मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ९ बिहीबार १८:१२:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सातवटै प्रदेश र जनसंगठनमा ओली नेकपाले तोक्यो इन्चार्ज (नामावलीसहित)

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ९ बिहीबार १८:१२:००

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले सातवटै प्रदेश र जनवर्गीय संगठनको इन्चार्ज तोकेको छ । बालुवाटारमा सम्पन्न ओली समूहको केन्द्रीय कमिटी बैठकले इन्चार्ज  तोकेको हो ।

सचिवालय सदस्य ईश्वर पोखरेलबाहेक अरू इन्चार्ज स्थायी कमिटीबाट तोकिएका छन् । 

प्रदेश १ः  सुवास नेम्वाङ

प्रदेश २ः  सत्यनारायण मण्डल

बागमतीः  ईश्वर पोखरेल

गण्डकीः पृथ्वीसुब्बा गुरुङ

लुम्बिनीः शंकर पोखरेल

कर्णालीः मणि थापा

सुदूरपश्चिमः लेखराज भट्ट

जनवर्गीय संगठनः टोपबहादुर रायमाझी

राजधानी उपत्यकाः कृष्णगोपाल श्रेष्ठ

यस्ता छन् ओली नेकपाको केन्द्रीय कमिटीका निर्णय
१. यो बैठक नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, जननेता मदन भण्डारी तथा  प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी, कमरेड तुलसीलाल अमात्य, कमरेड निर्मल लामा, अग्रणी महिला नेतृ कमरेड सहाना प्रधानलगायत कम्युनिस्ट आन्दोलनका सबै अग्रजहरूप्रति उच्च सम्मानभाव प्रकट गर्दछ । देश र जनताको हितका लागि शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सहभागी हुने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सबै ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ तथा उहाँहरूको आदर्शलाई सधैँभरि दृढतासाथ अनुशरण गरिरहने संकल्प गर्दछ ।

२. यो बैठक केन्द्रीय कमिटीको दोस्रो बैठकपछि दिवंगत हुनुभएका केन्द्रीय सदस्य कमरेड कमानसिंह लामा, केन्द्रीय अनुशासन आयोगका सदस्य कमरेड वीरबहादुर ठगुन्ना, गुल्मी जिल्ला कमिटीका पूर्वअध्यक्ष एवं लुम्बिनी प्रदेश कमिटी सदस्य कमरेड बोमबहादुर खड्का, प्रतिनिधिसभा सदस्य माननीय सानु शिवा पहाडी, दाङ जिल्ला कमिटीका संस्थापक सदस्य माणिकलाल गौतम, संविधानसभा सदस्य कमरेड मानपुर चौधरी, १ नं. प्रदेश  कमिटी सदस्य हंश राजवंशी, नेकपा सर्लाहीका नेता कमरेड ध्रुव गौतम, भारत प्रवास समन्वय कमिटीका सदस्य वसन्त अधिकारीलगायत कमरेडहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

३. यो बैठक सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा यही ०७७ साल पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णयलाई पार्टीका केही नेताहरूबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षड्यन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको बाध्यात्मक कदमका रूपमा ग्रहण गर्दछ । जननिर्वाचित सरकारलाई कामै गर्न नदिने, मुलुकको नेतृत्व गर्न प्राप्त ऐतिहासिक अवसरलाई आत्मसात् नै गर्न नचाहने र अवसरवादी एवं स्वार्थकेन्द्रित गठबन्धनका बलमा मुलुकलाई अगाडि बढ्नै नदिने क्रियाकलापहरू लोकतन्त्रको मूल्यमान्यताविपरीत, जनआकांक्षाविपरीत तथा मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने केही नेताहरूको क्रियाकलापहरूकै कारण यो स्थिति उत्पन्न भएको ठहर गर्दछ । नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको कुरा स्पष्ट गरेको छ । त्यसैले सदनमा बहुमत प्राप्त दलबाट सर्वसम्मत रूपमा निर्वाचित दलको नेता र त्यसै हैसियतमा निर्वाचित प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयहरूको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको ठहर गर्दछ ।

४. ०७५ साल जेठ ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एकीकृत भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी र अन्य नेतृत्वदायी कमिटीहरूको मूल दायित्व दुई वर्षभित्र एकता महाधिवेशन सम्पन्न गरी निर्वाचित कमिटीलाई नेतृत्व हस्तान्तरण गर्नु थियो । तर, केही नेताहरूका पदीय आकांक्षा र स्वार्थकेन्द्रित गतिविधिका कारण कमिटीहरूले उक्त दायित्व पूरा गर्न नसकेको पृष्ठभूमिमा पार्टीका प्रथम अध्यक्षको हैसियतले केन्द्रीय कमिटी विस्तार गरी पार्टीमा नयाँ गति र जीवन दिन गर्नुभएको कमिटी विस्तारलाई यो बैठक अनुमोदन गर्दछ । नवनियुक्त सबै कमरेडहरूलाई बधाई ज्ञापन गर्दै आफ्नो काँधमा आएको दायित्व पूरा गर्न सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछ । साथै केन्द्रीय कमिटीका सबै पदाधिकारी एवं सदस्य कमरेडहरूलाई कुनै पनि अन्याेल  र भ्रममा नपरी, कुनै पनि विभाजनकारी गतिविधिबाट टाढा रही एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दछ ।

५. यो बैठक प्रतिनिधिसभा विघटन भई आगामी ०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा भइसकेको र मुलुक निर्वाचनउन्मुख भइसकेको परिप्रेक्ष्यमा सबै मातहत कमिटीहरू, जनवर्गीय र सरोकार संगठनहरू, पार्टी सदस्यहरू, जनप्रतिनिधिहरू एवं सम्पूर्ण पार्टीपंक्तिलाई एकढिक्का भएर निर्वाचनको तयारीको मुख्य एजेन्डामा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गर्दछ ।

६. यो बैठक करिब तीन वर्षको अवधिमा दूरगामी महत्वका विकास कार्य, रणनीतिक पूर्वाधारहरूको निर्माण, सामाजिक न्याय र सुरक्षाको विस्तार, संविधान एवं संघीयताको कार्यान्वयन, राष्ट्रियताको  सुदृढीकरण एवं नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका क्षेत्रमा सरकारले गरेका महत्वपूर्ण कामहरूलाई उच्च मूल्यांकन गर्दछ । ती कार्यहरूलाई जनताबीच स्थापित गर्ने, सुरु भएका कामलाई सफल पार्ने र थप जनपक्षीय कार्यहरू गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक–आर्थिक रूपान्तरणको नायकका रूपमा स्थापित गर्ने संकल्प गर्दछ ।

७. यो बैठक हालै  सम्पन्न निर्वाचनमा नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदमा पुनः निर्वाचित भएकोमा खुसी तथा सन्तोष व्यक्त गर्दछ । त्यसै गरी संयुक्त राष्ट्र संघको महिलामाथि हुने विभेद उन्मूलनसम्बन्धी कमिटी (सिड कमिटी) मा नेपालका तर्फबाट प्रस्तुत उम्मेदवार दोस्रोपटक उच्च मतका साथ निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दछ ।

८.  यो बैठक कोभिड संक्रमणका कारण ज्यान गुमाउनुहुने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उपचार गराइरहनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । कोभिड– १९ को विश्वव्यापी महामारीबाट सिर्जित चुनौतीलाई सामना गर्ने सम्बन्धमा सरकारले चालिरहेका कदमहरूलाई समर्थन गर्दै कोभिड भ्याक्सिनको यथाशीघ्र आपूर्ति गर्न र सबै नेपालीलाई प्राथमिकताका आधारमा र निःशुल्क रूपमा खोप उपलब्ध हुने गराउन सरकारसँग आग्रह गर्दछ । कोभिड– १९ को महामारीबाट प्रभावित निजी र सार्वजनिक क्षेत्रलाई राहत र पुनर्स्थापनाका प्याकेजहरू उपलब्ध गराएर आर्थिक पुनरुत्थान गर्न, रोजगारी गुमाई फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन र महामारीका कारण जनतामा गरिबी र अभावको थप मार पर्न नदिन आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ । खोप उपलब्ध नहुँदासम्म स्वास्थ्य सुरक्षा मापदण्डको सबैले पालना गरी महामारीविरुद्धको यस लडाइँमा निर्णायक विजय हासिल गर्न सबैलाई आवश्यक सहयोगका लागि आह्वान गर्दछ ।

९. यो बैठक चिनी उद्योगसँग उखु बिक्री गरेबापत् प्राप्त गर्नुपर्ने बक्यौता रकम प्राप्त गर्न तराई–मधेसका विभिन्न जिल्लाबाट काठमाडौं आई शान्तिपूर्ण धर्नामा बस्नुभएका उखु किसानहरूको सबै रकम उद्योगीहरूबाट अविलम्ब चुक्ता गराउने प्रबन्धका लागि सरकारलाई थप प्रभावकारी पहल गर्न माग गर्दछ ।

१०. यो बैठक प्रतिनिधिसभा विघटन भई मुलुक निर्वाचनतिर उन्मुख भइसकेको परिप्रेक्ष्यमा राज्यका सबै अंगहरूलाई शान्तिसुरक्षा, अमनचयन र सुशासनका क्षेत्रमा पूर्ववत् र अझ प्रभावकारी काम गर्न आह्वान गर्दै शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई कमजोर गर्ने कुनै पनि कदमप्रति सजग हुन आह्वान गर्दछ ।

११. यो बैठक नेपालको वास्तविक भूभाग समेटेर नयाँ प्रशासनिक राजनीतिक नक्सा प्रकाशन गरेको र त्यसलाई संविधानको अनुसूचीमा रहेको निशान छापमा प्रतिबिम्बित गर्न अभूतपूर्व राष्ट्रिय एकता कायम गर्दै संविधान संशोधन गर्न सफल भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । यस प्रक्रियामा सहभागी भई योगदान गर्नुहुने सबै राजनीतिक दल, संघीय संसद्का माननीय सदस्यहरू, अभियन्ताहरू, सञ्चारमाध्यम र सबै देशभक्त नेपालीहरूलाई धन्यवाद ज्ञापन गर्दछ । नेपालको भूभागमा नेपालको स्वामित्व सुनिश्चित हुने गरी सीमा समस्याको समाधान गर्न थप प्रभावकारी कूटनीतिक पहलका लागि सरकारलाई अनुरोध गर्दै सरकारलाई यस दिशामा सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछ ।

१२.  यो बैठक एसिड आक्रमणजस्तो जघन्य अपराध एवं महिलामाथि हुने यौनजन्य हिंसा र बलात्कारको रोकथाम तथा त्यस्ता अपराधमा संलग्न दोषीहरूरुलाई कडा कारबाही गर्न सरकारले हालै जारी गरेका अध्यादेशहरूको समर्थन गर्दै यस्ता अपराध रोकथामका लागि प्रशासनलाई थप कडाइ गर्न आह्वान गर्दछ ।

१३. यो बैठक सबै राजनीतिक दलहरूलाई आमनिर्वाचनको यस अभियानमा स्वस्थ बहस र प्रतिस्पर्धाका साथ सहभागी भई लोकतान्त्रिक प्रणालीलाई सुदुढ गर्न आह्वान गर्दछ । राज्यका सबै संस्थाहरू, निजामती र सुरक्षा अंगहरू, प्रदेश सरकार र प्रदेश सभा एवं स्थानीय तहहरू आ–आफ्ना क्षेत्रमा कर्तव्य निर्वाह गर्दै क्रियाशील भइरहेको, जनतामा उन्नत लोकतान्त्रिक चेतना रहेको वर्तमान परिवेशमा लोकतान्त्रिक प्रणाली कमजोर हुन्छ कि भन्ने कुनै पनि आशंका निराधार रहेको कुरामा विश्वस्त हुन आग्रह गर्दछ । परिवर्तनका पक्षधर सबै वामपन्थी, देशभक्त र  लोकतान्त्रिक शक्तिहरूलाई आपसी संवाद, समझदारी कायम गर्दै अगाडि बढ्न आग्रह गर्दछ । हाम्रो पार्टी र सरकार नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनका उपलब्धिहरूको रक्षा एवं विकासका लागि कृतसंकल्पित रहेको विश्वास दिलाउन चाहन्छ ।

१४. यो बैठक नेपालको विकास र समृद्धिमा छिमेकीलगायत सबै मित्रराष्ट्रहरूबाट प्राप्त निरन्तरको सदभाव र सहयोगका लागि आभार र कृतज्ञता ज्ञापन गर्दै नेपाल राजनीतिक स्थायित्व, सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिका दिशामा अविचलित ढंगले अगाडि बढ्ने र मित्रराष्ट्रहरूबाट आगामी दिनमा पनि नेपालप्रति यस्तै सदभाव र सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्दछ ।

१५. यो बैठक विप्लव समूहद्वारा मोरङको मिक्लाजुङ गाउँपालिकामा शिक्षक राजेन्द्र श्रेष्ठको अत्यन्त निर्ममतापूर्वक गरिएको हत्याको निन्दा र भर्त्सना गर्दै दिवंगत राजेन्द्र श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
यो बैठक केन्द्रीय कमिटीको यस बैठकलाई सहजतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै स्वयंसेवकहरू, सुरक्षाकर्मीहरू तथा हाम्रा समाचार र विचारलाई महत्वका साथ जनताबीच सम्प्रेषित गर्ने सबै सञ्चारकर्मी साथीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।