै अन्त्य हुने बताए । 

ad
ad