१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ पौष २० सोमबार १४:१०:००
Read Time : > 1 मिनेट
फिचर

दक्षिण कोरियाका लागि खतराको सूचक : जन्मदरभन्दा मृत्युदर धेरै

Read Time : > 1 मिनेट
२०७७ पौष २० सोमबार १४:१०:००

सन् २०२० मा दक्षिण कोरियामा जन्मनेभन्दा मृत्यु हुनेको संख्या धेरै देखिएको छ । दक्षिण कोरिया यसै पनि संसारमै कम जन्मदर भएका देशमध्ये एक हो त्यसमाथि पनि जन्मनेभन्दा मृत्यु हुनेको संख्या बढेको तथ्यांक सार्वजनिक भएपछि सरकारमा चिन्ता थपिएको छ । 

दक्षिण कोरियामा सन् २०२० मा जम्मा दुई लाख ७५ हजार आठ सय शिशु जन्मिएका छन् । सन् २०१९ को तुलनामा यो संख्या १० प्रतिशतले कम हो । तर, सन् २०२० मै दक्षिण कोरियामा तीन लाख सात हजार सात सय ६४ जनाको मृत्यु भएको थियो । 

यो तथ्यांकअनुसार दक्षिण कोरियाले अंगीकार गर्दै आएको नीतिप्रति पुनः समीक्षा गर्नुपर्ने विज्ञहरूको भनाइ छ । निरन्तर जनसंख्या घटिरहेका कारण सरकारले पनि दबाब महसुस गरिरहेको छ । बढ्दो उमेरका व्यक्तिको स्वास्थ्य उपचार, पेन्सनमा नै राजस्वको अधिकांश अंश खर्च गर्नुपर्ने दबाब सरकारलाई छ । त्यहीमाथि युवाहरूको संख्या कम हुँदा जनशक्ति अभावको अवस्थासमेत सिर्जना हुन थालेको छ । यी दुवै कारणले देशको अर्थतन्त्रमा सीधा असर गरिरहेको छ । 

जन्मदर बढाउने अभियान

अघिल्लो महिना दक्षिण कोरियाका राष्ट्रपति मुन जेईले कम जन्मदरको समस्या समाधान गर्न केही नयाँ नीति सार्वजनिक गरेका थिए । जहाँ परिवारलाई नगद रकम हस्तान्तरण गर्नेदेखि अन्य धेरै सुविधा छन् । 

यस योजनाअनुसार सन् २०२२ मा जन्मने शिशुका मातापितालाई २० लाख वान (दक्षिण कोरियाली पैसा) दिइनेछ । साथै एक वर्षसम्म हरेक महिना तीन लाख वान दिइनेछ । सन् २०२५ देखि यो रकम बढाएर पाँच लाख पु¥याउने घोषणा गरिएको छ । 

यसकारण जन्मदरमा कमी
दक्षिण कोरियाका धेरैजसो महिला घरबाहिरको काम र जीवनका अन्य आकांक्षा पूरा गर्न तल्लीन रहन्छन् । हुन उ किम पनि यस्तै एक महिला हुन् । चार भाइबहिनीमध्ये उनी सबैभन्दा जेठी हुन् । सुरुसुरुमा उनी आफ्नो परिवार ठूलो बनाउने कल्पना गर्थिन् । तर, दक्षिण कोरियामा पारिवारिक व्यवस्थापन गर्न गाह्रो हुन थालेपछि उनले त्यो कल्पनालाई पुनः सोच्ने बताएकी छिन् । 

उनले हालै मात्रै नयाँ स्थानमा जागिर खान थालेकी छिन् । भर्खरै सुरु गरेको जागिरमा गर्भवती र सुत्केरी भएपछि बिदा पाइने हो या नपाइने हो भन्ने उनमा चिन्ता छ । उनले बिबिसीसँग भनिन्, ‘सबै मानिस पहिला आफ्नो करिअर बनाउनुपर्छ भन्छन् । यसकारण म पनि करिअरप्रति नै ध्यान दिने योजनामा छु ।’ 

यस्तै दक्षिण कोरियामा बढ्दो घरजग्गाको मूल्यवृद्धिका कारण पनि जन्मदर घटिरहेको छ । यस्तो अवस्थामा युवायुवती दम्पती बनेर परिवार बसाउनेबारे सोच्नै सकिरहेका छैनन् । उनले भनिन््, ‘बालबालिका हुर्काउन आफ्नै घर निकै आवश्यक हुन्छ । तर, अब दक्षिण कोरियामा यो असम्भवजस्तै भइसकेको छ ।’ उनले सरकारले दम्पतीलाई दिन भनेको रकमप्रति पनि सन्तुष्टि जनाइनन् । उनले भनिन्, ‘बालबालिका हुर्काउनु निकै खर्चिलो काम हो । सरकारले दिएको यो रकमले खासै केही अर्थ राख्दैन ।’ –बिबिसी