मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ माघ ३ शनिबार २०:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पौडेलको दाबी– ओलीले चुनाव गर्न प्रतिनिधिसभा विघटन गरेका हैनन्, चुनावविनै देउवा प्रधानमन्त्री बन्न सक्छन् (भिडियोसहित)

Read Time : > 1 मिनेट
२०७७ माघ ३ शनिबार २०:३१:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले चुनाव गर्न प्रतिनिधिसभा विघटन नगरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा भरतपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने– ‘आफ्नो दुईतिहाइनजिकको बहुमत हुँदाहुँदै चुनाव गर्छु भन्नु, आफ्नो पार्टी टुक्राएर प्रतिनिधिसभा भंग गर्नु, आँफैलाई प्रधानमन्त्री बनाउने र सत्ताको शिखरमा पु¥याउने प्रतिनिधिसभा विघटन गरेर चुनाव गर्छु अनि आफ्नै बहुमत आउँछ भन्नु चुनाव गर्दिनँ भनेको हो ।’ 

प्रतिनिधिसभा विघटनभित्र राष्ट्र विरोधी ठूलो षड्यन्त्र भएको उनको दाबी छ । ‘अदालतले पनि पुनर्स्थापना गरेन, चुनाव पनि भएन भने त्यो वेला के हुन्छ ?’ उनले प्रश्न गर्दै भने ‘प्रतिनिधिसभा पुनर्स्थापना हुनुको विकल्प छैन । यो देशमा न्याय छ, संविधानको पुस्तक पढेर न्याय गर्ने व्यवस्था छ, त्यसैले प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ ।’
राष्ट्रघाती र असंवैधानिक कदम सच्चिँदै प्रतिनिधिसभा पुनर्स्थापना गरिनुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्रीले अदालतलाई दबाब दिए 
पौडेलले अदालतमा पुगेको विषयमा प्रधानमन्त्री ओलीले दबाब सिर्जना गरेको समेत बताए । उनले भने, ‘प्रतिनिधिसभा विघटनको विषय राजनीतिक निर्णय भन्दै खारेज गर्न प्रधानमन्त्रीबाटै दबाब सिर्जना भएको छ । न्यायाधीश र न्यायालयमा धम्की दिइएको छ । अदालतलाई प्रधानमन्त्रीले यसो भन्न मिल्छ ?’ राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा भंग हुन्न भन्ने थाहा हुँदाहुँदै अदालतलाई तह लगाउला भनेर विघटन गरेको उनले बताए । 

प्रधानमन्त्री बन्ने देउवाको सम्भावना
पौडेलले पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुने सम्भावना रहेको बताए । उनले चुनाव–चुनाव भन्न आवश्यक नरहेको र देउवा नै फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले कम्युनिस्ट पार्टी फुटेकाले प्रतिनिधिसभा पुनस्र्थापना हुँदा पनि कांग्रेस नै निर्णायक शक्ति बन्ने बताउँदै चुनाव–चुनाव भन्न जरुरी नरहेको बताए । ‘पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुने सम्भावना छ, अब प्रतिनिधिसभामा कांग्रेसको पछि अरू पार्टी लाग्छन् । तालुमा आलु फलेको भनेझैँ हाम्रो सभापति फेरि पनि प्रधानमन्त्री हुन बेर छैन । त्यसैले, हतारिएर लोकतन्त्र विरोधी भएर चुनावमा जान अहिले आवश्यक छैन । हामी संविधानलाई बचाएर मात्र चुनावमा जाने हो ।’ उनले भने ।