मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ माघ ५ सोमबार ०९:१६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा विमानस्थल पुनः जिटुजी मोडलबाट सञ्चालन गर्न आशयपत्र मागिँदै

वैशाखबाट आन्तरिक उडानमार्फत विमानस्थल सञ्चालनमा ल्याइने

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ माघ ५ सोमबार ०९:१६:००

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पुनः गभर्मेन्ट टू गभर्मेन्ट (जिटुजी) मोडलमा जाने गरी प्रक्रिया सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुनः जिटुजी मोडलमा लैजान आशयपत्र माग गर्ने प्रक्रिया सुरु गरेको छ । जसका लागि नागरिक उड्डयन प्राधिकरणलाई जिम्मा दिइएको छ ।

यसअघि पनि जर्मनको म्युनिख विमानस्थलसँग जिटुजी मोडलमा सञ्चालनको जिम्मा दिने गरी प्रक्रिया अगाडि बढेको भए पनि बीचमै रोकिएको थियो । म्युनिखसँग प्रक्रिया अगाडि बढेको भए पनि एउटा मात्रै आवेदन परेकाले विवाद हुन सक्ने भन्दै प्रक्रिया रोकिएको र अहिले पुनः आशयपत्र माग्ने तयारी सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । ‘जिटुजीमा जाने भने तापनि प्रक्रिया लामो हुने भएकाले नटुंगिएसम्म प्राधिकरण आफैँले विमानस्थल सञ्चालन गर्नेछ,’ महानिर्देशक पोखरेलले भने । 

विगतमा गैरसैनिक हवाई उड्डयन ऐन २०५३ मा पनि विमानस्थल निर्माण, सञ्चालन र संरक्षणको जिम्मा नागरिक उड्डयन प्राधिकरणको हुने उल्लेख गरिएकाले पनि सीधै कम्पनीलाई विमानस्थल सञ्चालनको जिम्मा दिने विषयमा प्राविधिक समितिमा एकमत हुन सकेको थिएन । तत्काल ऐन संशोधन गर्नुपर्ने अथवा सार्वजनिक बोलपत्र अह्वान गरेर मात्रै कम्पनीको छनोट गर्नुपर्ने विषयमा विवाद भएपछि प्रक्रिया नै रोकिएको थियो । अब विभिन्न दूतावासमार्फत पुनः आशयपत्र माग गर्ने तयारी भएको महानिर्देशक राजन पोखरेलले बताए । 

‘म्युनिख’ले २०७५ माघमा नेपाललाई अनौपचारिक तथा गत साउन पहिलो साता नेपाल सरकारलाई औपचारिक पत्र लेख्दै भैरहवा विमानस्थल सञ्चालनको जिम्मा दिन आग्रह गरेको थियो । उक्त पत्र आएसँगै गत वर्षको साउन अन्तिम साता पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको थियो । सोही सैद्धान्तिक सहमतिसँगै मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको नेतृत्वले ‘म्युनिख’को टोलीसँग विभिन्न चरणका वार्ता गर्दै मन्त्रालयले ‘म्युनिख’लाई विस्तृत प्रस्ताव पेस गर्न आग्रह गरेको थियो ।

 विमानस्थल निर्माण सम्पन्न हुन अझै केही महिना लाग्ने
सन् २०१८ मै निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने गरी सन् २०१६ मै विमानस्थल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको थियो । चिनियाँ ठेकेदार कम्पनीले भौतिक निर्माणको काम सम्पन्न गरिसके पनि बत्ती जडान, सेन्ट्रल एसिकोलगायत केही काम अझै बाँकी छन् । गत डिसेम्बरमै सकिएको चिनियाँ ठेकेदारको म्याद अब पुनः तीन महिना थप्ने तयारी छ । 

विमानस्थलको धावनमार्ग कालोपत्रेको काम गत वर्ष सम्पन्न भइसकेको छ । टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ । बाँकी इक्युपमेन्ट रेडार, बत्ती तथा प्राविधिक जडानको काम भने अझै हुन सकेको छैन । ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाको लागत बढेर पहिलो चरणमै १० अर्ब पुग्ने अनुमान गरिएको छ । मुआब्जाका लागि २३ अर्ब खर्च भइसकेको छ । 

ठेकेदार कम्पनीले पटक–पटक निर्माणको अवधि तन्काउँदै जाँदा अन्य प्रक्रियामा समेत असर परेको छ । जनवरीसम्ममा सम्पन्न गर्ने भन्दै गत जुनमा डिसेम्बरसम्मको समय अवधि थपिएको थियो । तर, कम्पनीलाई पुनः तीन महिना समय थप गरेर मार्च अन्तिम तथा १५ चैतसम्मको समय दिने तयारी गरिएको छ  । 

चिनियाँ कम्पनीले सन् २०१४ मा निर्माणको ठेक्का पाएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१६ देखि निर्माण सुरु गरिएको थियो । २०१८ मा सञ्चालनमा ल्याउने घोषणा गर्दै निर्माण सुरु भए तापनि हालसम्म सम्पन्न हुन सकेको छैन । विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे थियो । विमानस्थल ३ हजार मिटर लामो धावनमार्ग र ४५ मिटर चौडाइ रहेको छ । 

आन्तरिक उडान गर्ने तयारी
विमानस्थल निर्माण सम्पन्न भएर अन्तर्राट्रिय उडान गर्न समय लाग्ने भएमा आगामी वैशाखदेखि आन्तरिक उडान सुरु गर्ने सरकारको तयारी छ । ‘ठेकेदार कम्पनीले हस्तान्तरण गरेपछि अन्तर्राष्ट्रिय उडानको मापदण्ड पूरा गर्न तीन महिना लाग्छ, त्यसैले आन्तरिक भने पनि उडान गर्ने लक्ष्य बनाएका छौँ,’ महानिर्देशक पोखरेलले भने । अहिले विभिन्न देशबाट प्राविधिकहरू ल्याउन समस्या भइरहेकाले परराष्ट्रमार्फत पहल गरिदिन आग्रह गरिरहेको समेत पोखरेलले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय उडान नै कम भइरहेकाले पनि आन्तरिक उडानमार्फत नै उडान गर्न लागिएको हो ।