मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १८ मंगलबार
  • Tuesday, 02 March, 2021
मलेसियाबाट ल्याइएका शव बुझेर घर लग्दै आफन्तजन । शनिबार मलेसियाबाट १८ वटा शव ल्याइएको छ । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
मुना कुँवर काठमाडौ
२०७७ माघ ११ आइतबार ०७:२९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मलेसियामा मृत्यु भएका १८ जनाको शव एकसाथ काठमाडौंमा

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडौ
२०७७ माघ ११ आइतबार ०७:२९:००

कतै शव, कतै अस्तुको पर्खाइ, शव बुझ्न आएका आफन्तको रुवाइले शोकमा डुब्यो विमानस्थल   

कोरोना भाइरसको महामारीले अन्तर्राष्ट्रिय उडान नरोकिएको भए बाराको निजगढका ३८ वर्षीय वीरबहादुर तामाङ यतिवेला परिवारसँगै घरमै हुन्थे । तर, दुर्भाग्य, उनी त छैनन् नै, परिवारजनले घरमा फोटो राखेर फूलमाला चढाउँदै उनको सम्झनामा दियो जलाइरहेका छन् । आफन्तजन वीरबहादुरको सिंगो शरीरको होइन, अस्तुको पर्खाइमा छन् । 

शनिबार नेपाल एयरलाइन्सको वाइडबडीले मलेसियाबाट ल्याएको उनको अस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छ । उनको परिवार अस्तु लिन निजगढबाट काठमाडौं आउँदै छ । ‘हाम्रो संस्कृतिअनुसार आज १३ दिने काम सक्यौँ, दाजुको अस्तु लिन भोलि काठमाडौं आउँदै छु,’ उनका भाइ सुरेन्द्र तामाङले शनिबार टेलिफोनमा नयाँ पत्रिकासँग भने । 

शनिबार उनका परिवारले १३ दिने काजक्रिया सकेको छ । तर, उनीहरूलाई अझै पत्यार लागेको छैन । लागोस् पनि कसरी ? मृत्यु भएको भनिएको दिन पनि वीरबहादुरले घरमा फोन गरेर राम्रैसँग कुराकानी गरेका थिए । परिवारजनका अनुसार, १२ पुसमा वीरबहादुरको बिदा थियो । त्यसैले उनले घरमा श्रीमती र छोराछोरीसँग फोनमा कुराकानी गरेका थिए । त्यसपछि उनी खाना खाएर आराम गर्न थाले । उनका साथीहरू गेम खेल्न भनेर अरू साथीको कोठामा गए । साथीहरू फर्केर कोठामा आउँदा वीरबहादुर बिस्तरामा स्वासविहीन लम्पसार थिए । मृत अवस्थामा भेटिएपछि साथीहरूले नै आफूहरूलाई खबर गरेको भाइ सुरेन्द्रले बताए । 

स्वास्थ्य अवस्था राम्रै भएका वीरबहादुरको मृत्युको कारण अस्पतालले कोरोना पोजेटिभ भनिदियो । भाइ सुरेन्द्रका अनुसार त्यसपछि शव भए पनि नेपाल ल्याउन हरदम कोसिस भयो । तर, कोरोना भएकाले नेपाली दूतावासले नेपाल फर्काउन नमिल्ने बतायो । बरु उतै दाहसंस्कारका लागि स्वीकृति दिन दबाब दियो । ‘दूतावासले मिल्दैमिल्दैन भन्यो । हामी नेपालमा बसेर केही गर्न सकेनौँ,’ सुरेन्द्रले पीडा सुनाए । 

घर आउन लकडाउनले रोक्यो, कोरोनाले प्राणवीरबहादुर नौ वर्षदेखि वैदेशिक रोजगारीमा मलेसियामा थिए । तीन वर्षमा घर आउँथे, केही महिना बस्थे र फेरि उतै फर्किन्थे । पेन्टरको भिसामा मलेसिया पुगेका उनी ६ महिनाअघि घर आउने तयारीमा थिए । तर, कोरोनाका कारण आउन पाएका थिएनन् । कोरोनाको महामारी बढेसँगै उनी काम गरिरहेको देश मलेसियाले पनि उडानहरू रोकेको थियो । नेपालले पनि विमानस्थल बन्द गरेको थियो । त्यसैले उनी घर फर्कन पाएनन् । उतै बस्ताबस्तै कुन वेला कोभिडको संक्रमण भयो, पत्तै भएन । 

अस्पतालले कोरोनाकै कारण ज्यान गएको भनेपछि मात्र वीरबहादुरलाई कोभिड भएको खुलेको थियो । त्यसैले उतै अन्त्येष्टि भयो । मलेसियामा अन्त्येष्टि गरिएको मितिका आधारमा उनको परिवारले यता निजगढमा १३ दिने काजक्रिया गरे । 

परिवारले काजक्रिया सकेकै दिनकोे अस्तु नेपाल पुगेको छ । उनका भाइ सुरेन्द्रले भने, ‘आजै आउथेँ, तर हाम्रो संस्कृतिअनुसार आज (शनिबार) १३ दिनको लामा पढायौँ । अब दाजुको अस्तु लिन भोलि काठमाडौं आउँछु ।’ 

वैदेशिक रोजगारका क्रममा मलेसियामा मृत्यु भएका, तर कोभिड १९ को महामारीले समयमै नेपाल ल्याउन नसकिएका १८ शव र एक श्रमिकको अस्तु नेपाल ल्याइएको छ 

नेपालगन्जका लोहनिया परिवारको उस्तै हाल

वीरबहादुरको अस्तुसँगै शनिबार १८ वटा शव पनि ल्याइएको छ । त्यसैमा एउटा शव बाँकेको नेपालगन्जका ४० वर्षीय तीर्थराम लोहनियाको पनि छ । आठ वर्षदेखि मलेसियामा रहेका उनी फूलबारीमा काम गर्थे । दुई–तीन वर्षमा घर आउने उनी यसपटक भने आउन पाएका थिएनन् । उनी आउने आसमा रहेको परिवारले दुई महिनाअघि उनको मृत्यु भएको खबर पायो । ‘मृत्युको खबर सुनेदेखि घरमा रुवाबासी रोकिएको छैन,’ उनका भाइ विजयले भने । उनलाई कसैले मारेर फालेको उनका साथीहरू बताउँछन् । 

शनिबार दाजुको शव बुझेर घर फर्किँदै गरेका विजयले घरमा अझै पनि दाजु जिउँदै छ भन्ने आशा भएको सुनाए । उनले नयाँ पत्रिकासँग भने, ‘घरमा अझै पनि दाजु जिउँदै छन् भन्ने आस थियो । मैले फोन गरेर दाजुको शव बुझेँ भन्ने खबर दिएपछि भाउजू बेहोस हुनुभएको छ ।’

यति भन्दा उनको पनि गला अवरुद्ध भयो । तीर्थको टाउको पछाडि चोट भएको बताउँदै विजयले भने, ‘साथीहरूले भनेअनुसार कसैले दाजुको हत्या गरेकै देखिन्छ । तर, अर्कोका देशमा कहाँ न्याय खोज्न जाऊँ । साना लालाबाला छन् । ऋण पनि छ । कसरी उनीहरूलाई हुर्काउने हो । परिवारको बिजोग भयो ।’

यस्तो दुःखद कथा सिन्धुपाल्चोकका कालु तामाङको पनि छ । सात वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनी बिचल्लीमा परेका थिए । कारपेन्टरको भिसामा गएका उनलाई कम्पनीले राम्रो सेवा–सुविधा दिएन । कम्पनी छाडेर साथीहरूसँगै बस्दै आएका उनी गैरकानुनी रूपमा काम गर्दै आएका थिए । तर, कोरोना महामारीले त्यो काम पनि खोस्यो । उनका दाजु पासाङले पटक–पटक नेपाल फर्किन आग्रह गरेको बताए । ‘तर, पैसा नै नलिइकन नेपाल फर्कन मानेनन्, अहिले शव आयो,’ पासाङले पीडा सुनाए । 

९ पुसमा पासाङले भाइ कालुसँग टेलिफोनमा लामो कुराकानी गरेका थिए । उनलाई नेपाल ल्याउन पैसा पठाउने प्रयासमा थिए । त्यही दिन कालु साथीहरूको कोठा छाडेर होटेलमा गए । त्यही बेलुका गाउँमा फोन आयो, ‘कालु होटेलको भर्‍याङमा मृत अवस्थामा भेटिए ।’

होटेल मालिकले प्रहरीलाई फोन गरी अस्पताल त पुर्‍याएछ । पोस्टमार्टम गर्दा मिर्गौला खराब भएर मृत्यु भएको जानकारी दिएको पासाङले सुनाए । ‘मैले नजाऊँ भनेकै हो । कम्पनी राम्रो नभएपछि नेपाल आऊ पनि भनेँ । फर्काउन पैसा पनि जोहो गरेका थिए, तर आज भाइको शव मात्रै आयो,’ निराश हुँदै उनले भने । गैरकानुनी रूपमा मलेसियामा बसेकाले उनको शव झिकाउन पनि एक लाख लागेको पासाङले बताए । 

विमानस्थलमा शवको लस्कर

वैदेशिक रोजगारीमा ज्यान गुमाएका १८ जना नेपाली कामदारको शव शनिबार नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी ३३० ले मलेसियाबाट १८ शव र एकजनाको अस्तु ल्याएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार शनिबार बाँकेका तीर्थराम लोहनिया, पाँचथरका सुन्दर राई, सिन्धुपाल्चोकका कालु तामाड, झापाका लिलाबहादुर खड्का, सिन्धुपाल्चोकका अजय भण्डारी, पाँचथरका लक्ष्मीकुमार माँझी, झापाका विष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ र काभ्रेका अजय तामाङको शव ल्याइएको छ ।

त्यस्तै, नुवाकोटका मिलन लामा तामाङ, सर्लाहीका प्रदीप शाह, ताप्लेजुङका धनबहादुर विक, ताप्लेजुङकै नेत्रप्रसाद भट्टराई, रौतहटका वीरेन्द्र राउत कुर्मी, पर्साका ओजिर खान पठान, मोरङा एमडी मिस्टर र राम कुमारको शव ल्याइएको हो । शवसँगै बाराका वीरबहादुर तमाङको अस्तु ल्याइएको बोर्डले जनाएको छ । 

मलेसियामा विभिन्न कारणले मृत्यु भएका ५० जनाको शव रहेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए । त्यसमध्ये शनिबार १८ जनाको शव ल्याएको र बाँकी शव ल्याउने प्रक्रियामा रहेको श्रेष्ठले बताए । कोरोना संक्रमणका कारण समयमा नै शव ल्याउन नसकिएको उनको भनाइ छ । ‘श्रमिक उद्धार गर्ने क्रममा नेपालबाट न्यारोबडी जहाज मात्रै उडे । जसले एक–दुई वटाभन्दा बढी शव ल्याउन सकेनन् । त्यसैले, अहिले वाइडबडी नै पठाएर शव झिकाएका हौँ,’ उनले भने ।