१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २१ बुधबार १८:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनका लागि आयोगले माग्यो सात अर्ब आठ करोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २१ बुधबार १८:२२:००

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सात अर्ब सात करोड ९४ लाख ८० हजार रुपैयाँ निकासाको माग गरेको छ । आयोगले बुधबार अर्थ मन्त्रालयलाई पत्राचार गर्दै आयोगको आर्थिक कार्यविधिअनुसार निर्वाचनको तयारी, सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने रकम निकासाका लागि माग गरेको हो । 

निर्वाचन आयोग ऐन, ०७३ को दफा २७ र २८ अनुसार निर्वाचनको तयारी, सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने रकम सात अर्ब सात करोड ९४ लाख ८० हजार रुपैयाँ निकासा गरिदिन मन्त्रालयलाई पत्राचार गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

कोभिड– १९ को कारण सोसँग सम्बन्धित सुरक्षा सतर्कता र न्यूनतम सुरक्षा व्यवस्थाका लागि मात्रै आयोगले ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ खर्चको प्रस्ताव गरेको छ । 

आयोगले विगतका निर्वाचनमा भएका खर्चभन्दा मितव्ययी हुने गरी कोभिड– १९ को महामारीसमेतलाई ध्यानमा राख्दै खर्चको योजना बनाएको जनाएको छ । ‘महामारीमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कतासमेतलाई ध्यान दिई निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने । 

आयोगले विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको जनाएको छ । 

‘नयाँ सामग्री, उपकरण र सवारीसाधन खरिद गर्ने गरी बजेटमा कार्यक्रम राखिएको छैन, निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, एक सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरेका छौँ,’ प्रवक्ता श्रेष्ठले भने । 

निर्वाचनसँग सम्बन्धित तालिमहरू अनलाइनको माध्यमबाट समेत गरेकाले खर्च थप मितव्ययी भएको आयोगको दाबी छ । आयोगले १७ र २७ वैशाखका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आर्थिक कार्यविधि, ०७७ बनाएको छ । निर्वाचनको तयारी र आर्थिक कार्यविधिका विषयमा आयोगले मंगलबार मात्रै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको थियो । 

निर्वाचनमा अन्तर्राष्ट्रिय संस्थाहरूको पर्यवेक्षणबारे छलफल
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्वाचनमा अन्य राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट आउने पर्यवेक्षकहरूसँग सम्पर्कका लागि मन्त्रालयले कर्मचारीको व्यवस्था गर्ने बताएका छन् । वैशाखका लागि घोषणा गरेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन आयोगले बुधबार परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल गरेको छ । 

सो क्रममा मन्त्री ज्ञवालीले निर्वाचन पर्यवेक्षणमा आउने सार्क राष्ट्रसहित अन्य राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाका पर्यवेक्षकहरूसँग सम्पर्क अधिकृतको रूपमा खटिने परराष्ट्र सेवाका कर्मचारी परराष्ट्र मन्त्रालयले छिट्टै व्यवस्था गर्ने र मन्त्रालयले आवश्यक पर्ने सबै सहयोग गर्ने बताएका हुन् । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगबाट भइरहेका व्यवस्थापकीय कार्यहरूबारे मन्त्री ज्ञवालीलाई जानकारी गराएका थिए ।

छलफलका क्रममा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको अनुगमन तथा पर्यवेक्षण गर्न आयोगबाट तर्जुमा गरिने कार्यविधिका सैद्धान्तिक एवं व्यावहारिक पक्षमा समेत छलफल भएको थियो । 

निर्वाचन आयोग ऐन, २०७३ को दफा ६ मा कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनसँग सम्बन्धित कामकारबाहीको पर्यवेक्षण गर्नका लागि आयोगले अनुमति दिन सक्ने व्यवस्था रहेको छ । 

आयोगले त्यही व्यवस्थाबमोजिम कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरूलाई अनुरोध गर्ने र ती नियोग तथा संस्थाबाट समग्र निर्वाचन कार्यसहित मतदानको दिनको समेत पर्यवेक्षण गराउन आवश्यक समन्वय गर्ने विषयमा मन्त्री ज्ञवालीसँग छलफल गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।