मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:४८:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

३० कलाकार एउटै गीतमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:४८:oo

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘त्यही सच्चा नेपाली’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गीतको म्युजिक भिडियोमा ३० भन्दा बढी कलाकारले अभिनय गरेका छन् । गीतमा देविका बन्दना तथा राजन इशानले स्वर दिएका छन् । आनन्द अधिकारीले लेखेको गीतमा राजन इशानकै संगीत छ ।

रोशनी केसीले निर्देशन गरेको भिडियोमा संस्कृतिविद् सत्यमोहन जोशी, नीर शाह, गौरी मल्ल, करिष्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिलीप रायमाझी, धिरेन शाक्य, प्रशान्त ताम्राकार, नम्रता सापकोटा, अनु शाहलगायतको अभिनय रहेको छ । रामशरण उप्रेतीले छायांकन गरेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

एकैपटक नेपालका चर्चित स्रष्टा कलाकारलाई अभिनय गराउन पाउँदा गौरव लागेको निर्देशक केसी बताउँछिन् । यसअघि ‘डाक्टर खाते’ नामक चलचित्र निर्माण गरिसकेकी केसीको यो पहिलो निर्देशनमा तयार भएको गीत हो । राष्ट्रिय एकता दिवसको दिनमै सार्वजनिक गर्न पाउँदा खुसी लागेको उनले बताइन् ।

गीतका निर्माता चिजकुमार श्रेष्ठले राजनीतिक विसंगतिबाट दिक्क लागेपछि म्युजिक भिडियो निर्माणमा लागेको बताए । ‘रियल जिन्दगीमा राजनीतिक क्षेत्रमा रहेका विकृति विसंगतिबाट वाक्कदिक्क लागेपछि म रिल जिन्दगीतिर लागेँ,’ श्रेष्ठ भन्छन्, ‘राष्ट्रियता संकटमा परेका वेला देशभक्तिपूर्ण गीतमा काम गर्न मन लाग्यो ।

मलाई लाग्छ, एउटा उत्कृष्ट गीत र भिडियो बनेको छ । देशले मलाई के दियो भनेर सोच्ने र सोध्नेहरूको भिडमा मैले देशलाई के दिएँ भनेर सोच्नु र तदनुरूप काम गर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु ।’ श्रेष्ठले एउटै भिडियोमा यति धेरै लोकप्रिय अनुहारहरूले अभिनय गरेको यो पहिलोपटक भएको बताए । भिडियोलाई चार दिन लगाएर छायांकन गरिएको निर्देशक केसी बताउँछिन् ।