१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २६ आइतबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २६ आइतबार o८:o६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर कारोबारको राफसाफ दुई दिनभित्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २६ आइतबार o८:o६:oo

अब सेयर कारोबारको राफसाफ चक्र किनबेच गरेको दुई दिनभित्र सम्पन्न हुने भएको छ । धितोपत्र बोर्डले कारोबार राफसाफ तथा फर्स्योट विनियमावली, २०६९ संशोधन गरेर यस्तो व्यवस्थालाई स्वीकृत गरेको हो । यो विनियमावलीको कार्यान्वयन भने सिडिएस एन्ड क्लियरिङ लिमिटेडले केही दिनपछि ल्याउनेछ ।

अहिले सेयरको राफसाफ भनिएकै अवधिमा सकिने भए पनि अझै कारोबार राफसाफमा भने लगानीकर्ताले समस्या व्यहोरिरहेका छन् । ‘सेयर बिक्री गरेपछि तत्काल भुक्तानी नपाउने हो भने यसलाई कसरी अनलाइन कारोबार भन्ने ? फेरि ठूलो लगानीकर्ताको नरोकिने, सानाको मात्रै किन ?’ एक लगानीकर्ताको गुनासो छ । 

ब्रोकरहरू भने सानामा भन्दा ठूला लगानीकर्तामा यस्तो समस्या रहेको स्वीकार गर्छन् । ‘लगानीकर्तामा पनि पहिलेदेखि परिचित, ठूला कारोबारीहरूले तत्कालै भुक्तानी नदिने गरिरहेकाले हामीले उनीहरूसँग व्यवहार मिलाउँदा कहिलेकाहीँ त्यस्तो समस्या आउने हो,’ सेयर ब्रोकर नरेन्द्रराज सिजापतिले भने, ‘नयाँ र पहिलेदेखि समयमै रकम दिनेहरूले यस्तो समस्या व्यहोर्नुपरेको छैन ।’

त्यसैले पनि कारोबार रकमको राफसाफका लागिसमेत लगानीकर्तालाई राफसाफ बैंकहरूमा खाता खोल्न लगाउने र खातालाई कारोबारका क्रममा इन्टिग्रेसन गराउने हो भने समस्या नहुने केही लगानीकर्ता बताउँछन् । ‘प्रणालीले सपोर्ट नगरुन्जेल केही हुँदैन,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने, ‘बैंक इन्टिग्रेसन नै राम्रो विकल्प हो ।’

हाल सिडिएस एन्ड क्लियरिङ लिमिटेडले प्रभु बैंक, ग्लोबल आइएमई, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई आधिकारिक सेयर राफसाफ बैंकका रूपमा तोकेका छन् । हुन त अहिले कनेक्ट आइपिएस, मोबाइल बैंकिङबाट पनि लगानीकर्ताले ब्रोकरहरूलाई खरिद गरेको सेयरको भुक्तानी दिन सक्छन् । लगानीकर्ता र ब्रोकरहरूले एक–आपसमा गर्ने व्यवहार नमिलाउँदा नै यस्तो समस्या हुने गरेको देखिन्छ । 

यसको समाधान कारोबार रकम अग्रिम रूपमा बुझाउनुपर्ने व्यवस्था आवश्यक भएको समेत ब्रोकरको दाबी छ । ‘कुनै पनि सामान किनेपछि नै भुक्तानी हुनुपर्छ, सेयरमा कारोबार सम्पन्न भइहाल्छ नै भन्ने हुँदैन,’ सिजापतिले थपे, ‘त्यसैले अन्य मुलुकमा जस्तै लगानीकर्ताले खरिद गर्नुअघि नै शतप्रतिशत रकम जम्मा गर्ने व्यवस्था हुनुपर्छ ।’

हाल अनलाइन कारोबारका क्रममा मात्रै अग्रिम २५ प्रतिशत रकम बुझाउनुपर्ने व्यवस्था छ । यद्यपि, कारोबार रकमको हिसाब मिलाउने व्यवस्था भने ब्रोकर र ग्राहकबीच मिल्नुपर्छ । ग्राहकसँग राम्रो चिनजान छ भनेर ब्रोकरहरूले उधारोमा समेत सेयर किनिदिने अहिलेको परिपाटीले नै समस्या निम्तिएको हो । यही कारण नयाँ र साना लगानीकर्ता पनि समयमै रकम नपाउने समस्याबाट पीडित छन् ।