
सरकारले बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । मंगलबार बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट आउने सम्पूर्ण यात्रुहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
यस्तै, निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए ।
युरोपियन युनियनले बेलायतसँग सीधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले बताए । बैठकले १ पुसयता नेपाल आएकाहरूले अनिवार्य रूपमा सात दिन क्वारेन्टिनमा बसेर जाँच गरेपछि मात्र गन्तव्य जान पनि अनुरोध गरेको छ ।
यस्तै, मंगलबार नेपाल आउन ट्रान्जिटमा हुनेले अनिवार्य रूपमा १० दिन होटेल क्वारेन्टिनमा बसेर परीक्षण गरेपछि मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।