मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ पौष २९ बुधबार १०:१७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता पाएनन्

Read Time : > 2 मिनेट
२०७७ पौष २९ बुधबार १०:१७:००

ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिई कोरोना संक्रमितको उपचार गरेका स्वास्थ्यकर्मीले सरकारबाट पाउनुपर्ने जोखिम भत्ता पाएका छैनन् । एक–दुई महिनाको मात्र होइन, अधिकांशले झन्डै दश महिनादेखि जोखिम भत्ता नपाएका हुन् । गत साउनदेखि जोखिम भत्तासँगै कतिपयले मासिक पाउने तलबसमेत पाएका छैनन् । कतिपय अस्पतालका स्वास्थ्यकर्मीले असोजसम्मको भत्ता पाएका छन् भने कतिपयले नियमित तलब मात्रै । कतिपय अस्पतालमा त सरकारले अहिलेसम्म एक रुपैयाँ पनि पठाएको छैन, त्यहाँका स्वास्थ्यकर्मीलाई नियमित तलब पाउन पनि धौ–धौ छ । 

अग्रपंक्तिमा खटिएका झन्डै आठ हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । उनीहरूमध्ये अधिकांश निको भइसकेका छन् । तर, आठजनाले ज्यान पनि गुमाएका छन् । यसरी ज्यानकै बाजी राखेर कोरोना संक्रमितको उपचारमा खटिँदा पनि तलब–भत्ता नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । यो समाचार तयार पार्दै गर्दा सिराहाका ६६ स्वास्थ्यकर्मी दश दिनदेखि आन्दोलनमा छन् । यता, बाराका स्वास्थ्यकर्मी पनि आन्दोलन सुरु गरेका छन् ।

सिराहाका स्वास्थ्यकर्मी दश दिनदेखि आन्दोलित
कोभिड– १९ संक्रमितको उपचारमा ज्यान जोखिममा राखेर खटिएका सिराहाका स्वास्थ्यकर्मी ६ महिनादेखि तलब–भत्ता नपाएपछि आन्दोलित भएका छन् । उनीहरू दश दिनदेखि जिल्ला अस्पताल सिराहाको बहिरंग विभाग (ओपिडी) गेटमा धर्नामा बसिरहेका छन् । 

कोरोनाका संक्रमितको उपचारमा खटिएका ६६ जना स्वास्थ्यकर्मी आलोपालो धर्नामा बस्दै आएका छन् । गत साउनदेखि तलब–भत्ता पाउन नसकेका उनीहरूका मागको अझै सुनुवाइ भएको छैन । उनीहरू सिराहाको चन्द्र माध्यमिक विद्यालय, सूर्यनारायण–सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको छात्रावास र धनगढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालमा कोभिड– १९ का संक्रमितको उपचारमा खटिएका थिए । 

सिराहा जिल्ला अस्पतालमातहत नौजना मेडिकल अफिसर, एचए, अहेव, स्टाफ नर्स, अनमि, प्रयोगशाला प्राविधिक, स्प्रे प्राविधिक, कार्यालय सहयोगी, ड्राइभर गरी ६६ जनाको साउनदेखि कात्तिकसम्मको तलब–भत्ता रोकिएको छ । 

जोखिमका वेला काम गरेको तलब–भत्ता पटक–पटक माग गर्दा पनि नपाएपछि आन्दोलनमा उत्रिनुपरेको डा. विवेकानन्द यादवले बताए । ‘काम गरेको अवधिको तलब–भत्ता र पुनर्नियुक्तिको माग राखी हामी जिल्ला अस्पतालमा धर्ना दिँदै आएका छौँ,’ डा यादवले भने, ‘कोरोनाको जोखिमले घरबाट कोही बाहिर निस्कन नसक्ने वेला हामीले ज्यानको बाजी थापेर काम गर्‍यौँ । तर, हाम्रै तलब–भत्ता रोकियो ।’ 

जिल्ला अस्पताल प्रमुख डा. नागेन्द्रप्रसाद यादवले सामाजिक विकास मन्त्रालयले रकम निकासा नगरेकाले तलब–भत्ता भुक्तानी हुन नसकेको बताए । स्वास्थ्यकर्मीको आन्दोलनबारे पनि मन्त्रालय जानकार रहेको भन्दै मेडिकल सुपरिटेन्डेन्ट डा. यादवले भने, ‘प्रदेश सरकारले रकम निकासा नगरेपछि स्वास्थ्यकर्मी र प्राविधिकको तबल–भत्ता रोकिएको छ ।’ जिल्लाका तीनवटै आइसोलेसन केन्द्रमा काम गरेका स्वास्थ्यकर्मी र प्राविधिकको साउनदेखि कात्तिक मसान्तसम्मको गरी साढे दुई करोडभन्दा बढी रकम रोकिएको यादवको भनाइ छ । स्वास्थ्य मन्त्रालयले गत वैशाखमा जारी गरेको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन निर्देशिकामा फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, सफाइकर्मीलाई तलबको केही प्रतिशत जोखिम भत्ता दिइने भनिएको छ । 

आकस्मिकबाहेकका सेवा बन्द गरेर बाराका स्वास्थ्यकर्मी धर्नामा
पटक–पटक आग्रह गर्दा पनि जोखिम भत्ता नपाएपछि कलैया अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अस्पतालको आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।

पटक–पटक अस्पताल प्रशासनलाई जोखिम भत्ता उपलब्ध गराउन आग्रह गर्दा पनि हालसम्म उपलब्ध नभएको कलैया अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा. रविरोशन गुप्ताले बताए । महामारीमा ज्यानलाई जोखिममा राखेर काम गरिए पनि जोखिम भत्ता समयमा नपाउँदा काम गर्ने मनोबल गिरेको उनले बताए । आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकले महामारीको समयमा फ्रन्टलाइनमा बसेर बिरामी हेर्नुपर्ने जिम्मेवारी निभाएका कसैले पनि भत्ता पाएका छैनन् । अस्पताल प्रशासनमा जोखिम भत्ता माग गर्दा प्रक्रिया अघि बढाएको भन्ने गरेको र सधैँ केही समय पर्खन आश्वासन आउने गरेको उनले बताए । अस्पताल प्रशासनले बारम्बार आश्वासन मात्र दिएपछि बाध्य भएर आन्दोलन थालिएको उनको भनाइ छ ।

न बजेट आयो, न भत्ता निर्धारण भो
अस्पताल प्रशासनकै लापरबाहीका कारण आफूहरूले जोखिम भत्ता पाउन नसकेको आन्दोलित चिकित्सकहरूले बताएका छन् । उनीहरूका अनुसार अस्पताल प्रशासन, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल विकास समितिको मुख्य लापरबाहीका कारण जोखिम भत्ता वितरण नभएको हो । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनीलकुमार कुसवाहले भने माथिल्लो निकायबाट रकम निकासा नभएकाले हालसम्म वितरण नगरिएको बताए । उनका अनुसार महामारीमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सलाई कुन आधारमा, कति दिने भन्ने निर्णय पनि भएको छैन । यस्तै, अस्पतालमा भत्ताबापतको रकमसमेत आएको छैन । बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले स्वास्थ्यकर्मीहरू आन्दोलित भएकोबारे भर्खरै जानकारी आएकाले बुझ्न बाँकी रहेको बताए । 

जोखिमको समयमा उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीले पटक–पटक अस्पताल प्रशासनलाई जोखिम भत्ता उपलब्ध गराइदिन आग्रह गर्दा अस्पतालले चासो नदेखाएको गुनासो गरे । उच्च जोखिमको समयमा लामो समयसम्म घरपरिवारलाई छाडेर महामारीमा खटिए पनि अहिले बेवास्ता गरिएको उनीहरूको भनाइ छ ।