१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
चिनियाँ पक्षले रसुवागढी मितेरी पुलसम्म ल्याइदिएको सामान लोड गर्दै नेपाली कामदार । फाइल तस्बिर
कृष्ण रिजाल काठमाडौं
२o८१ जेठ २ बुधबार o९:५६:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चीनसँगको पारवहन सम्झौता चार वर्ष बित्यो, तर अझै कार्यान्वयन भएन

कोरोनाको बाहनामा उल्टै चीनले एक वर्षदेखि नाका बन्द गर्‍यो

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:५६:oo

प्रधानमन्त्री ओलीले चीनसँगको पारवहन सन्धि समुद्रसँग नेपालको पहुँचमा भारतमाथिको निर्भरता समाप्त भएको भन्दै ठूलो सफलताका रूपमा प्रस्तुत गरिरहेका छन्, तर हालसम्म चीनतर्फबाट समुद्री पहुँच त टाढाको कुरा, एक वर्षदेखि रसुवागढी र तातोपानी नाका पनि सहज रूपमा खोलेको छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा चैत ०७२ मा चीनसँग गरेको व्यापार तथा पारवहन सन्धिलाई आफ्नो मुख्य उपलब्धिको सूचीमा राख्दै आएका छन् । हरेकजसो सार्वजनिक मञ्चमा चीनसँग आफूले गरेको पारवहन सन्धिले नेपाललाई समुद्रसँगको वैकल्पिक पहुँच दिएको उनी गर्वका साथ बताउँछन् । तर, सम्झौता भएको चार वर्ष बितिसक्दासमेत पारवहन सन्धि अझै कार्यान्वयनमा आउन सकेको छैन । 

चैत २०७२ मा प्रधानमन्त्री ओलीको चीन भ्रमणको अवसरमा नेपाल र भारतबीच पारवहन सन्धिको सम्झौता भएको थियो । त्यसको तीन वर्षपछि वैशाख ०७६ मा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर भयो । तर, प्रोटोकलमा हस्ताक्षर भएको डेढ वर्ष बितिसक्दासमेत सन्धि कार्यान्वयनमा आउन सकेको छैन ।

प्रोटोकलमा उल्लेख भएअनुसार नेपाली व्यवसायीले थप नाका र सुक्खा बन्दरगाह उपयोग गर्न पाउनुपर्ने हो । चीनको समुद्री बन्दरगाह हुँदै तेस्रो मुलुकसँग व्यापारसमेत गर्न पाउनुपर्ने हो । तर, अहिले भएकै नाकासमेत उपयोग गर्न पाएका छैनन् । 

चीनसँग भएको पारवहन सन्धि र त्यसको प्रोटोकलमा भएको हस्ताक्षरपछि नेपालले समुद्रसँगको पहुँचका लागि भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यताको विकल्प पाएको थियो । तर, उक्त विकल्पको प्रयोग भने हुन सकेको छैन । चीनतर्फको पारवहन सन्धिले दिएको सुविधाको उपयोग त परेको कुरा, विद्यमान सम्झौताअनुसारको नाकासमेत प्रयोग गर्न नसकिएको एक व्यवसायीले बताए । पछिल्लो एक वर्षदेखि चीनतर्फको नाका आंशिक र एकतर्फी रूपमा मात्रै चलेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले कोभिडले निम्त्याएको परिस्थितिका कारण चीनसँगको पारवहन सन्धि कार्यान्वयनमा आउन नसकेको बताए । ‘सन्धि भनेको आजको भोलि नै कार्यान्वयनमा आउने होइन,’ द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुखसमेत रहेका दाहालले भने, ‘प्रोटोकलमा हस्ताक्षर भइसकेको छ, त्यसअनुसार दुवै मुलुकमा संयन्त्र बनिरहेको छ, कोभिडको अवस्था सामान्य भएपछि सन्धि कार्यान्वयनमा आउँछ ।’
चीनले ‘जिरो कोभिड पोलिसी’ लिएका कारण चीनतर्फका दुवै नाका आंशिक र एकतर्फी मात्रै चलिरहेको दाहालले बताए । यद्यपि, नेपालले नाका दुईतर्फी सञ्चालनका लागि विशेष पहल गरिरहेको उनले बताए । 

 दुई देशीय मार्गप्रति नकारात्मक टीका–टिप्पणी 
यसअघि नेपाल–चीन उद्योग वाणिज्य संघले गत २० कात्तिकमा विज्ञप्ति जारी गर्दै तातोपानी र केरुङ नाका लामो समयदेखि आंशिक रूपमा सुचारु हुने र रोकिने अवस्थाबाट गुज्रिरहँदा व्यवसायीहरू नराम्ररी प्रभावित हुनुका साथै दुई देशबीचको सम्बन्धमै टीका–टिप्पणी हुन थालेको औँल्याएको थियो ।

‘व्यवसायीले दुई देशबीच सडकमार्गबाट हुने व्यापारप्रति नकारात्मक टिप्पणी गर्न थालेका छन्, दुई देशबीच विद्यमान सदीयौँ पुरानो सुमधुर व्यापारिक सम्बन्धप्रति नकारात्मक टिप्पणी आउनु तथा आन्दोलित हुने वातावरण कदापि आउन दिनहुँदैन,’ संघले उल्लेख गरेको थियो, ‘द्विपक्षीय वार्तामार्फत समस्याको स्थायी समाधानका लागि सम्बन्धित निकायमार्फत यथाशक्य छिटो पहलका लागि संघ विशेष अनुरोध गर्दछ ।’

दसैँअगाडि नै नाका पूर्ण रूपमा सुचारु हुने भनिए तापनि चिनियाँ पक्षले रसुवा र तातोपानी नाकाबाट दैनिक २–४ वटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमति दिने गरेको हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए । चीनले कोभिडका कारण एकतर्फी रूपमा मात्रै नाका सञ्चालन गरेका कारण निर्यात हुन नसकेको उनले जानकारी दिए । व्यवसायीहरूले नाका दुईतर्फी सञ्चालन हुनुपर्ने, निर्यात पनि खुला गरिनुपर्ने माग राखे पनि पूरा नभएको उनले बताए ।

 पाँच महिनामै ७७ अर्बको व्यापार घाटा 
नाका एकतर्फी रूपमा मात्रै सञ्चालन हुँदा चीनसँगको नेपालको व्यापार घाटा चुलिएको छ । पछिल्ला पाँच महिनामा नेपालले चीनसँग कुल १ खर्ब १६ अर्ब १६ करोडको व्यापार गरेको छ । चीनबाट नेपालले ७७ अर्ब ४६ करोड रुपैयाँको सामग्री आयात गरेको छ । नेपालले भने ३८ करोड ७० लाख रुपैयाँबराबरको मात्रै निर्यात गर्न सकेको छ ।

उत्तरी छिमेकीसँगको व्यापारमा नेपालले ७७ अर्ब ७ करोडको नोक्सान व्यहोरेको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७६/७७ मा नेपालमा चीनबाट कुल १ खर्ब ८१ अर्ब ९२ करोड रुपैयाँबराबरको सामग्री आयात गर्दा १ अर्ब १९ करोड ११ लाख रुपैयाँबराबरको निर्यात गरेको छ । यस अवधिमा नेपालले कुल १ खर्ब ८० करोड ७२ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । 

भूकम्पपछि १५ जेठ २०७६ मा नाका खुल्दा उद्घाटन कार्यक्रममा खासाबाट ऊन बोकेर तातोपानी आउँदै गरेको कन्टेनर, तर यो नाका पनि नियमित सञ्चालनमा छैन । फाइल तस्बिर

आयात न्यून, निर्यात शून्य
पछिल्ला पाँच महिनायता नेपालमा चिनियाँ नाका हुँदै झन्डै ६ अर्ब रुपैयाँबराबरका सामग्री भित्रिए । तर, नेपाली वस्तुले निर्यातका लागि चिनियाँ मार्ग उपयोग गर्न पाएनन् । यो पाँच महिनामा चिनियाँ नाका हुँदै चीन र विश्व बजारमा नेपालले १ रुपैयाँको पनि निर्यात गर्न सकेन । 

चीनले अघोषित रूपमा एकतर्फी नाकाबन्दी गरेपछि चिनियाँ नाका हुँदै चीन र विश्व बजारमा निर्यात गर्नबाट नेपाल वञ्चित भएको छ । सञ्चालनमा रहेका उत्तरतर्फका दुई नाका रसुवा र तातोपानीबाट आयात भने भइरहेको छ । चीनले अघोषित रूपमा एकतर्फी नाकाबन्दी गरेको झन्डै एक वर्ष पुग्न लागिसकेको छ ।

कोभिड सुरु भएपछि माघ ०७६ देखि नेपाल–चीन व्यापार प्रभावित भयो । लकडाउन भएपछि व्यापार ठप्प नै भयो । लकडाउनकै बीच नेपाल–चीनबीचको नाका व्यापारिक प्रयोजनका लागि खोल्ने निर्णय भयो । तर, चीनले नाका एकतर्फी मात्रै खोल्यो । नेपाली व्यवसायी तथा मजदुरलाई मात्रै होइन, नेपाली कन्टेनर र मालवस्तुलाई पनि चीनले प्रवेश दिएन ।  

चालू आर्थिक वर्षको पाँच महिना (मंसिर मसान्त)सम्ममा रसुवा नाका हुँदै नेपालमा ५ अर्ब १३ करोड ७९ लाख रुपैयाँबराबरको सामग्री भित्रिएको छ । त्यस्तै, तातोपानी नाका हुँदै ७९ करोड ७६ लाख रुपैयाँबराबरको सामग्री भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्षको माघसम्ममा रसुवा नाका हुँदै नेपालले ५८ करोड २३ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यसयता रसुवाबाट हुने निर्यात शून्य छ । त्यस्तै, गत आवको कात्तिकसम्ममा तातोपानी नाकाबाट नेपालले १३ करोड ७६ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यसपछि तातोपानी नाकाबाट समेत निर्यात शून्य रहेको भन्सार विभागको तथ्यांक छ । 

ad
ad