मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २९ बुधबार १८:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाबुराम भट्टराईको दाबी– हिटलरले जे गऱ्याे, केपी ओली त्यही गर्दै छन्

Read Time : > 1 मिनेट
२०७७ पौष २९ बुधबार १८:५०:००

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली हिटलरको पथमा अगाडि बढिरहेको बताएका छन् । केपी ओली प्रवृत्ति फासिस्ट र हिटलरी प्रवृत्ति रहेको उनले उल्लेख गरे ।
 
सरकारको संसद् विघटन गर्ने कदमविरुद्ध पोखरामा आयोजित विरोध सभालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हिटलरले पनि उखानटुक्काहरू हालेर मान्छे जुरुक्कजुरुक्क उचाल्थ्यो । अझै पनि तपाईं युट्युबहरूमा हेर्न सक्नुहुन्छ । सबै निर्वाचित संस्थाहरू भत्काइदिने हिटलरले जे ग¥यो केपी ओलीले त्यही गरेको छ । जसरी हिटलरले जर्मनी सिध्यायो, त्यसैगरी केपी ओलीले सिध्याउँछन् । केपी ओलीलाई नसच्याउने हो भने अब संघीयता पनि खारेज गर्छन् । न्यायालय, शिक्षा, विश्वविद्यालय सबै कब्जा गरेर हिटलरले तानाशाही फासीवाद लाद्यो । केपी ओलीले त्यसै गर्छन्,’ उनले भने । 

हिटलरी प्रवृत्ति सबैलाई डुबाउने र आफू पनि डुब्ने प्रवृत्ति रहेको उनको भनाइ छ । प्रचण्ड र माधव नेपालले यो प्रवृत्ति नचिन्दा अहिले यो समस्या आएको उनले टिप्पणी गरे । आफूले प्रचण्डलाई निर्वाचनलगत्तै ओली प्रवृत्तिलाई बल पुग्ने गरी पार्टी एकता नगर्न भनेको उनले जानकारी दिए । माधव नेपाल र प्रचण्ड अझै पनि सच्चिने भ्रम पालेर निर्णायक ढंगले अगाडि बढ्न नसकेको उनको भनाइ छ । 

प्रचण्ड र माधव नेपाललाई अझै पनि हुन्छ कि भनेर हारगुहार गर्न छाड्न उनले आग्रह गरे । ‘जर्मनमा हिटलरले करोडौँ मान्छे मा¥यो । प्रेमिकालाई विष खुवायो । अन्तिम समयमा पनि आत्मसमर्पण नगरी आफू र आफ्ना मान्छेलाई विष खुवाएर मारेको हो । आफू पनि विष खाएर स्वाहा भयो । केपी ओली त्यस्तै हुन् । अन्त्यमा सर्वनास नभएसम्म छाड्दैनन् । 

असारमै केपी ओलीले संसद् विघटन गर्ने धम्की दिएको र प्रचण्ड र नेपाल डराएर छोड्दा अहिलेको नियति आएको उनले बताए । आफूले त्यतिवेला नै ओली प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्दा नमान्दा यो अवस्था आएको उनले सुनाए । ‘उहाँहरूले डराएर छोड्ने ठूलो गल्ती गर्नुभयो । मैले असारमै संसद् विघटन गर्छन् भन्दा त्यही धम्की ओलीले माधव र प्रचण्डलाई दिएका रहेछन् । मैले ओलीले आपत्काल घोषणा गर्छन् भनेर उतिवेलै भनेको हो । नपत्याए सोध्नुभए हुन्छ,’ उनले भने । 

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानलाई भिरको डिलमा पु¥याएका छन् अब कहिले खसाल्छन्, त्यो हेर्न हेर्न मात्र बाँकी रहेको उनको भनाइ छ । आफूहरूले यस्तै मूर्ख शासक आउँदा सनकका भरमा संसद् विघटन गर्छन् भनेरै संविधान अपूर्ण छ भनेको उनले जिकिर गरे । सनकको भरमा केही गर्न नसकुन् भनेरै पूर्णसमानुपातिक संसदीय व्यवस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आफूहरूले माग गरेको उनले स्मरण गरे । 

संवैधानिक अदालतको कुरा पनि यत्तिकै नगरेको उनको भनाइ छ । ‘त्यतिवेला कांग्रेस–एमालेले मानेनन् । हाम्रो प्रचण्ड धेरै उदार, सबैलाई दिन्छु–दिन्छु भने । सबै छोडिदिनुभयो, त्यसको परिणाम ७० वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने अवस्थामा आइपुगेको छ । अहिले त अदालतले के गर्छ–गर्छ । साँच्चै भन्न सकिने अवस्था छैन । ओलीले जुन ढंगले मान्छे भरेका छन् । आसेपासे प्रयोग गरेर धम्क्याएर अन्यथा गर्न सक्छन् । त्योभन्दा माथि जनताको अदालतमा हामी जानुपर्छ,’ उनले भने ।

दुईतिहाइको बहुमत हुँदा संसद् भंग गर्नेले फेरि चुनाव गर्छ भनेर कसैले नसोचे हुने उनको प्रस्टोक्ति थियो ।