१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७७ माघ २४ शनिबार ०५:३९:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रतिरक्षा सभामा प्रधानमन्त्री ओलीले भने–लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ

Read Time : > 6 मिनेट
२०७७ माघ २४ शनिबार ०५:३९:००

‘सक्कली पार्टी कुन हो, नक्कली कुन हो, टुंगो लाग्यो’

संसद् विघटनपछि लगातार राजनीतिक, संवैधानिक र कानुनी दबाब झेलिरहेका प्रधानमन्त्री केपी ओलीले देशभरका नेता–कार्यकर्ता जम्मा गरेर आफ्नो कदमको प्रतिरक्षा गरेका छन् ।

काठमाडौंमा शुक्रबार बृहत् सभा गरेर प्रधानमन्त्री ओलीले अहिलेका परिवर्तनप्रति आफ्नो निष्ठा कायमै रहेको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने पनि स्पष्ट पारेका छन् । अहिलेका राजनीतिक परिवर्तनप्रति उनको निष्ठालाई लिएर गम्भीर प्रश्न उठिरहेका वेला प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममार्फत गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता मुद्दाप्रतिको प्रतिबद्धता दोहोर्‍याएका छन् ।

‘यो सभा केका लागि भनेर हिजोसम्म विभिन्न प्रकारका भ्रम फिँजाइएका छन् । आज पनि लैनचौरको बाटोमा हिँड्नेहरूले भन्दै थिए– राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले ! जसले जीवनको आधा समय गणतन्त्रका लागि, सामाजिक न्याय र समानताका लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे !,’ नारायणहिटी संग्रहालयअगाडि आयोजित सभामा ओलीले भने, ‘हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कसैले तलमाथि गर्छु भन्ने नसोचे पनि हुन्छ । हामीले लडेर, बलिदान गरेर ल्याएका छौँ । यसको कार्यान्वयन गरेर अगाडि जान्छौँ ।’ संसद् विघटनपछि गणतन्त्रप्रति ओलीको इमानदारीलाई लिएर नेकपाकै प्रचण्ड–नेपाल समूहले बारम्बार प्रश्न उठाएको छ ।

निर्वाचनमा जाँदा देश र लोकतन्त्र नै संकटमा पर्ने गलत तर्क गरिएको भन्दै ओलीले जनताको चेतनास्तर धेरै माथि पुगिसकेकाले कसैले पनि लोकतन्त्र मास्न नसक्ने ठोकुवा गरे । ‘निर्वाचनमा अभिमत प्रकट गर्दा, जनताले सरकार छान्दा, जनताको फैसलाअनुसार देश अगाडि बढ्दा देश संकटमा पर्छ ? केही मान्छेले कुनामा बसेर षड्यन्त्र गरेर अरूका लागि काम गर्दा देश संकटमा पर्ने हो । जनताको चेतनास्तर यति माथि उठेको छ, अब कसैले चाहेर पनि लोकतन्त्र मासिन सक्दैन, कसैले लोकतन्त्रलाई केही गर्छु भन्ने नचिताए हुन्छ, लोकतन्त्रतर्फ कर्केआँखा नलाए हुन्छ, कसैले प्रतिगमन नसोचे पनि हुन्छ, यो देश अघि बढ्यो–बढ्यो,’ ओलीले भने ।

नेकपा ओली पक्षले आयोजना गरेको बृहत् प्रदर्शनपछि आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले आफूविरुद्ध विभिन्न भ्रम फिँजाइए पनि लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले उल्ट्याउन नसक्ने प्रस्ट्याए । प्रधानमन्त्री ओलीले संसद् विघटनको औचित्य पुष्टि गर्ने कोसिस गर्दै प्रचण्ड–नेपाल समूहले लगाउँदै आएको आरोपको खण्डन गरे ।

सरकार चलाउन नदिने, संसद्लाई पनि बन्धक बनाएर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेका कारण आफूले ताजा जनादेश लिन चुनावको बाटो लिएको प्रधानमन्त्री ओलीले जनसभालाई प्रस्टीकरण दिने प्रयास गरे । उनले देश अब चुनावतिर गइसकेकाले अस्थिरता रोज्ने कि, चुनाव ? सही र गलत छुट्याएर फैसला गर्ने जिम्मेवारी जनताको काँधमा आएको बताए ।

‘जब उहाँहरूले सरकार चलाउन दिनुभएन, काम गर्न दिनुभएन, लोकतन्त्रलाई, संसद्लाई ठीक ढंगले चल्न दिनुभएन, संसद्लाई केही काम गर्न नसक्ने पंगु अवस्थामा पुर्‍याउनुभयो र फेरि पहिलेकै जस्तो किनबेच, समीकरणको राजनीति भएको बहुमतको सरकार ढालेर जोडजामको, अस्थिरतापट्टिको राजनीति गर्नुभयो । त्यसकारण काम गर्नै नसक्ने अवस्था बनेपछि नेपाली जनताको बीचमा ताजा जनादेशका लागि जानुपर्‍यो,’ ओलीले प्रश्न गर्दै भने, ‘काम गर्न खोज्ने कि काम गर्नै नदिने ठीक ? कसलाई साथ दिने ? फैसला दिनुस् भनेर जनतामा जानुप¥यो । म यहाँहरूलाई प्रश्न गर्छु–अस्थिरतातर्फ जाने कि चुनावतर्फ ? म भन्न चाहन्छु– अस्थिरतातर्फ होइन, चुनावतर्फ जाऊँ ।’

नेकपा अर्को समूहका अध्यक्ष प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै ओलीले निर्वाचन आयोग र अदालतलाई धम्कीको भाषा बोले पनि उनीहरूको विवेकशील तथा निष्पक्ष निर्णयबाट देश चुनावतर्फ जाने कुराकै फैसला आउने विश्वास पनि व्यक्त गरे । ‘उहाँहरू धम्कीको भाषा बोल्नुहुन्छ । हामी धम्की दिँदैनौँ, विनम्रताका साथ अनुरोध गर्छौँ । उहाँहरूले अदालतलाई, निर्वाचन आयोगलाई धम्की दिनुभयो, त्यसकारण म आग्रह गर्न चाहन्छु– हाम्रा देशका निकायहरू स्वतन्त्र छन्, विवेकशील छन्, निष्पक्ष ढंगले निर्णय गर्नेछन्,’ उनले भने, ‘अब देश चुनावतर्फ गयो–गयो । अब चुनावले फैसला गर्छ, कसको सरकार बन्नुपर्छ । त्यसकारण म भन्न चाहन्छु, अब देश चुनावतर्फ गयो–गयो, चुनावले सबै कुराको फैसला गर्नेछ ।’

अघिल्लोपटक नाकाबन्दीको सामना गरेर चीन जोड्ने नाका खोल्दा आफूलाई प्रधानमन्त्रीबाट हटाइएको दाबी गर्दै ओलीले यसपटक पनि नक्सा प्रकाशन गर्नेबित्तिकै पदबाट हटाउने खेल सुरु भएको बताए । तर, पार्टीबाट दुई–चारजना मान्छे बाहिरिनेबित्तिकै भने सरकारले धमाधम काम गर्न थाले पनि फेरि जनताको काम हुनै नदिने षड्यन्त्र भइरहेको दाबी गरे ।

‘तपाईंहरूले थाहा पाउनुभयो ? तीन वर्षसम्म आयोगहरू बनेनन् । अहिले दुई–चारजना मान्छे पार्टी छोडेर गएपछि आयोगहरू बने । चुनाव भएको तीन वर्षपछि आयोग बने, जब दुई–चारजना मान्छे पार्टीबाट बाहिर गए । तर, आयोग बनेकोमा कत्रो पिर, आयोग बनेको भोलिपल्ट नेपाल बन्द,’ ओलीले भने, ‘जनताको काम गर्नै नहुने, दलितको काम गर्नै नहुने, दलितका समस्या, मधेसी समुदायको समस्या उठाउनै नहुने । मधेसका नाममा, दलितका नाममा राजनीति गर्ने । पिछडिएका नाममा राजनीति गर्ने, तर त्यसका निम्ति काम गर्ने आयोग बन्न नदिने कस्तो षड्यन्त्र ? त्यस्ता षड्यन्त्र चिरेर आयोग बनायौँ ।’

सक्कली–नक्कली मूल पार्टी टुंगो लाग्यो

नारायणहिटी सडकखण्डअघि मात्र होइन, दायाँ–बायाँ जनसागर देखेर उत्साहित बनेका ओलीले सम्बोधनको सुरुमै सक्कली–नक्कली नेकपाको विवाद जनताको उपस्थितिले नै टुंगो लागेको बताए ।

‘हामीलाई काठमाडौंको जुनसुकै ठाउँ पनि सानो हुन्छ, तर पनि केही मान्छे अझै सोधिराखेका छन्– मूल पार्टी कुन हो, अझै पनि अलमलिरा’छन् भने कठैबरा भन्न सकिन्छ, मूल पार्टी यही हो, जहाँ तपाईं–हामी छौँ,’ ओलीले थपे, ‘यो कम्युनिस्ट पार्टीको मात्र होइन, देशकै मूल पार्टी हो, देश चलाउने, देशको रक्षा गर्ने, देश बनाउने अभिभारा बोकेको पार्टी हो, मलाई लाग्छ आज सक्कली–नक्कली कुन मूल पार्टी हो टुंगो लागिसक्यो ।’ ओलीले बृहत् आमसभामा अवरोध गर्न प्रचण्ड–नेपाल समूहले तथाकथित नेपाल बन्द गरेर क्रान्तिकारिता देखाएको आरोप पनि लगाए ।

प्रचण्ड–नेपाल समूहले दुई–चार हजार मान्छे जम्मा गरेर ललकार्दै मूल पार्टी दाबी गरेकाले काठमाडौंमा आमसभाको ‘कास्टिङ’ देखाइएको बताउँदै ओलीले साँच्चैको आमसभा देखाउँदा काठमाडौंको सबै सडकमा स्क्रिन र साउन्ड सिस्टमको व्यवस्था गर्नुपर्ने दिन आउन सक्ने उल्लेख गरे । ‘मैले अस्ति भनेको थिएँ, २३ गतेको सभा एउटा कास्टिङको रूपमा हुनेछ, यो कास्टिङको रूपमा हो । हामीले आमसभा गर्नुपर्छ भने काठमाडौंका सबै सडकमा स्क्रिन र साउन्ड सिस्टम राखेर काठमाडौंभरिको आमसभा गर्नुपर्ने अवस्था आउन सक्छ, अर्को कास्टिङ हामी १ गते बुटवलमा र ८ गते विराटनगरमा देखाउँदै छौँ, आलोचक मित्रहरूलाई म मन थामेर बस्न आग्रह गर्न चाहन्छु,’ ओलीले भने, ‘मन थामेर बस्नुस्, हेर्दै जानुस्, नेपाल कता जान्छ । नेपाललाई समाजवादउन्मुख हुनबाट, सामाजिक न्यायसहितको समृद्धिको देश बनाउनबाट कसैले पनि रोक्न सक्दैन ।’

नेकपाको प्रचण्ड–नेपाल समूहले सभा गरेको दुई सातामै ओली पक्षले आयोजना गरेको प्रदर्शन र सभामा हजारौँ नेता–कार्यकर्ता सहभागी भएका थिए । यसअघि प्रचण्ड–नेपाल समूहले काठमाडौंकै प्रदर्शनीमार्गमा ९ माघमा बृहत् सभा गरेको थियो । काठमाडौंको १६ स्थानबाट दुई घन्टासम्म लगातार निस्किएको जुलुसपछि दरबारमार्ग नारायणहिटी परिसरअगाडि आयोजित बृहत् आमसभामा जनलहरकै रूपमा उल्लेख्य सहभागिता देखेर उत्साहित प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आफ्नो पार्टीले काठमाडौंमा अहिलेसम्मकै बृहत् सभा आयोजना गरेको दाबी गरे ।

बागमती प्रदेश संगठन कमिटीले आयोजना गरेको सभामा देशका अन्य जिल्लाबाट समेत ओली पक्षका नेता–कार्यकर्ता काठमाडौं ओइरिएका थिए । दक्षिणतिर नारायणहिटी गेटदेखि रत्नापार्कको घन्टाघर परिसरसम्म, पश्चिमतिर केशरमहल चोक तथा पूर्वतिर जयनेपाल हलसम्मको सडक प्रदर्शनका सहभागीले ढाकेको थियो । प्रदर्शनमा विभिन्न जातिका सांस्कृतिक झाँकीका साथै थुप्रै अपांगता भएका व्यक्तिसमेत सहभागी थिए ।

ओली पक्षका स्वयंसेवकले प्रदर्शन र आमसभाको व्यवस्थापन गरेका थिए । केन्द्रीय सदस्यद्वय महेश बस्नेत र विनोद श्रेष्ठको नेतृत्वमा ७५ वटा कमान्डमा बाँडिएका करिब तीन हजार स्वयंसेवकले व्यवस्थापनको काम गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले बताए । ७५ वटै कमान्डका टोलीनेताहरू आमसभास्थल र प्रदर्शनमा सञ्चार सेटसहित कार्यक्रम अवधिभर स्वयंसेवक परिचालनमा सक्रिय भएका थिए ।

प्रचण्ड–नेपाल समूहको आन्दोलनमाथि बल प्रयोग हुन सक्ने संकेत

प्रधानमन्त्री र गृहमन्त्रीले प्रचण्ड–नेपाल समूहको आन्दोलनमाथि बल प्रयोग हुन सक्ने संकेत गरेका छन् । शुक्रबार काठमाडौंमा ओली समूहले गरेको सभामा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड–नेपालको आन्दोलनप्रति कठोर अभिव्यक्ति दिए ।

ओलीले प्रचण्ड–नेपाल समूहले आन्दोलनलाई हिंसात्मक रूप दिने कोसिस गरेको आरोप लगाउँदै नेपालमा कसैले पनि हिंसा मच्चाउन नसक्ने बताए । ‘अब साकाहारी आन्दोलनले हुँदैन भनेको के हो ? के उहाँले चिकेनचिल्ली खान्छु भनेको हो ? त्यो भनेको नरभक्षी आन्दोलन हो, तर नेपालमा नरभक्षी आन्दोलनको दिन गए, कसैले हिंसा मच्चाउन सक्दैन,’ ओलीले भने, ‘नेपाल सधैँ शान्तिपूर्ण रहन्छ, नरभक्षी आन्दोलन चलाउने कसैले नसोचे हुन्छ ।’

जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले हिंसात्मक आन्दोलनप्रति सरकार कठोर ढंगले प्रस्तुत हुने संकेत गरे । ‘प्रतिगामी अवसरवादी तत्वहरूले सबै प्रकारका षड्यन्त्र र भ्रमको सहारा लिँदै गएका छन् । यदि राजनीतिक नेतृत्वले आत्मसमर्पण गर्दैन भने मांसाहारी आन्दोलन गरेर विस्थापित गरिनेछ भन्ने घोषणा गर्दै हिँडेका छन्,’ बादलले भने, ‘ती मांंसाहारी आन्दोलन गर्नेलाई हाम्रो संविधान र कानुनले अपराध घोषणा गरेको छ । त्यस्तो आन्दोलन गर्नेलाई जावलाखेलको ‘जु’मा लगेर बन्द गरिनेछ ।’

नेपाल बन्द गरेर जनतालाई तर्साउन खोजिएको भन्दै ओलीले प्रचण्ड–नेपाल समूहले तोडफोड गरेर आमहडतालमा गरिबलाई नोक्सान पुर्‍याए पनि सरकारले क्षतिपूर्ति दिने घोषणा गरे । ‘गरिबको नोक्सानीमा सरकारले क्षतिपूर्ति व्यहोर्छ, ट्याक्सीको क्षति इन्सुरेन्सले तिर्छ, भएन भने गरिबलाई हेर्ने, माया गर्ने, शान्तिका लागि लड्ने सरकार छ, त्यसकारण ढुक्क हुनुस्,’ ओलीले भने, ‘नेपाल बन्द गरेर तर्साउने, तोडफोड गर्ने, आफूले गरेको कामको जिम्मा नलिने अनि ठूला क्रान्तिकारी कुरा गर्ने ?’

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–नेपाल समूहले आमहडतालका नाममा श्रमजीवी जनतालाई दुःख–पीडा दिएको भन्दै निन्दा र भत्र्सना गरे । साथै, उनले आन्दोलनका नाममा तोडफोडमा उत्रिएर अराजकता सिर्जना गर्ने नाममा भएको ट्याक्सी तोडफोडको सरकारले क्षतिपूर्ति दिने पनि बताए ।

उनले अहिलेको लडाइँ देशलाई अस्थिरतातर्फ लैजाने कि स्थिरता र समृद्धितर्फ लैजानेबीचको लडाइँ भएकाले आफ्नो समूहले नै चुनावबाट सफलता पाउने दाबी गरे । उनले निर्वाचन आयोगले ओलीले नेतृत्व गरेको नेकपालाई नै आधिकारिक पार्टी र सूर्य चिह्न दिने निश्चित भएकाले कुनै भ्रम नपाल्न पनि कार्यकर्तालाई आग्रह गरे ।

गृहमन्त्री थापाले निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई अपदस्थ गर्ने षड्यन्त्र गर्दा अहिलेको असाधारण परिस्थिति आएको बताए । उनले मुलुकमा अस्थिरता मच्चाउन खोजिएका कारण संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी नेतृत्व र संविधानको रक्षाका लागि सरकारले बाध्य भएर प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेको बताए । निर्वाचनलाई आन्दोलनकै रूपमा अगाडि बढाएर मात्र व्यवस्था र नेतृत्वको रक्षा गर्न सकिने उनको भनाइ थियो । ‘जनतालाई फेरि आन्दोलित गरेर मात्रै राजनीतिक नेतृत्वको रक्षा गर्न सकिन्छ । संविधानको रक्षा गर्न सकिन्छ, लाखौँ–करोडौँ जनता परिचालन गरेर मात्र व्यवस्था, नेतृत्व र राजनीतिक उपलब्धिको रक्षा गर्न सकिन्छ । त्यसका लागि आमनिर्वाचनको माध्यमबाट आन्दोलन अगाडि बढाएका छौँ,’ उनले भने ।