१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ माघ २२ बिहीबार ०७:१९:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

निजी आवास पुनर्निर्माण सुस्त भूकम्प गएको पाँच वर्षमा ६८ प्रतिशत पुनर्निर्माण

Read Time : > 2 मिनेट
२०७७ माघ २२ बिहीबार ०७:१९:००

भूकम्पले क्षति पुर्‍याएको पाँच वर्ष पुगे पनि बाग्लुङमा भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणले गति लिन सकेको छैन । सेवाग्राहीले समयमा काम नगर्दा पुनर्निर्माणले गति लिन नसकेको हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत यहाँ ६८ प्रतिशत निजी आवास मात्र पुनर्निर्माण भएका छन् । दुई हजार चार सय ८४ निजी आवास निर्माण गर्नुपर्ने प्राधिकरणले अझै पाँच सय घर निर्माण गर्न बाँकी छ । जिल्लामा पुनर्निर्माणतर्फ दुई हजार चार सय ८२ र प्रबलीकरणतर्फ एक सय ७१ गरी कुल दुई हजार ६ सय ५३ लाभग्राही छन् । जसमा एक हजार पाँच सय ७० निजी आवास पुनर्निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार पहिचान भएका लाभग्राहीमध्ये पुनर्निर्माणका लागि दुई हजार तीन सय १९ र एक सय ३३ जना लाभग्राहीले सम्झौता गरेका थिए । यसले समग्र जिल्लामा पुनर्निर्माणको प्रगति ६८ प्रतिशत भएको जिल्ला आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख रेणुकाकुमारी पाण्डेले जानकारी दिइन् । जिल्लामा दुई सय ४४ घर निर्माणाधीन भएको, ५७ वटा घरले किस्ता नलगेको र दुई सय एक घर लाभग्राहीबाट स्वतः बाहिर परिसकेको पाण्डेले बताइन् ।

बाग्लुङ नगरपालिकामा सबैभन्दा कम
बाग्लुङ नगरपालिकामा सबैभन्दा थोरै ५९ प्रतिशत लाभग्राहीले घर बनाएका छन् भने अन्यमा क्रमशः बढी घर बनेको बताइएको छ । जसअनुसार जैमिनी नगरपालिकामा ७८ प्रतिशत, गलकोटमा ६५ प्रतिशत र ढोरपाटन नगरपालिकमा ६१ प्रतिशतले घर बनाएका हुन् ।

गाउँपालिकातर्फ काठेखोलामा ७४ प्रतिशत, बरेङमा ६२ प्रतिशत, निसीखोलामा ६७ प्रतिशत, तमानखोलामा ८४ प्रतिशत, बडिगाड गाउँपालिकामा ५९ प्रतिशत र ताराखोला गाउँपालिकामा ७१ प्रतिशत लाभग्राहीले घर बनाएको बताइएको छ । अहिलेसम्म एक घरले मात्रै बनाउन नसक्ने भनेर पहिलो किस्ता लगे पनि फिर्ता गरेको छ ।

प्राधिकरणले पाँच वर्षको अवधिमा दुईवटा पक्की पुल निर्माण गरिरहेको, झन्डै १० किमि सडक निर्माण गरेको र झन्डै दुई सय विद्यालय निर्माण गरिसक्न लागेकोसमेत पाण्डेले बताइन् । यो अवधिमा दुईवटा स्वास्थ्यचौकीसमेत निर्माण गरेको हो । प्राधिकरणमार्फत विद्यालय हेर्ने शिक्षा, भवन हेर्ने र समग्रता हेर्ने गरी तीन प्रकारका कार्यालय भएकाले काम गर्ने तल्लो तहका प्राविधिक र लाभग्राहीले भने समयमा काम लिन कठिन भएको कतिपयले गुनासो गरेका थिए ।

‘सम्झौता गरेको सबै लाभग्राहीले पहिलो किस्ताबापतको रकम लगे पनि दोस्रो किस्ताको रकम लैजाने लाभग्राहीको संख्या एक हजार आठ सय १४ रहेका छन् । निमित्त कार्यालय प्रमुख पाण्डेले भनिन्, ‘घर निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ताबापतको रकम बैंकमा दाखिला गरे पनि ४३ जना लाभग्राहीले  बैंकबाट रकम झिकेका छैनन् ।’

पुनर्निर्माणका लागि सम्झौताको प्रगति ९४ प्रतिशत, प्रथम किस्ता शतप्रतिशत, दोस्रो किस्ताको प्रगति ७४ प्रतिशत हुँदा समग्र पुनर्निर्माणको प्रगति ६८ प्रतिशत पुगेको पाण्डेले बताइन् । कार्यालयका अनुसार लाभग्राहीले समयमा काम नसक्दा लक्ष्यअनुरूप काम हुन सकेको छैन । 

प्राधिकरण निर्देशक समितिको निर्णयअनुसार आगामी ०७८ असार मसान्तसम्म पुनर्निर्माणका सबै काम सम्पन्न गर्नुपर्नेछ । नयाँ लाभग्राहीले घर निर्माणका लागि अब सम्झौता गर्न पाउनेछैनन् । सम्झौता गर्ने समय गएको मंसिर मसान्तमा सकिएको छ । सम्झौता गरेका लाभग्राहीले पहिलो किस्ताबापतको रकम पुस १५ गतेसम्म लिनुपर्ने समयसीमा तोकिएको थियो । 

तेस्रो अर्थात् घर सम्पन्न गरेर लिने अन्तिम किस्ता सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिने समयसीमा आगामी वैशाख मसान्तको समय निर्धारण गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव गोपालप्रसाद अर्यालले जानकारी दिए । प्रबलीकरणबाट पुनर्निर्माणमा जानका लागि जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनमा आवश्यक कागजात पेस गर्ने समय माघ समान्तको सीमा तोकिएको छ । 

‘जिल्लामा निजी आवास पुनर्निर्माणको अवस्था सन्तोषजनक छैन,’ आयोजना निमित्त प्रमुख पाण्डेले भनिन्, ‘प्राविधिक जनशक्ति पालिकाअनुसार पदपूर्ति नहुनु, प्राविधिक आउनुपहिले बनेका घरको दोस्रोे किस्ता भुक्तानी भए पनि तेस्रो किस्ता सिफारिस हुन नसक्ने मुख्य समस्या हुन् ।’ यहाँ प्राविधिक पुग्नुअघि चार सय २९ घर निर्माण भइसकेका थिए । 

जिल्लामा दश स्थानीय तह छन् । सबै स्थानीय तहमा प्राविधिक जनशक्ति आवश्यकता नहुँदा पुनर्निर्माणको कार्य प्रभावकारी, छिटोछरितो हुन नसकेको ताराखोला गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनको भनाइ छ । ‘हाम्रो पालिकामा प्राविधिक नै छैनन् कसरी छिटो काम हुन्छ ?’ पुनले भनिन्, ‘तत्काल जनशक्ति व्यवस्थापन गर्न सके बाँकी अवधिमा घर निर्माण गर्न सक्छौँ ।’ ताराखोला गाउँपालिकामा चार सय चार लाभग्राही छन् । ७७ जनाले सम्झौता गरे पनि हालसम्म ५५ जनाले मात्र घर निर्माण गरी अन्तिम किस्ताको रकम लिएका छन् । 

प्राविधिक जनशक्ति नभएकै कारण पुनर्निर्माणको कामले गति नलिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालको भनाइ छ । जैमिनीमा सहायक इन्जिनियरले काम गर्दै आएको उनले बताए । स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापनका लागि आवश्यक पहल गर्नुपर्ने सहसचिव अर्यालले बताए । अर्यालका अनुसार पुनर्निर्माणको काम सम्पन्न गर्नका लागि जिल्लामा रहेका प्राविधिक जनशक्ति समायोजन गरेर नभएको स्थानमा लगे मात्र तोकिएको समयमा सकिने छ । जिल्लामा कोही स्थानमा समयमा काम सम्पन्न गरेर लाभग्राहीले भुक्तानी पाएका छैनन् भने कोही स्थानमा प्राविधिक नभएका कारण आवास पुनर्निर्माणको काम अगाडि बढाउन पाएका छैनन् ।