१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नवराज मैनाली काठमाडौंं
२o८१ जेठ १ मंगलबार १८:oo:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नक्कली बिहे गर्दै चीनमा नेपाली युवतीको तस्करी : चीन पुऱ्याएर बन्धक बनाई बच्चा जन्माउन बाध्य बनाइन्छ

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडौंं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:oo:oo

रोजगारीको प्रलोभन दिँदै म्यारिज भिसामा चीन पुऱ्याइएकी एक २० वर्षीया युवती १० महिना लामो नारकीय जीवन बिताएर गत १२ कात्तिकमा स्वदेश फर्किइन् । चिनियाँ युवकसँग बिहे गराएर सोलुखुम्बुकी उनलाई २५ पुस ०७६ मा चीन पुऱ्याइएको थियो ।

युवतीले प्रहरीलाई दिएको बयानअनुसार चीनको सान्दोङ प्रान्तमा पुऱ्याएपछि उनीसँग नेपालमा विवाह गरेका युवक सम्पर्कविहीन भए । उनलाई ग्रामीण क्षेत्रको एक घरमा लगेर बन्धक बनाइयो । ताम्पु थोङ नामक चिनियाँको घरमा राखेर अन्य पुरुषसँग जबर्जस्ती शारीरिक सम्पर्क राख्न लगाई गर्भवती बन्न बाध्य बनाइएको उनको बयानमा उल्लेख छ ।

उनी बसेको घरमा अन्य नेपाली युवतीलाई समेत त्यसैगरी बच्चा जन्माउनका लागि बन्धक बनाई राखिएको ती युवतीबाट खुलेको छ । नेपालबाट चीन उडाउनुअघि उनलाई ब्युटीपार्लरमा जागिर लगाइने आश्वासन दिइएको थियो ।

ती युवती स्वदेश फर्केपछि चीनमा बच्चा जन्माउनकै लागि नेपाली युवतीहरूको तस्करी भइरहेको नयाँ तथ्य खुलेको हो । उनलाई चीन पु¥याउन संलग्न रहेको आरोपमा काभ्रेका किरण तामाङलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख एसएसपी डा. देवबहादुर बोहराले जानकारी दिए ।

‘नेपालबाट उनलाई चिनियाँ नागरिकसँग बिहे गरेर लगिएको देखिन्छ,’ एसएसपी बोहराले भने, ‘उता लगेर यौनशोषणदेखि बच्चा जन्माउनकै लागि प्रयोग गरिएको अनुसन्धानमा देखिन्छ । विस्तृत अनुसन्धान सुरु भएको छ ।’

चीनमा गर्भवती भएकी पीडित युवतीको ‘मिसक्यारिज’ भएको थियो । त्यहाँ पुगेका अन्य धेरै महिलाले बच्चा जन्माएको उनले प्रहरीलाई जानकारी दिएकी छन् ।

‘मलाई राखिएकै घरमा अरू नेपाली महिलाहरू पनि छन्, उनीहरूलाई पनि त्यसैगरी बच्चा जन्माउन बाध्य बनाइएको छ,’ पीडित युवतीले प्रहरीसँग भनेकी छिन् । हाल थुनामा रहेकी मीना लामाको समूहले उनलाई चीन पु¥याएको थियो । उक्त समूहले मात्र दुई सयजनाभन्दा बढी नेपाली युवतीलाई बिहे गरेर चीन पठाई बच्चा जन्माउन प्रयोग गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । मानव बेचबिखन मुद्दामा फरार रहेकी लामा र उनका पति श्यामकुमार लामालाई इन्टरपोलको सहयोगमा कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।

साथीको पहलमा उद्धार
आफूलाई गाउँको घरमा बन्धक बनाई गर्भधारण गर्न बाध्य बनाइएपछि ती युवतीले नेपालमा रहेकी एक साथीलाई वी च्याटमार्फत सम्पर्क गरेकी थिइन् । तिनै साथीमार्फत शक्ति समूह, नेपाल प्रहरी हुँदै बेइजिङस्थित नेपाली दूतावाससम्म जानकारी गराइएको थियो । दूतावासको पहलमा चीनको प्रहरीले उनलाई उद्धार गरी स्वदेश फर्काएको हो । उनी १२ कात्तिकमा काठमाडौं उत्रेकी हुन् ।

पीडित युवतीले बताएअनुसार कतिपय नेपाली महिला बाध्यतावश त्यहीँ बसेका छन् । केहीले २÷३ वटासम्म बच्चा जन्माइसकेका छन् । ‘एउटा बच्चा जन्माएपछि जागिरमा लगाइदिने प्रलोभन दिइन्छ,’ ती युवतीले प्रहरीलाई भनेकी छन्, ‘नेपाल फर्किँदा आफ्नो गोपनीयता रहँदैन भनेर पनि केही दिदीहरू उतै बसेका छन् ।’

चीनमा पुरुषको तुलनामा महिलाको संख्या कम भएकाले बच्चा जन्माउनकै लागि नेपालबाट युवतीहरूको तस्करी भएको हुन सक्ने शक्ति समूहका अधिवक्ता दिलीप कोइराला बताउँछन् ।

भाडामा कोख अर्थात् ‘सरोगेसी’ पनि एक किमिसको मानव तस्करी नै भएको प्रहरी अधिकारीहरू बताउँछन् । खासमा, सरोगेसीका लागि महिलाको कोख मात्र प्रयोग हुने विश्वव्यापी ट्रेन्ड छ । तर, चीन पु¥याइएका नेपाली युवतीहरूलाई जबर्जस्ती शारीरिक सम्पर्क राख्न बाध्य बनाइने गरेको छ ।

नेपालबाट चीनमा बिहेको नाममा युवतीको तस्करी भइरहेको ०७१ सालमै खुलेको थियो । त्यतिवेला केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंका केही म्यारिज ब्युरोका सञ्चालकलाई पक्राउ पनि गरेको थियो ।

यस्तै, भदौ ०७६ मा मानव बेचबिखन अनुसन्धान ब्युरोले चार चिनियाँसहित १० जनाको गिरोहलाई पक्राउ गरेको थियो । त्यतिवेला बिहे गरेर चीन पुगेका चार युवतीको उद्धार गरिएको थियो । त्यस घटनाको अनुसन्धानका क्रममा एक युवतीलाई चीन पु¥याउँदा १० लाख रुपैयाँसम्म लिने गरेको खुलेको छ । उक्त गिरोह पक्राउ परेयता पनि चीनमा युवतीहरू तस्करी हुने क्रम नरोकिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बेहुला पनि भाडामा
चीनमा नेपाली युवती तस्करीका लागि भाडाका बेहुला प्रयोग हुने गरेको छानबिनमा खुलेको छ । नेपाली युवतीसँग बिहे गरेका युवक चीन पुगेपछि बेपत्ता हुन्छन् । चिनियाँ युवालाई आर्थिक प्रलोभनमा पारी नेपाल ल्याउने र बिहे गराएर चीन पु¥याई अन्य गतिविधिमा लगाउने गरिएको छ ।

अधिकांश घटनामा भाडाका बेहुला नै प्रयोग हुने गरेको अधिवक्ता कोइराला बताउँछन् । विगतमा बिहे गरेर चीन पु¥याइएका युवतीलाई युवककै घरमा राखी यौन र श्रम शोषण हुन्थ्यो । पछिल्लो समय बच्चा जन्माउनका लागि मात्र लैजान थालिएको नयाँ तथ्य सामुन्ने आएको छ । नेपाल मात्र नभई पाकिस्तान, म्यानमार, बंगलादेश र भुटानबाट पनि नक्कली बिहे गरी युवतीहरूलाई चीन पु¥याइने गरेको छ ।

अदालतमा सहजै विवाह दर्ता
चीनमा नेपाली महिलाको तस्करी भइरहँदा अदालतमा समेत सहजै विवाह दर्ता हुने गरेको खुलेको छ । अदालतले सहजै विवाद दर्ता गरिदिएका कारण गिरोहलाई युवतीको तस्करी गर्न सहज भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् ।

गत कात्तिकमा स्वदेश फर्किएकी ती युवतीले आफूलाई अदालतमा सामान्य सोधपुछसमेत नगरिएको बयान प्रहरीलाई दिएकी छन् । अदालतमा विवाह दर्ताका लागि नेपाली युवकको हकमा सम्बन्धित स्थानीय तहबाट अविवाहित रहेको सिफारिस अनिवार्य गरिएको छ । विदेशीको हकमा भने यस्तो सिफारिससमेत अदालतले माग्ने गरेको छैन । ‘यदि स्थानीय तहको सिफारिस अनिवार्य गरियो भने धेरै हदसम्म यस्तो धन्दा रोकिन्छ,’ एक प्रहरी अधिकारी भन्छन् ।

चीनमा नेपालबाहेक अन्य छिमेकी मुलुकबाट समेत बिहे गरेर ल्याउने गरिएको र कतिपयलाई प्रलोभनमा पारेर विवाह गर्ने प्रवृत्ति देखिएको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्साल बताउँछन् । ‘प्रलोभनमा पारी बिहे गरेर आएकाहरू समस्यामा परेका छन्, कतिपयको उद्धार गरेर हामीले नेपाल पठाएका छौँ,’ उनी भन्छन्, ‘साँच्चिकै बिहे हो कि अन्य कुनै कारणले युवतीहरूलाई चीन लैजान खोजिएको हो भनेर हाम्रो अध्यागमनले विशेष ध्यान दिनु जरुरी     छ ।’

म्यारिज भिसामा चीन आउनेमाथि अध्यागमनले कडाइ गरेमा यस्तो समस्या धेरै हदसम्म न्यूनीकरण हुने उनको भनाइ   छ । लम्सालका अनुसार विगतमा यसरी बिहे गरेर चीन पुग्ने युवती धेरै थिए । ‘एक वर्षयता भने बिहे गरेर चीन आउनेहरू छैनन्,’ लम्साल भन्छन् ।

ad
ad