Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २५ शनिबार १८:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजी तथा गैरसरकारी अस्पतालले बनाए गर्भवतीको बिचल्ली, परोपकार बन्यो सारथि

Read Time : > 2 मिनेट
२०७७ पौष २५ शनिबार १८:००:००

राति १२ बजे सुत्केरी बेथा लागेपछि काठमाडौंको हात्तीगौँडाकी ३४ वर्षीया दिलु घिमिरेलाई २२ असोज राति नै परिवारजनले थापाथलीस्थित नर्भिक अस्पताल पु¥याए । ३४ हप्ताकी गर्भवती दिलुलाई केही जटिलता देखियो कि भनेर आत्तिँदै नर्भिक पुर्‍याए, तर चिकित्सकले हेरेनन् । 

यसअघि नर्भिक नै जाने उनलाई त्यहाँ कार्यरत डा. नूतन शर्माले नियमित हेर्दै आएकी थिइन् । राति आठ घन्टा कुर्दा पनि कुनै चिकित्सक नआएको उनकी बहिनी तुलसा घिमिरे बताउँछिन् । दिलुलाई नियमित हेर्दै आएकी डा. शर्माले फोनमा भनेकी थिइन्, ‘तुरुन्तै अस्पताल ल्याएर भर्ना गर्नू, म अस्पतालमा भनेर व्यवस्थापन गर्छु र भोलि अप्रेसन गर्छु ।’ त्यसबीचमा नर्भिकले निकै महँगा परीक्षण गराइसकेको थियो । 

दिलुलाई समस्या बढ्दै जाँदा पनि चिकित्सक नआएपछि परिवारजनले नजिकै रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लग्ने निर्णय गरे, तर नर्भिकले डिस्चार्ज दिन मानेन । ‘अस्पतालमा खटिएका सुरक्षागार्डले हामीलाई घेरा हाले,’ तुलसा भन्छिन्, ‘स्वास्थ्य मन्त्रालयमा फोन गर्छु भनेपछि मात्रै डिस्चार्ज दिए ।’ परोपकारमा पुर्‍याउनेबित्तिकै वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले शल्यक्रिया गरेर डेलिभरी गराए । 

काठमाडौंकै मूलपानीकी २४ वर्षीया अर्पणा न्यौपाने नियमित गर्भ जाँचका लागि वैशाखमा जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुगिन् । चिकित्सकले ४ मंसिरको डेलिभरी समय दिएका थिए । नियमित जाँचका लागि बोलाउने तथा विभिन्न परीक्षण गराउँदै आएको भए पनि चिकित्सकीय सल्लाह नपाएपछि उनी सिभिल सर्भिस अस्पताल पुगिन् । त्यहाँ पनि पहिलोपटक स्वास्थ्य जाँच गरेका चिकित्सकले त्यसपछि सम्पर्कमा नभएको उनले बताइन् । 

बरु अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले नियमित जाँच भए पनि डेलिभरीको समयमा सेवा अवरुद्ध हुन सक्ने बताए । त्यसपछि भने उनी परोपकार अस्पताल पुगिन् । २ मंसिरमा उनको नर्मल डेलिभरी भयो । 

दिलु र अर्पणाजस्तै गत ११ चैतयता कोरोना भाइरसको महामारीका कारण सबैभन्दा धेरै समस्यामा परे, गर्भवती । त्यसअघि नियमित सेवा दिँदै आएका निजी तथा गैरसरकारी अस्पतालले थुप्रै गर्भवतीलाई अत्यावश्यक सेवा नदिएर बिचल्ली बनाए । यो अवधिमा नर्भिक, सिभिल, ब्लुक्रसलगायत ठूला अस्पतालले पनि गर्भवतीलाई बिचल्ली बनाएर रिफर गरेका छन् । महामारीका समयमा निजी अस्पतालले बिचल्ली बनाएकामध्ये ९८ जना गर्भवतीको परोपकार अस्पतालले उपचार गरेको छ । 

कोरोना संक्रमणको बहानामा अन्तिम समयमा उपचार सम्भव नहुने भन्दै अन्यन्त्र जान बाध्य बनाएका गर्भवतीलाई सेवा दिएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कोभिड संयोजक डा. कीर्तिपाल सुवेदी बताउँछन् । डेलिभरीको अन्तिम समयमा सेवा नदिएर अलपत्र पारेका ७० प्रतिशत गर्भवतीको उद्धार गरिएको डा. सुवेदी बताउँछन् । ‘कोभिड संक्रमित नहुँदासम्म सेवा दिएका छन्, संक्रमित भएको वा हुन सक्ने आशंका भएपछि हेर्न नसक्ने भन्दै पठाएको देखिन्छ,’ उनी भन्छन् । 

यो अवधिमा परोपकार अस्पतालले कोभिड संक्रमित गर्भवतीलाई पनि सेवा दिएको छ । अस्पतालको तथ्यांकअनुसार एक सय ४१ गर्भवतीले सेवा लिएका छन् । उनीहरूमध्ये ५४ जनाको शल्यक्रिया गरिएको छ भने ३९ जनाको सामान्य डेलिभरी भएको अस्पतालकी निर्देशक डा. संगीता मिश्रले बताइन् । त्यस्तै, ४८ जना कोरोना संक्रमित गर्भवतीले अन्य सेवा लिएका छन् । 

अहिले परोपकार अस्पतालमा दैनिक सयको हाराहारीमा डेलिभरी भइरहेका छन् । विगतमा दैनिक सरदर ६० जना डेलिभरी हुँदै आएको अस्पतालका चिकित्सक श्रीप्रसाद अधिकारी बताउँछन् । ‘निजी अस्पतालहरूले सेवा नदिएर परोपकार अस्पतालमा रिफर गरे । यदि उनीहरूले जस्तो परोपकार अस्पतालले पनि कोभिडको बहानामा गर्भवती नहेरेको भए कैयौँ आमाको ज्यान जाने थियो,’ अधिकारी भन्छन् । 

परोपकार अस्पतालले यस्तो समस्या आउन सक्ने आकलन गरेरै दुई सय बेडको आइसोलेसन वार्ड तयार पारेको थियो । निर्देशक डा. मिश्रका अनुसार कोभिडका लागि एउटा शल्यक्रिया कक्ष छुट्याइएको छ । त्यस्तै, ५० बेडको हाई डिपेन्डेन्सी सेवा सुरु गर्ने तयारी थालेको छ । 

परोपकारमा अहिले चार सय ८९ बेड रहेका छन् । ६० जना चिकित्सक र एक सय ७९ जना नर्सले सेवा दिइरहेका छन् । कोभिड व्यवस्थापन सिनियर चिकित्सकले सम्हालिरहेका छन् । अस्पतालले ०७७/७८ को चार महिनामा ४० हजार तीन सय ५४ जनालाई सेवा दिएको छ । अघिल्लो वर्षको यही अवधिमा ५५ हजार एक सय नौजनाले सेवा लिएका थिए ।