मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २० बिहीबार
  • Thursday, 04 March, 2021
२०७७ माघ १ बिहीबार ०९:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र चलायमान भएसँगै आयात बढ्यो विदेशी मुद्रा सञ्चिति घट्यो

चार महिनामा २० अर्ब बचतमा पुगेको चालू खाता एक महिनामै २१ अर्ब घाटामा

Read Time : > 1 मिनेट
२०७७ माघ १ बिहीबार ०९:४०:००

कोभिड १९ ले आयातमा भएको कटौतीका कारण चालू आवको सुरुदेखि नाफामा रहेको मुलुकको चालू खाता मंसिरसम्म आइपुग्दा पुनः घाटामा जान थालेको छ । कोरोनाले शिथिल भएको अर्थतन्त्र चलायमान हुन थालेपछि बढेको आयातले विदेशी मुद्राको सञ्चिती पनि घट्न थालेको हो ।

चार वर्षपछि गत असारबाट चालू खाता नाफामा जान थालेको थियो । त्यसपछि करिब चार महिना यो खाता २० अर्ब ४६ करोडसम्म बचतमा देखिएको थियो । तर, मंसिरमा एकैपटक २१ अर्ब ३२ करोडले घाटामा गएको छ ।  चालू खाताले मुलुकको वैदेशिक कारोबार देखाउँछ ।

मुलुकको व्यापारको क्रममा आयातबाट हुने खर्चको तुलनामा निर्यातबाट हुने आम्दानी घट्दा चालू खाता घाटामा जान्छ । चालू खाताको हिसाबमा अन्य मुलुकबाट हुने वा अन्य मुलुकमा जाने ब्याज आम्दानी वा लाभांश, वैदेशिक अनुदानलगायत समावेश हुन्छ । यद्यपि, यसको अंश धेरै ठूलो हुँदैन । 

‘अहिले चीनबाट आयात हुने सामान घुमेर आउने भएकाले यातायात खर्च बढेको, केही वैदेशिक लगानीमा लाभांश बाहिरिएकाले पनि चालू खाता घाटामा गएको हो,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने । राष्ट्र बैंकको तथ्यांकअनुसार २३ अर्ब रुपैयाँ लाभांशलगायतको कारण बाहिरिएको छ भने आयातको यातायात लागत २८ अर्ब रहेको छ । आयातमा भएको वृद्धिले व्यापार घाटा बढेपछि चालू खातामा दबाब परेको छ । एकै महिनामा एक खर्ब १३ अर्ब रुपैयाँले व्यापार घाटा बढेर कुल चार खर्ब ७५ अर्ब व्यापार घाटा पुगेको छ । 

मुलुकमा उत्पादन वा विकासका गतिविधि धेरै बढिरहेको छ भने यस्तो घाटाले समस्या पार्दैन । तर, उपभोगमा बढी खर्च भइरहेको छ भने आम्दानीको सदुपयोग थप विकासका लागि नभएको मानिन्छ । औद्योगिक उत्पादन र विकासलाई सघाउने आयातको हिस्सा कुल आयातको करिब ५१ दशमलव ६ प्रतिशत छ । पाँच खर्ब २५ अर्ब रुपैयाँको आयात हुँदा दुई खर्ब ७१ अर्ब रुपैयाँबराबरको औद्योगिक उत्पादन र विकासलाई सघाउने वस्तुको आयात भएको हो । एक खर्बको खाद्यान्न तथा पेय पदार्थ, ५६ अर्बको पेट्रोलियम पदार्थलगायत, यातायातका साधन, पार्टपुर्जालगायतको आयात ४३ अर्ब रुपैयाँबराबर भएको हो । 

आयात बढ्न थालेसँगै विदेशी मुद्रा सञ्चिती पनि घट्न थालेको छ । १५ खर्ब ६ अर्बसम्म पुगेको विदेशी मुद्राको सञ्चिती घटेर १४ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित भएको छ । यो सञ्चितीले १३ महिनाको मात्रै वस्तु तथा सेवा आयात धान्न सक्छ । यसअघि १४ महिनासम्मलाई पुग्ने अवस्था बनेको थियो । गत आवमा भने यस्तो सञ्चिती घट्न थालेसँगै कम्तीमा आठ महिनाको आयात धान्न यस्तो सञ्चिती पुगे पर्याप्त हुने नयाँ मापदण्ड सार्वजनिक गरेको थियो । यसरी मापदण्ड बनाउनुअघि पर्याप्तता दर नौ महिनासम्म लिइने गरिएको थियो । विदेशी मुद्रा आम्दानीको मुख्य स्रोतका रूपमा रहेको रेमिट्यान्स भित्रने दरमा भने १० प्रतिशत बढेर चार खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।

मूल्य वृद्धिदर घट्यो
राष्ट्र बैंकको तथ्यांकले मंसिरमा मूल्य वृद्धिदर भने सस्तिएको उल्लेख गरेको छ । यो दर दुई दशमलव ९३ मात्रै छ । फलफूल, घिउ, तेल, तरकारी, दाल, गेडागुडीको भने मूल्य वृद्धि १० देखि १४ प्रतिशतसम्म छ । गैर खाद्य वस्तु र सेवाको महँगीदर भने न्यून दरमा बढेको हो । हिमालका बासिन्दाले भने सबैभन्दा धेरै मूल्यवृद्धि खेपिरहेका छन् । हिमाल, तराई र पहाडमा यो दर क्रमशः चार दशमलव २२, दुई दशमलव ३५ र तीन दशमलव ९५ प्रतिशत छ ।