मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २३ बिहीबार १५:०२:००
Read Time : > 2 मिनेट
फिचर

अमेरिकी कंग्रेसमाथि भएको आक्रमणको विश्वका प्रमुख नेताहरूद्वारा भर्त्सना 

Read Time : > 2 मिनेट
२०७७ पौष २३ बिहीबार १५:०२:००

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले बुधबार क्यापिटल भवनभित्र प्रवेश गरी हिंसात्मक गतिविधि गरेको घटनाप्रति विश्वकै ध्यानाकर्षण भएको छ । भवनभित्र कंग्रेसको कारबाही चलिरहँदा समर्थकले उपद्रो मच्याएका थिए । विश्वका नेताहरूले यस घटनालाई अपमानजनक बताएका छन् । बेलायत, युएन, युरोपियन युनियन तथा फ्रान्सले यस घटनाको भर्त्सना गरेका छन् । 

युनाइटेड नेसन
युएनका जनरल सेक्रेटरी एन्टोनियो गुटेरेसले क्यापिटोल भवनभित्रको घटनाले ‘दुःखी’ बनाएको बताएका छन् । उनका प्रवक्ता स्टेफने डुजारिकका अनुसार युएनसचिव निकै दुःखी छन् । ‘यस किसिमको अवस्थामा राजनीतिकर्मीले आफ्ना समर्थकहरूलाई नियन्त्रणमा राख्न सक्नुपर्छ, समर्थकलाई हिंसात्मक गतिविधितिर प्रेरित गर्नुभन्दा धैर्यता सिकाउनुपर्छ,’ युएनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक नेताहरूले आफ्ना समर्थकलाई हिंसाबाट अलग राख्नुका साथै प्रजातान्त्रिक प्रक्रिया र कानुनी शासनको सम्मान गर्न जोड दिनुपर्छ ।’

बेलायत
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले वासिङ्टनमा भएको घटनालाई अपमानजनक बताएका छन् । उनले डेमोक्रेटका जो बाइडेनको राष्ट्रपति पदभार शान्तिपूर्वक हुनुपर्नेमा पनि जोड दिए । ‘अमेरिकी कंग्रेसको दृश्य अपमानजनक हो, बेलायत सधैँ विश्वव्यापी प्रजातन्त्रको पक्षमा उभिनेछ, शान्ति र व्यवस्थित शक्तिको स्थानान्तर हुनु आवश्यकता हो,’ प्रधानमन्त्री जोनसनले ट्विटरमा भनेका छन् । 

न्युजिल्यान्ड
न्युजिल्यान्डका परराष्ट्रमन्त्री नानिआ मुहाताले वासिङ्टन डिसीमा शान्ति कायम होस् भन्ने कामना गरेकी छिन् । हिंसाले लोकन्त्रमा स्थान लिन नसकिने उनको भनाइ छ । भन्छिन्, ‘लोकतन्त्र विफल पार्न हिंसाको कुनै स्थान छैन, हामी राजनीतिक प्रशासनको शान्तिमय संक्रमणको प्रतीक्षामा छाैँ, जुन प्रजातन्त्रको चिह्न हो ।’ 

अस्ट्रेलिया
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले वासिङ्टनको घटनालाई अत्यन्तै कष्टकर बताएका छन् । उनले भनेका छन्, ‘यो दृश्य निकै कष्टकर थियो, यसको जति विरोध वा भत्र्सना गरे पनि कम हुन्छ, अस्ट्रेलिया निर्वाचित प्रशासनलाई शान्तिमय रूपमा सत्ता हस्तान्तरणको प्रतीक्षामा छ ।’ उनले अमेरिकी जनता प्रजातन्त्रमाथि विश्वास राख्ने पनि बताए । ‘महान् अमेरिकी प्रजातान्त्रिक परम्परागत छन्,’ प्रधानमन्त्रीले आफ्नो ट्विटरमा पोस्ट गरेका छन् । 

फ्रान्स
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अमेरिकी कंग्रेसमा भएको हिंसात्मक कार्यलाई अमेरिकीहरूले नगरेको बताएका छन् । उनले भनेका छन्, ‘कंग्रेसमाथि भएको घटना अमेरिकनद्वारा होइन, अमेरिकनहरू प्रजातान्त्रिक शक्तिमा विश्वास राख्छन् ।’ राष्ट्रपतिले ट्विटरमा आफ्नो भनाइ राख्नुअघि फ्रान्सका विदेशमन्त्री जिन ड्रिआनले अमेरिकामाथि भएको हिंसा प्रजातन्त्रमाथि प्रहार भएको संज्ञा दिएका थिए । ‘म यस घटनाको निन्दा गर्छु, अमेरिकी जनताको इच्छा र मतदानको सम्मान गर्नुपर्छ,’ उनले भने । 

युरोपियन संघ (इयू)
युरोपेली काउन्सिलका अध्यक्ष चाल्स मिसेलले वासिङ्टनमा भएको घटनाले अच्चम्मित परेको बताएका छन् । उनी भन्छन्, ‘अमेरिकी कंग्रेसलाई प्रजातन्त्रको मन्दिर मानिएको छ, हामी चाहन्छौँ शान्तिमय रूपमा सत्ता हतान्तरण हुनुपर्छ ।’ युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डरलेनले अमेरिकी संस्था प्रजातन्त्रको शक्तिलाई जोड दिएकी छिन् । उनले अमेरिकामा जो बाइडेनलाई अर्को राष्ट्रपतिका रूपमा आफूहरूले हेरेको बताइन् । 

जर्मनी
जर्मनीका विदेशमन्त्री हेको मासले क्यापिटोल भवनमा भएको हिंसात्मक दृश्यलाई प्रजातान्त्रको दुस्मन भनेका छन् । उनले ट्रम्प समर्थकलाई निर्वाचनको परिणाम स्वीकार गर्न आग्रह गरेका छन् । ‘यो हिंसा सुनियोजित हो,’ उनले भने, ‘अमेरिकी भोटर्सको मान–सम्मान हुनुपर्छ, सबैले प्रजातन्त्रमा विश्वास राख्नुपर्छ ।’ 

भेनेजुएला
यसैगरी, दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाका परराष्ट्रमन्त्री जोर्गे अरियाजाले घटनाप्रति चासो देखाएका छन् । ‘भेनेजुएलाले अमेरिकाको वासिङ्टन सहरमा भएका हिंसात्मक गतिविधिप्रति चासो राखेको छ,’ उनले ट्विटरमा भने, ‘यस किसिमको घटनाको घोर निन्दा गर्छु, अमेरिकी जनताले स्थायित्व र सामाजिक न्यायको दिशामा नयाँ बाटो खोल्नेछन् ।’

टर्की
टर्कीका विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी जनतालाई शान्ति र संयम कायम राख्न आग्रह गरेको छ । ‘हामी अमेरिकामा चिन्ताजनक घटनाक्रमको अनुगमन गरिरहेका छौँ, क्यापिटोल भवनमा हिंसा मच्याउने व्यक्तिमाथि कारबाही हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी यसमा विश्वास राख्छौँ अमेरिकामा चाँडै शान्ति कायम हुनेछ ।’

नाटो
नाटोका प्रमुख जेन्स स्टोल्टनवर्गले गत वर्षको नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनको सबैले सम्मानपूर्वक नतिजा आत्मसात् गर्न आग्रह गरेका छन् । ‘वासिङ्टन डिसीको दृश्य स्तब्ध पार्ने किसिमको थियो, यस प्रतान्त्रिक चुनावको परिणाम सबैले सम्मान गर्नुपर्छ,’ जेन्सले ट्विटरमा भनेका छन् । 

क्यानडा
क्यानडाका प्रधानमन्त्री जस्टिनले हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन् । ‘क्यानडा यस घटनाप्रति चिन्तित छ, मलाई लाग्छ अमेरिकी प्रजातान्त्रिक संस्थाहरू कडा छन् र सबै सामान्य जीवनमा फर्कनेछन्’ उनले भने । 
–एजेन्सीहरूको सहयोगमा