मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ चैत ३१ मंगलबार
  • Tuesday, 13 April, 2021
कुलेश्वरस्थित फलफूल बजारमा क्युआर कोडमार्फत भुक्तानी शुभारम्भ गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ।
विजयराज खनाल काठमाडौं
२०७७ माघ १७ शनिबार १०:२२:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

डिजिटल भुक्तानीमा क्रान्ति : तरकारी किन्न क्युआर कोड

Read Time : > 3 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७७ माघ १७ शनिबार १०:२२:००

कात्तिकमा ९३ करोड रुपैयाँ भुक्तानी क्युआर कोडबाट भएकोमा मंसिरमा बढेर १ अर्ब २५ करोडको कारोबार भएको छ 

कुलेश्वरस्थित फलफूल बजारमा अन्य दिनजस्तै शुक्रबार पनि मानिसहरूको भिडभाड बाक्लै छ । थोक विक्रेताहरू रहने यो बजारका स्टल–स्टलमा मानिसहरू नगद गन्दै फलफूल बेच्दै गरेको देख्न पाइन्छ । तर, केही दिनयता सानै स्तरमा भए पनि परिवर्तन देखिन थालेको छ । केही स्टलहरूमा क्युआर कोडको प्रयोग गरेर व्यापारीहरूले फलफूल बिक्री गर्न थालेका छन् ।

नयाँ प्रविधिको प्रयोगले खरिद–बिक्री गर्ने दुवै पक्षले सहज महसुस गरिरहेका छन् । ‘यो प्रविधि धेरै सजिलो रहेछ,’ स्टल नम्बर १२ का सञ्चालक सुदीप पाण्डेले भने, ‘हाम्रोबाटै दैनिक ५० जना खुद्रा व्यापारीले फलफूल खरिद गरेर लैजान्छन्, पैसा हराउने, हिसाब नमिल्ने समस्या अहिले क्युआर कोडको प्रयोगपछि घटेको छ ।’ उनको एउटा स्टलमा मात्रै दैनिक औसतमा १ लाखमाथिको कारोबार हुन्छ ।

क्युआर कोडको प्रयोगले दैनिक संकलन भएको रकम बैंकमा जम्मा गर्न लाने झन्झटबाट पनि राहत प्रदान गरेको छ । उनले भने, ‘समय पनि बचत भएको छ, क्युआर कोडको प्रयोगबाट कारोबार गर्दा खातामै हिसाब मिलान भइरहेको हुन्छ, रकम राख्न जाने झन्झट छैन ।’ फलफूल बजारका सबै दुई सय स्टलमै क्युआर कोडको प्रयोग गर्न सकिने वातावरण बनाइएको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताए । ‘नयाँ अभ्यास छ, समय त लाग्छ,’ बानियाँले भने, ‘तर, हाम्रो कारोबारलाई पनि बैंकिङ प्रणालीमा लैजाने रहेको छ ।’

फलफूल बजारको सबै कारोबार क्युआर कोडबाट गर्न सकिएमा दैनिक करिब ३ करोड रुपैयाँको कारोबार नगदरहित हुनेछ । फलफूल बजारको कारोबारलाई व्यवस्थित गर्न नबिल बैंक लागिपरेको छ । बुधबार गभर्नर महाप्रसाद अधिकारीले यो प्रणालीको शुभारम्भ गरेका छन् । ‘राष्ट्र बैंकले यसलाई अभियानकै रूपमा लैजाँदै छ,’ अधिकारीले भने, ‘मलाई अहिलेको कारोबार प्रणाली सुधार्नु छ, नगदले ल्याउने विकृति हटाउन पनि यसलाई अभियानकै रूप दिइएको हो ।’

कुलेश्वर बजारमा कारोबार गर्दै आइरहेका खुद्रा व्यापारीहरूले पनि क्युआर कोड अपनाउन थालेका छन् । साइकलमा फलफूल बिक्री गर्दै आएका व्यापारी प्रमोद शाह पनि नबिल बैंकले दिएको क्युआर कोड कार्डको माला भिरेर हिँड्न थालेका छन् । ‘यो माला भिरेदेखि पैसा लुटिन छाडेको छ,’ प्रमोदले खुसी मनाए, ‘कुनै–कुनै समय काठमाडौंमा भित्री गल्लीहरूमा हाम्रो पैसा लुटिने गरेको थियो, अब त्यस्तो डर हटेको छ ।’ फलफूल बजार विद्युतीय भुक्तानीका लागि एउटा सुपर स्प्रेडर (द्रुत विस्तारक) हुन सक्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । उनले भने, ‘यो बजार काठमाडौंमा गल्ली–गल्लीमा पुगेर कारोबार गर्ने खुद्रा विक्रेताहरू र थोक विक्रेताको संगमस्थल पनि हो ।’

क्युआर कोडको प्रयोगलाई देशव्यापी बनाउने अभियानमा अहिले विभिन्न बैंकहरू लागेका छन् । पछिल्लो एक महिनामा मात्रै उपत्यकाका चार फलफूल तथा तरकारी बजारमा यसको प्रयोग भइसकेको छ । सानिमा बैंकले नक्साल तरकारी बजारबाट सुरु गरेको अभियानमा जोडिँदै प्रभु बैंकले कालिमाटी बजारमा, नबिल बैंकले कुलेश्वर र एनएमबि बैंकले बल्खु तरकारी बजारमा विस्तार गरेका छन् । क्युआर कोड प्रयोगले व्यवसायीहरूको मात्रै चिन्ता हटाएको छैन, मुलुकको लागत पनि घटाउन सहयोग पुर्‍याएको छ । अहिले मुलुकमा तीन–तीन वर्षको अवधिमा कागजी मुद्रा छपाइ हुन्छ ।

एउटा कागजी नोट छाप्न १ रुपैयाँ ५० पैसादेखि १ रुपैयाँ ९२ पैसासम्म लाग्ने गरेको छ । नोट छाप्नै करोडौँ रुपैयाँ खर्च हुन्छ । विद्युतीय भुक्तानीको प्रयोग बढाउने हो भने यो खर्च जोगिन्छ । एटिएमबाटै रकम झिक्दा पनि अहिले ग्राहकहरूलाई खासै लागत पर्ने गरेको छैन । तर, बैंकहरूले एकपटक एटिएमबाट रकम झिकेपछि विदेशी भिसालगायतका कम्पनीलाई ६ देखि ७ रुपैयाँसम्म तिर्नुपरिरहेको छ । हाल ग्राहकहरूले मासिक रूपमा ६३ लाखपटक एटिएम प्रयोग गर्ने गरेका छन् । यसको अर्थ एटिएमकै लागि मासिक ४ करोड ४० लाख रुपैयाँ बिदेसिने गरेको छ । यो शुल्कको अप्रत्यक्ष भागीदार ग्राहकहरू पनि भएका हुन्छन् नै ।

‘एटिएम प्रयोग गर्दासमेत राज्यबाट प्रतिकारोबार ६ देखि ७ रुपैयाँ बाहिरिन्छ,’ गभर्नर अधिकारीले भने, ‘क्युआर कोड प्रयोग गर्दा न बैंकलाई शुल्क पर्छ, न त ग्राहकले नै यसका लागि थप लगानी गर्नुपर्छ ।’ 

क्युआर कोडको प्रयोगको फाइदा यति मात्रै छैन । व्यवसायीहरूको कारोबारको मासिक विवरण नै यसबाट तयार हुन्छ । साना र खुद्रा व्यवसायीहरूको कारोबार विवरण देखिने भएकाले बैंकहरूले कर्जा पत्याउने र क्रेडिट कार्ड जारी गर्न इच्छुक हुने अवस्थासमेत आउने गभर्नर अधिकारीले बताए । यति हुँदाहँुदै पनि यसलाई आमसमुदायस्तरमा पुर्‍याउन चुनौतीहरू भने छन् । 

‘मोबाइल प्रयोगमा अभ्यस्त नभएका पुराना पुस्ताहरूमा यसको प्रयोग बढाउन चुनौती देखिएको छ,’ सानिमा बैंकका रिलेसनसिप अफिसर सन्तोष मरासैनीले भने, ‘त्यसैले हामी नक्साल तरकारी बजारमा समय–समयमा पुगेर मानिसहरूलाई यो प्रविधि सिकाइरहेका हुन्छौँ ।’ 

करिब एक महिनाअघि नक्साल तरकारी बजारमा सानिमा बैंकले यो प्रणालीको प्रयोग सुरु गरेको थियो । अहिले दैनिक १०–१२ पटक मात्रै क्युआर कोडको प्रयोग यो बजारमा हुने गरेको छ । दैनिक औसत १५ हजार रुपैयाँको कारोबार यो बजारमा क्युआर कोडमार्फत भइरहेको छ । 

प्रणाली सुरक्षित रहेको, सहज रहेको विषयमा बैंकहरूले आश्वस्त पार्ने प्रयास गरिरहेका छन् । सर्वसाधारणहरूले पनि बुझ्दै गएको राष्ट्र बैंककै तथ्यांकले देखाइरहेको छ । 

राष्ट्र बैंकका अनुसार कात्तिकमा भुक्तानीका लागि २ लाख ४१ पटक क्युआर कोडको प्रयोग भएकोमा मंसिरमा बढेर ३ लाख ४३ हजार पुगेको हो । यो माध्यमबाट हुने भुक्तानी रकममा समेत करिब ३४ प्रतिशतले वृद्धि भएको छ । कात्तिकमा ९३ करोड रुपैयाँबराबरको भुक्तानी यसबाट भएकोमा मंसिरमा १ अर्ब २५ करोड रुपैयाँबराबरको भुक्तानी भएको हो । 

के हो क्युआर कोड ?

क्विक रेस्पोन्स कोडको छोटकरी रूप हो, क्युआर कोड । यसलाई डिजिटल बैंकिङमा अहिलेसम्मकै सबैभन्दा सजिलो माध्यमका रूपमा लिइन्छ । यो मुख्यतः दुई प्रकारको हुन्छ, डाइनामिक र स्टाटिक । मानौँ, कुनै व्यापारीले क्युआर कोडमार्फत भुक्तानी लिने गरेको छ भने खरिद गर्ने ग्राहकले क्युआर कोड स्क्यान गर्छ । कोड स्क्यान गरेपछि ग्राहकको मोबाइल स्क्रिनमा पसलेको नाम र बैंक खाता नम्बर देखिन्छ । पसलेलाई बैंकबाट स्टाटिक कोड बनाइदिएको छ भने ग्राहकले तिर्नुपर्ने रकम टाइप गरेर पिन नम्बर हालेपछि ग्राहकको खाताबाट पैसा जान्छ । 

यदि डाइनामिक कोड हो भने तिर्नुपर्ने रकमसमेत उल्लेख भएर आउँछ र ग्राहकले रुजु गरेर पठाउन सक्छ । बारकोड (अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिने हरेक सामानमा बारकोड प्रयोग भएको हुन्छ ।) उल्लेख भएका सामानको भुक्तानीका लागि मात्रै डाइनामिक कोड प्रयोग गर्न मिल्छ । क्युआर कोडबाट अहिले दिनको १ लाख रुपैयाँ र महिनाको १० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिन्छ ।