मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १६ बिहीबार २०:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटन निरंकुशतावादी तथा फासीवादी कदम : वैद्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १६ बिहीबार २०:०७:००

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संसद् विघटनलाई ‘निरंकुशतावादी तथा फासीवादी कदम’ भनेको छ । महासचिव किरणले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद् विघटनको यो कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा संकटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको द्योतक तथा परिणाम हो । साथै, यो गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताकै विरुद्ध परिलक्षित निरंकुशतावादी तथा फासीवादी कदम पनि हो ।’

यसैगरी, विज्ञप्तिमा संकटको निकास मध्यावधि निर्वाचनले हुन नसक्ने उल्लेख छ । ‘वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामाथि पैदा भएको यसप्रकारको संकटको निकास मध्यावधि निर्वाचनद्वारा हुनै सक्दैन । यस संकटको वास्तविक निकास वर्तमान राज्यसत्ता तथा व्यवस्थाको अन्त्य, संघीय जनगणतान्त्रिक व्यवस्था एवं सरकारको स्थापना र वैज्ञानिक समाजवादद्वारा नै हुन सक्छ,’ विज्ञप्तिमा छ । 

विज्ञप्तिमा देशमा आन्तरिक तथा बाह्य रूपमा विभिन्न प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूको चलखेल तीव्र रूपमा बढ्दै गएको उल्लेख छ । यसैगरी, देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, जनताका जनतान्त्रिक हकअधिकारको प्राप्ति र जनजीविकाको सुनिश्चितताको प्रश्नमा गम्भीर खतरा उत्पन्न भएको पनि विज्ञप्तिमा छ । यस स्थितिमा वर्तमान संकटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याको समाधानका निम्ति संघीय जनगणतन्त्रको स्थापनार्थ सशक्त तथा प्रभावकारी ढंगले संघर्षमा उत्रन आह्वान गरिएको छ ।