१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आर्मीलाई पराजित गर्दै एपिएफले बनायो चार अंकको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:४९:oo

विभागीय टोली एपिएफले महिला राष्ट्रिय लिग फुटबल अंक–तालिकाको शीर्ष स्थानमा स्पष्ट चार अंकको अग्रता बनाएको छ । मंगलबार भएको खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै एपिएफले आफ्नो अग्रता बढाएको हो । 

सातदोबाटोस्थित एन्फा एकेडेमीको मैदानमा अञ्जली योञ्जन र सरु लिम्बूको एक–एक गोलको मद्दतमा एपिएफले महत्वपूर्ण जित हात पारेको हो । योसँगै एपिएफले प्रतियोगितामा लगातार तीन खेलमा जित हात पारेको छ । एपिएफले अहिलेसम्म प्रतियोगितामा विपक्षीविरुद्ध १५ गोल गरेको छ भने कुनै पनि गोल व्यहोरेको छैन ।

एपिएफको दुवै गोल खेलको पहिलो हाफमै सम्भव भएको थियो । अञ्जलीले खेलको २७औँ मिनेटमा टोलीलाई अग्रता दिलाएकी थिइन् । सावित्रा भण्डारीले दिएको पासलाई डी बक्सभित्रबाट उत्कृष्ट प्रहार गर्दै उनले गोल गरेकी थिइन् । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा सावित्राकै पासको सदुपयोग गर्दै सरुले गोल गरिन् । त्यसपछि दोस्रो हाफको खेलमा भने दुवै टोलीबाट गोल हुन सकेन ।

खेलमा केही रक्षात्मक देखिएको आर्मीले एपिएफविरुद्ध खासै गतिलो आक्रमण गर्न सकेन । पराजयपछि आर्मीका प्रशिक्षक राजु तामाङले खेलाडीले गोल अवसर नै सिर्जना गर्न नसकेको प्रतिक्रिया दिए । ‘खेलको पहिलो हाफमै गोल व्यहोर्न पुगेपछि खेलाडी केही नर्भसजस्ता देखिए,’ उनले भने, ‘त्यहीकारण खेलाडीले गोल अवसर सिर्जना गर्न पनि सकेनन् । अब उपाधिको होडमा फर्कन हामीले आगामी खेलमा सुधार गर्नैपर्छ ।’ आर्मीले प्रतियोगितामा अझै नौ खेल खेल्नेछ ।

एपिएफका प्रशिक्षक भगवती थापाले आर्मीविरुद्धको जितले खेलाडीको आत्मविश्वास थप बलियो बनेको बताइन् । ‘हामीसँग अझै धेरै खेल बाँकी छन् । प्रत्येक खेलमा खेलाडीहरूले सुधारिएको प्रदर्शन गरिरहेका छन्,’ उनले भनिन्, ‘खेलाडीको प्रदर्शनमा आएको सुधारमा खुसी छु ।’
 

ad
ad