मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ९ बिहीबार १८:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

किन बल्खु पुगे प्रचण्ड, नेपाल र खनाल ? (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ९ बिहीबार १८:५७:००

प्रचण्ड–नेपाल समूहका शीर्ष तीन नेता बल्खुस्थित पार्टी कार्यालय पुगेर कम्युनिस्ट एकताको सन्देश दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय कमिटी बैठक सकिएलगत्तै बल्खु पुगी मदन भण्डारीको सालिकमा माल्यार्पण गरेर कम्युनिस्ट एकताप्रति प्रतिबद्धता जनाएका हुन् ।  

केन्द्रीय समिति बैठकबाट वर्तमान अवस्थामा कम्युनिस्ट एकताको ऐतिहासिक आवश्यकता रहेको ठहर गरेका नेताहरू सच्चा कम्युनिस्टहरूको एकता आवश्यक छ भन्ने सन्देश दिन बल्खु पुगेको प्रतिक्रिया दिएका छन् । उनीहरूले आफूहरू नै वास्तविक नेकपा भएको भन्दै सबै कमी–कमजोरी सच्याएर एकताबद्ध हुन सबैलाई आह्वान गरेका छन् । 

अध्यक्ष प्रचण्डले लोकतन्त्र र गणतन्त्रविरुद्धको षड्यन्त्रको रूपमा असंवैधानिक तरिकाले संसद् विघटन गरिएकोले त्यसविरुद्ध कम्युनिस्ट एकता आवश्यक रहेको प्रतिक्रिया दिए । उनले अहिलेसम्म कम्युनिस्टहरूले प्राप्त गरेका उपलब्धिका विरुद्धको षड्यन्त्रको रूपमा संसद् विघटनलाई लिइएको भन्दै त्यसलाई सफल हुन नदिने संकल्प गरे । 

अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनतालाई प्रतिनिधिसभाको विघटनविरुद्धमा एकजुट हुन आग्रह गरे । प्रधानमन्त्री ओलीबाट राजाको निरंकुश कदम चालेको भन्दै त्यसको भर्त्सना गरे । उनले जग्गा खरिद, भवन निर्माण, केन्द्रीय कार्यालय बनाउने सवालमा आफ्नो भावना जोडिएको भन्दै नेकपाको मूलधार र मूल शक्ति आफूहरू नै भएको भन्दै गल्ती सच्याएर सबैलाई मूलधारमा जोडिन आह्वान गरे । 


वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली सच्चा कम्युनिस्ट नै नभएको टिप्पणी गरे ।  प्रधानमन्त्रीले पार्टीको विधि र विधान नमानेको र आन्तरिक मतभेदका नाममा संसद् विघटन गरेर अपराध गरेको उनको दाबी छ ।