१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २८ मंगलबार ०१:५४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपनिवेशको जमाना गयो, समानताका आधारमा सम्बन्ध : प्रधानमन्त्री ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २८ मंगलबार ०१:५४:००

प्रधानमन्त्री केपी ओलीले भूगोल र जनसंख्यामा ठूलो र सानो भए पनि नेपाल र भारत दुवै सार्वभौम देश भएकाले समानताका आधारमा मित्रता बलियो बनाउन जोड दिएका छन् । भारतीय न्युज च्यानल जी न्युजलाई अन्तर्वार्ता दिँदै ओलीले भनेका छन्, ‘हामीले सधैँ सर्वव्यापी समानताको हिसाबले संवाद र सम्बन्ध राख्नुपर्छ । भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसमा आपत्ति छैन ।’

जी न्युजका सुधीर चौधरीले भारत र नेपाल राम र लक्ष्मण भएमा आपत्ति हुनुपर्ने कारण के छ भनेर सोधेका थिए । जवाफमा ओलीले भने, ‘तपाईंको प्रश्नले भन्छ कि भारत भगवान् वा ठूलो हो, तर वास्तविकता हामी दुवै बराबरी हौँ । भारतले अब आफूलाई ठूलो वा बोस सोच्छ भन्ने पनि मलाई लाग्दैन । किनकि अब औपनिवेशको जमाना गयो । समानताको युग आयो ।’

दक्षिण एसियाली देशमा विज्ञान र प्रविधिको विकास पहिले नै भए पनि त्यसको सदुपयोग हुन नसकेको पनि ओलीले बताए । ‘न्युटनले भन्दा अघि नै भास्कराचार्यले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए । अन्य धेरै सिद्धान्त पनि पहिले यही क्षेत्रमा विकास भएका थिए । तर, के कारणले हो भारत पनि गरिब रह्यो, नेपालले पनि अहिलेसम्म विकास गर्न सकेन । अब सबैले आ–आफ्नो विकासमा ध्यान दिनुपर्छ । एक–अर्कालाई शोषण गर्नुहुँदैन,’ उनले भने । 

नक्साको विषय पनि संवादबाट सुल्झाउन सकिने ओलीको भनाइ थियो । ‘भारतले पहिला पनि नक्सा जारी ग¥यो, त्यहाँ बाटो बनायो । हामीले संवाद गरौँ भनिरहेको वेला बाटो उद्घाटन पनि गर्यो, त्यो आवश्यक थियो ?’ ओलीले भने, ‘नेपालले पनि आफ्नो नक्सा जारी गरेको छ । विवाद छ भन्दैमा नक्सा जारी गर्ने काम रोकिँदैन । अहिले फरक–फरक नक्सा छन् । भोलि जुन दिन निक्र्यौल हुन्छ नक्सा एकै प्रकारका बन्छन् ।’

भारत वा चीन कुनै पनि ध्रुवमा नेपाल नलाग्ने पनि उनले स्पष्ट पारे । ‘हामी सबैको हित यसैमा छ कि भारत र चीनबीच पनि मित्रवत् व्यवहार होस् । दुईमध्ये कुनै पनि देशविरुद्ध हामीले आफ्नो भूमि प्रयोग गर्ने दिने छैनौँ,’ ओलीले यो पनि भने, ‘भारत र चीनबीच सम्बन्ध सुमधुर बनाउन मैले मध्यस्थता गर्न सक्छु । म सी जिनपिङ वा ली खछियाङसँग पनि कुरा गर्न सक्छु, मोदीसँग पनि कुरा गर्न सक्छु । त्यसको लागि म तयार छ ।’