१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न- संसद् विघटनमा  भारतीय भूमिका के हो ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:१९:oo

नेकपाको प्रचण्ड–नेपाल समूहका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटनमा भारतीय भूमिकाबारे प्रधानमन्त्री केपी ओलीसँग जवाफ मागेका छन् । संसद् विघटनको झन्डै एक महिना पुग्नै लाग्दा प्रचण्डले सार्वजनिक रूपमै भारतको भूमिकाबारे प्रधानमन्त्री ओलीसँग प्रश्न उठाएका हुन । नेकपाको प्रचण्ड–नेपाल समूह संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै यसको राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादमा उत्रेको छ । 

प्रचण्ड–नेपाल समूहको काठमाडौं जिल्ला संगठन कमिटीले बुधबार काठमाडौंमा गरेको कार्यकर्ता भेलामा प्रचण्डले संसद् विघटन प्रधानमन्त्री ओलीले भारतीय इसारामा गरेको जनताले बुझ्न थालेको बताए । ‘असारमा त भारतले मलाई हटाउन खोज्दै छ भन्दै हुनुहुन्थ्यो, तर अहिलेचाहिँ के भन्नुहुन्छ ? संसद् भंग गर्ने, पार्टी विभाजन गर्ने भारतले गराएको हो भनेर जनताले बुझेका छन्, केपीजी यसमा के भन्नुहुन्छ ?’ प्रचण्डले प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका छन् । ओलीले गत असारमा आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतीय संयन्त्र सक्रिय भएको आरोप लगाएका थिए । 

उनले जी न्युजलाई दिएको अन्तर्वार्तासँगै ओलीको राष्ट्रवादको नाटक पटाक्षेप भएकोसमेत टिप्पणी गरे । ‘उहाँमा अलिकति लोकतन्त्रप्रति, राष्ट्रप्रति जिम्मेवारीबोध भएको भए अस्ति जी न्युज हेर्नुभयो नि, त्यो पनि नाटकै हो । त्यो नाटकै हो भन्ने पटाक्षेप भइसक्यो, अब त जी न्युजले सगरमाथाकै नाम फेर्ने रे,’ प्रचण्डले भने । जी न्युजले मंगलबार प्रसारण गरेको कार्यक्रममा सगरमाथाको नाम माउन्ट सिकदर राख्न अभियान सुरु गरेको बताएको थियो । 

जबज केपी ओलीले छोडेका हुन्

अध्यक्ष प्रचण्डले जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति नै ओली भएको बताए । तत्कालीन वरिष्ठ नेता रहेका अध्यक्ष नेपालले जबजको पक्षमा अडान राखे पनि पार्टी एकता गर्दाको सहमतिमा हस्ताक्षर गरेर ओलीले नै जबज छाडेको उनको भनाइ थियो । 

‘जबज छोड्ने पहिलो व्यक्ति केपी ओली नै हुनुहुन्छ, तपाईंहरू कोही पनि भ्रममा नपर्नुहोला, अहिले एकजना अध्यक्ष माधव नेपाल हुनुहुन्छ, म माधवजीसँग मिलेँ, तर केपीले माधव नेपाल त प्रचण्डसँग मिलेर सिध्दियो भन्ने गरेका छन्,’ प्रचण्डले भने, ‘तर, केपीले नै पार्टी एकताको दस्ताबेजमा हस्ताक्षर गर्दा समाजवादउन्मुख जनताको जनवादको कार्यदिशामा हस्ताक्षर गरेर जबज छाडेकाले सही लाइनबाट भड्किएर पार्टी विभाजन गर्ने पनि उनी नै हुन् भन्ने बुझ्नुपर्छ ।’ प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई धेरैपटक कोसिस गर्दा पनि सच्याउन नसकिएको बताए ।

माधव नेपाललाई एक नम्बर अध्यक्ष मान्दा आनन्द अनुभूति भएको छ

अर्का अध्यक्ष प्रचण्डले माधवकुमार नेपाललाई पहिलो वरीयताको एक नम्बर अध्यक्ष मान्दा आफूलाई सम्मान र आनन्दको अनुभूति भएको बताएका छन् । ‘अघिल्लो वर्षको केन्द्रीय कमिटी बैठक सफल भएपछि प्रहारजति प्रचण्डलाई गरेर पूर्वएमाले सबै एक ठाउँ हुनुपर्छ भन्ने लाइन बनाउनुभो, माधवजी र उहाँनजिक भएकालाई फकाउन थाल्नुभो । बिहान माधवजीकहाँ जान्छु पनि केपीजीकै साथी आएर बसेका छन्, बेलुका जान्छु पनि केपीजीकै साथी छन्, माधवजीलाई त छोड्दै नछोड्ने भए,’ प्रचण्डले भने, ‘अलिअलि मलाई डर लाग्यो, माधवजीलाई त गलाउँछन् कि क्या हो ! म अलिअलि त डराएको थिएँ त्यो वेला, तर अहिले माधवजीप्रतिको सम्मान धेरै नै बढेको छ । उहाँ सतिसालझैँ उभिनुभो, केपीको प्रवृत्तिसँग झुक्दिनँ भनेर । त्यसैले उहाँलाई एक नम्बर अध्यक्ष मान्दा मलाई आनन्द भएको छ ।’ 

उनले आफूहरूबीच वरीयताबारे कुनै समस्या नरहेकोसमेत बताए । ‘मैले यहाँ केही समस्या देख्दिनँ । अब हामीले अहिले सबै संघर्ष गरेको केपी प्रवृत्तिविरुद्ध हो, तर केपीविरुद्ध देखिए पनि हामीभित्रै संघर्ष गरेको हो है । हामीभित्रै रहेको फोहोरमैला सफा गर्ने अभियान पनि हो यो,’ प्रचण्डले भने, ‘हामी एक–दुई छैनौँ, एक–एक छौँ । उहाँले पार्टीको बैठकको अध्यक्षता गर्नुभो, आजको कार्यक्रमको पनि प्रमुख अतिथि हुनुपर्छ भन्ने मेरै प्रस्ताव हो ।’ 

कथा सुनाउँदै नेपालले भने–ओली सडकमा नांगिने राजाजस्तै 

नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा अहंकार, तानाशाही प्रवृत्ति चुलिँदै गएको दाबी गर्दै सडकमा नांगिने राजासँग तुलना गरेका छन् । काठमाडौंमा कार्यकर्ता भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेपालले ओलीमा हुर्किएको तानाशाही प्रवृत्तिले सही र गलत नै छुट्याउने अवस्थामा उनी नरहेको बताए । 

‘एउटा राजा सडकमा नांगै हिँडेछ । कसैले नांगो भन्न सक्दैन । सत्य भन्यो भने मारिहाल्छ । राजा बाहिर निस्केछ । मान्छेहरू खासखुस मात्रै गर्छन् । थुप्रैले गज्जब छ, महाराज, कस्तो सुहाएको भन्दारहेछन् । तर, एउटा साँचो कुरा बोल्ने अबोध बालकले भनेछन्, राजा नांगै छन् । त्यसपछि सबैले राजा नांगै छन् भने । केपी ओली पनि त्यस्तै नांगो राजा बन्दै छन्, किनभने उनलाई प्रशंसाबाहेक कसैको आलोचना मन पर्दैन, उनीमा अहंकार छ,’ नेपालले भने । 

ओलीमा कुनै राजनीतिक चरित्र नै नभएकाले वरिपरि केपी ‘बा’ भन्ने झुन्डहरू मात्रै देखिएको पनि नेपालले बताए । ओलीमा मान्छेहरूलाई खेलाएरै तह लगाउँछु भन्ने सोच हाबी हुँदै गएकोसमेत नेपालले प्रस्ट्याए । नेपालले ओली गुटले नेतृत्व गरेको समूह ‘सडकछाप’ पार्टी भएको आरोप पनि लगाए ।

‘उहाँले अहिले डमरु बजाएर, टिकट बाँडिरहनुभएको छ, धमाधम केन्द्रीय सदस्य बनाउँदै हुनुहुन्छ, सुन्दै छु अहिले, २५ सयलाई केन्द्रीय सदस्य बनाइएको छ, बढेर पाँच हजार पुग्ला, त्यस्तो पार्टीमा को–को जाने हो हेर्न बाँकी छ,’ नेपालले भने, ‘अहिले थुप्रै छोड्नेहरूको संख्या बढ्दै छ, अब त्यो पार्टी होइन पाटीपौवा, सडक पनि होइन सडकको धुलोमा परिणत हुँदै छ ।’

ओलीमा कम्युनिस्ट चरित्र नै नदेखिएको भन्दै नेपालले सुध्रिने सम्भावना कम रहेको बताए । ‘वामदेव गौतमले अहिले पनि तेल निस्किन्छ कि भनेर बालुवा पेलेको–पेल्यै हुनुहुन्छ, कसैलाई भ्रम छ भने अझ प्रयास गर्दा हुन्छ, तर केपी झुक्ने मानिस होइन, विनम्रता भन्ने चिजै छैन,’ नेपालले भने ।

ad
ad