मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ६ सोमबार
  • Monday, 19 April, 2021
गणेश लम्साल विराटनगर
२०७७ पौष ४ शनिबार १८:००:००
Read Time : > 7 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विराटनगरका साहुकार मन्टुको ठगी धन्दा : सर्वसाधारणलाई झुक्याएर कपाली तमसुक बनाउँदै घरजग्गादेखि नियमित आम्दानीसमेत कब्जामा

Read Time : > 7 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ पौष ४ शनिबार १८:००:००

सर्लाहीका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) र रामबाबु राय यादवपछि मोरङमा चर्को मिटर ब्याजमा ऋण लगाउँदै सर्वसाधारणको उठिवास लगाउने अर्का साहुकार फेला परेका छन् । विराटनगर महानगरपालिका–९ घोगापुल चोकमा बस्दै आएका ४२ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियारले करिब १२ वर्षयता सर्वसाधारणबाट मिटर ब्याजबाट करोडौँ असुलिसकेको खुलेको छ । हालसम्म सर्वसाधारणको ४८ कित्ता जग्गा सञ्जयको नाममा देखिएको छ । यस्तै, उनकी श्रीमती ज्योति रौनियारको नाममा २३ कित्ता जग्गा राजीनामा पास गराइसकेको खुलेको छ । 

सम्पत्ति शुद्धीकरण विभागमा ७ मंसिरमा दर्ता भएको उजुरीअनुसार ०७० सालयता रौनियारले अदालतमा सर्वसाधारणविरुद्ध तीन सयवटा लेनदेन मुद्दा दायर गरेको उल्लेख छ । मिटर ब्याजबापत करिब ५० करोड रुपैयाँ उनले आर्जन गरेको पनि उजुरीमा उल्लेख छ । यस्तै, उजुरीअनुसार विराटनगरका विभिन्न व्यापारीलाई हालसम्म करिब ५० करोड रुपैयाँ लगानी गरेका छन् । अवैध आर्जनबापतको रकम भारत साहिरागन्ज, टावरचोक, मुजफ्फरपुरस्थित ससुरालीमा पु¥याएर लुकाएको पनि उजुरीमा उल्लेख छ ।

यसरी लगाउँछन् उठिवास
मोरङ धनपालथान गाउँपालिका–७ कमलपुरका भूपेन्द्र सिंह र उनकी पत्नी खगनी देवीले ०६९ सालमा नौ कट्ठा तीन धुर जग्गा राजीनामा पास गरिदिएर साहुकार रौनियारसँग तीन लाख रुपैयाँ ऋण लिए । तर, मन्टुले उनीहरूलाई झुक्याएर आठ लाख ऋण लिएको कपाली तमसुक बनाए । 

सयकडा तीन प्रतिशत ब्याजमा लिएको ऋण चुक्ता गर्न सिंह परिवारले १२ लाख तिरिसक्यो, तर धितो फुकुवा भएन । बरु, साहुकारले ऋणको साँवा–ब्याज गरेर ३५ लाख पुर्‍याएका छन् । ऋणकै तनावबीच ०७३ सालमा भूपेन्द्र र ०७६ सालमा खगनीको मृत्यु भइसक्यो । उनीहरूका ३५ वर्षीय छोरा विनोद अहिले पनि निरन्तर मन्टुलाई ब्याज तिरिरहेका छन् । नतिरे धितो हडप्ने मात्रै होइन, मुद्दा लगाउने धम्की साहुकारले दिइरहेका छन् ।

यस्तै, धनपालथान–१ का युनुस हुसैनले छोरा मन्जरलाई विदेश पठाउन ११ कट्ठा जग्गा धितो राखेर सात वर्षअघि साहुकार मन्टुसँग ६ लाख रुपैयाँ ऋण लिएका थिए । उनले अहिलेसम्म ११ लाख रुपैयाँ तिरिसकेका छन् । तैपनि मन्टुले जग्गा फिर्ता दिएका छैनन् । बरु, साँवा–ब्याज गरेर ६५ लाख ऋण पुर्‍यएका छन् । हुसैन परिवारले ‘हामी गरिब त्यत्रो रकम कसरी तिर्न सक्छौँ’ भनेपछि उल्टै अदालतमा मुद्दा हालेर थप दुःख दिइरहेका छन् । ‘साहुले ऋण लिँदा नौ लाखको झुटो कपाली तमसुक बनाएको रहेछ । त्यसकै आधारमा उल्टै ऋण लिएर नतिरेको भन्दै अदालतमा लेनदेन मुद्दा हालिदिएको छ,’ मञ्जरले नयाँ पत्रिकासँग भने ।

विराटनगर महानगरपालिका– १० की संगीता कामतले पनि साढे १० धुरमा बनेको घर र जग्गा धितो राखेर मन्टुसँग ०७२ सालमा १३ लाख रुपैयाँ ऋण लिएकी थिइन् । सयकडा तीन प्रतिशत ब्याजको ऋण तिर्न उनले अहिलेसम्म ३० लाख मन्टुलाई बुझाइसकिन् । तर, ऋण घट्नुको साटो बढ्दै छ । मन्टुले अहिले पनि संगीताबाट मासिक ४८ हजार ब्याज असुलिरहेका छन् । ‘धितो फुकुवा गर्नु त परै जाओस्, अहिले त साहुले धितो राखेको घरजग्गा पनि मेरो भइसक्यो भनेर दाबी गरिरहेका छन्,’ संगीताले भनिन् ।

कटहरी गाउँपालिका–२ का ५१ वर्षीय साधु शर्मा काठमिस्त्रीको काम गरेर गुजारा गरिरहेका थिए । उनी पनि साहुकार मन्टुको जालसाजीबाट उस्तै पीडित छन् । ०६२ सालमा ८० हजार ऋण लिँदा मन्टुले उनलाई झुक्याएर आठ लाखको कपाली तमसुकमा सहीछाप गराए । त्यसकै आधारमा शर्माबाट अहिलेसम्म पाँच लाख आठ हजार असुलिसकेका छन् । तर, दुहुनो गाईझैँ भएको कपाली तमसुक फिर्ता गरेका छैनन् ।

धनपालथान–७ का ६३ वर्षीय सागिर मियाँले पनि ०६९ माघमा ११ कट्ठा नौ धुर जग्गा राजीनामा पास गरिदिएर मन्टुसँग सात लाख ऋण लिएका थिए । तर, मन्टुले उनलाई झुक्याएर दुईपटक आठ–आठ लाख रुपैयाँ लिएको कपाली तमसुकमा ल्याप्चे लगाए । सागिरले अहिलेसम्म २९ लाख रुपैयाँ मन्टुलाई बुझाइसकेका छन्, तर ऋण सकिएको छैन । ‘म लेखपढ गर्न नजान्ने मान्छेलाई झुक्याएर साहुले धेरै ऋण लिएको कागज बनाएको रहेछ । अब त तिर्न सक्दिनँ भन्दा उल्टै मुद्दा लगाइदिन्छु भन्दै धम्की दिइरहेको छ । हामी गरिब बिचल्लीमा परेका छौँ,’ सागिरले पीडा सुनाए ।

साहुकार मन्टुको ज्यादती र जालसाजीबाट पीडित हुनेको सूचीमा रंगेली नगरपालिका–५ का अजयकुमार मण्डल पनि छन् । एक कट्ठा जग्गा धितो राखेर अजयले माघ ०७२ मा मन्टुसँग चार लाख ऋण लिएका थिए । तीन प्रतिशत ब्याजमा लिएको ऋण उनले एकमुष्ठ पाँच लाख तिरेपछि साहुकारले धितो राखेको जग्गा त फुकुवा गरिदिए, तर झुक्याएर बनाएको कपाली तमसुक देखाएर अहिले पनि रकम असुलिरहेका छन् । मन्टुले ऋण दिँदा छल गरेर आठ लाखको कपाली तमसुक बनाएको अजयले पाँच लाख तिरेपछि मात्रै पत्तो पाए । साँवा–ब्याज नदिए मुद्दा हाल्ने धम्की दिँदै मन्टुले उनीबाट रकम उठाइरहेका छन् ।

विराटनगर–१० का लक्ष्मण कामतले आमाको उपचार गर्न ०७४ सालमा साहुकार मन्टुसँग सयकडा तीन प्रतिशत ब्याजमा एक लाख ऋण लिएका थिए । उनलाई पनि कपाली तमसुक गराइएको छ । कामतले तीन वर्षदेखि लगातार ब्याज तिर्दै आएका छन् । तर, अहिले उनीसँग मन्टुले सयकडा दशका दरले ब्याज उठाउन थालेका छन् ।

धनपालथान–१ का साजिद मियाँ, फिरोज खातुन र हरिलाल गनगाईले पनि ऋणभन्दा तेब्बर–चौब्बर रकम साहुकार मन्टुलाई बुझाइसकेका छन् । तर, साहुकारले धितो फुकुवा गरिदिनुको साटो साँवा–ब्याज झन्झन् बढाइरहेका छन् । नतिरे मुद्दा हाल्ने धम्की दिइरहेका छन् । दुई लाख ५० हजार ऋण लिएका साजिदको २० लाख, तीन लाख लिएका फिरोजको २१ लाख र एक लाख ५० हजार लिएका हरिलालको १० लाख साँवा–ब्याज पुगेको भन्दै मन्टुले तिर्न धम्क्याइरहेका छन् ।

पीडितको किटानी जाहेरी प्रहरीले दर्ता गरेन
चर्को मिटर ब्याज असुलेर साहुकार मन्टुले सोझासीधा सर्वसाधारणको बिल्लीबाठ बनाएको लामो फेहरिस्त छ । हालसम्म धनपालथान गाउँपालिकाका विनोद सिंह, साजिद मियाँ, फिरोजा खातुन, हरिलाल गन्गाईं, नरुल मियाँ, मन्जर हुसैन, बेबी खातुन, सागिर मियाँले उनीविरुद्ध किटानी जाहेरी प्रहरीलाई बुझाएका छन् । यस्तै, विराटनगर महानगरपालिकाका महानन्द राय, लक्ष्मण कामत र संगीता कामतले पनि किटानी जाहेरी दिएका छन् । रंगेली नगरपालिकाका अजयकुमार मण्डल, सुनवर्षी नगरपालिकामा अमित यादव र कटहरी गाउँपालिका साधु शर्मा गरी १४ जनाले उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी बुझाएका छन् । तर, प्रहरीले जाहेरी दर्ता गरेको छैन । अन्य पीडित खुल्ने क्रम जारी छ ।

प्रहरीले भने २९ मंसिरमा कुख्यात मिटरब्याजी मन्टुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । तर, अझै किटानी जाहेरी दर्ता गरेर मुद्दा अगाडि बढाएको छैन । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले सूचना आएपछि रौनियारलाई सोधपुछका लागि मात्र बोलाइएको, तर पक्राउ नगरिएको बताए । ‘घटनाबारे बुझ्ने काम भइरहेको छ, रौनियार मिटरब्याजी हुन् भनेर भन्न सकिँदैन,’ उनले भने, ‘रौनियार हाम्रो सम्पर्कमै छन्, हामी घटना के हो अनुसन्धान गर्दै छौँ ।’ पीडितको किटानी जाहेरी प्रहरीले दर्ता गरेको छैन । डिएसपी राई पनि ‘सूचना आएकाले बुझ्दै गरेको’ मात्र बताउँछन् । जबकि, पीडितले १० दिनअघि नै उनीविरुद्ध प्रहरीलाई किटानी जाहेरी बुझाएका थिए ।

चर्को ब्याज असुल्न सहरमा बसेर गाउँमा ऋण
चर्को ब्याज असुल्नकै लागि साहुकार रौनियारले सहरमा बसेर गाउँमा लगानी गर्दै आएको खुलेको छ । उनले मोरङका ग्रामीण क्षेत्रलाई ब्याज असुल्ने थलो बनाएका छन् । धनपालथान र जहदा गाउँपालिका तथा सुनवर्षी र रंगेली नगरपालिकाका गरिब परिवारलाई घरजग्गा धितो लिएर चर्को ब्याज कबुल गराएको कागजातमा हस्ताक्षर गराउँदै ऋण दिने गरेका छन् । कबोल गरेको मिटर ब्याजबापतको रकम नदिए धितो राखेको जग्गा राजीनामा पास गराई हडप्ने गरेका छन् ।

उनले सर्वसाधारणलाई झुक्याएर दिएको ऋणभन्दा तेब्बर चौब्बर बढीको कपाली तमसुकमा हस्ताक्षर पनि गराउने गरेका छन् । सोही कारण पटक–पटक ब्याज तिर्दा पनि धितो फुकुवा पाउने आसमा ऋणीहरू वर्षौँसम्म साहुकार रौनियारलाई बढाइएको मिटरअनुसारको ब्याज तिरिरहन बाध्य छन् ।

बाबुआमाले लिएको तीन लाख ऋणबापत १२ लाख रुपैयाँ बुझाइसक्दा पनि अझै धितो फुकुवा पाउन नसकेर हैरान बनेका पीडित विनोद सिंह भन्छन्, ‘बुबाआमा ऋणको ब्याज तिर्ने तनावमै बित्नुभयो, म पनि सास्ती खेप्न बाध्य छु ।’

उनका अनुसार साहुकार सञ्जयले आफ्नै ढंगले हिसाब राख्छन् । ब्याजबापतको रकम बुझाउन विराटनगरस्थित उनको घरमै पुग्नुपर्छ । न त उनले ब्याज तिरेबापतको रसिद दिन्छन्, न कपाली तमसुक र बहीखाताको हिसाब देखाउँछन् । ‘हामीलाई केही हेर्न दिँदैनन्, प्रश्न ग¥यो भने प्रहरी, प्रशासन र गुन्डा लगाउने, जायजेथा हडप्ने र लेनदेनमा मुद्दा हालिदिने भन्दै धम्क्याउँछन्,’ विनोद भन्छन् ।

मिटर ब्याजको धन्दा चलाउन एजेन्ट परिचालन
पीडितमध्येका एक धनपालथान–१ का मञ्जर हुसेनका अनुसार यसअघि साहुकार रौनियारको परिवार सोही गाउँपालिकामा बस्थ्यो । अझै पनि गाउँमा रौनियारको करिब ६ बिघा खेत छँदै छ । केही वर्षअघि सञ्जयका बाबु जमुनाप्रसाद रौनियारले परिवारलाई विराटनगर सारे । जमुनाप्रसाद गल्ला (काँटा)को व्यापार गर्थे ।

बाबुले थालेको तमसुक लेनदेनमा ऋण लिनेदिने अवैध कारोबार सञ्जयले पनि अपनाए । र, गल्लाको व्यापारलाई गरिबबाट चर्का ब्याज असुल्ने धन्दामा बदले । सुरुमा उनले आफ्नै गाउँका सोझासीधा गाउँलेलाई चर्को ब्याजमा ऋण लगानी गरे । कारोबार बढ्दै गएपछि अहिले कमिसन एजेन्टहरू नै परिचालन गरेर मिटर ब्याजको धन्दा चलाइरहेका छन् ।

एजेन्टहरूले पैसा अभावमा परेकाहरूलाई साहुकार रौनियारको सम्पर्कमा पु¥याइदिन्छन् । र, त्यसबापत कमिसन लिन्छन् । त्यही धन्दाबाट साहुकार रौनियारले १० वर्षभित्रै विराटगरमा करोडौँ मूल्यको आलिसान महल ठड्याइसकेका छन् । उनले ‘सञ्जय ढुवानी सेवा’ पनि सञ्चालन गर्दै आएका छन् । त्यसबाहेक उनले धेरै सुनचाँदी खरिद गरेको र धेरै रकम व्यापारीहरूलाई लगानी गरेको पीडितहरू बताउँछन् ।

हरेक महिना साँवा र ब्याज जोड्दै असुली
पीडितहरूका अनुसार साहुकार रौनियारले दिएको ऋण तोकिएको चार महिनाभित्र ब्याजसहित चुक्ता गर्न नसकेमा हरेक महिना थप एक अंक बढाएर ब्याज दिनुपर्ने नियम बनाएका छन् । उनले चार महिनाको भाका दिएर मान्छे हेरी सयकडा तीनदेखि १० सम्म मासिक ब्याजमा ऋण लगाउँछन् ।

ऋण दिँदा उनले घरजग्गा धितोबापत पहिल्यै आफू, श्रीमती ज्याेति र परिवारका अन्य सदस्यको नाममा राजीनामा पास गराउँछन् । साथमा, ऋणीलाई झुक्याएर ऋणभन्दा तेब्बर, चौबर बढीको कपाली तमसुक पनि बनाउँछन् । चार महिनाको भाका नाघेपछि ब्याजदर पनि हरेक चार–चार महिनामा थप एक अंकले बढाउँदै लैजान्छन् । र, चार महिनामा तिर्न नसकेपछि जम्मा भएको ब्याजको रकम पनि साँवामा थप्दै जान्छन् । जति–जति साँवा र भाका बढ्दै जान्छ, त्यति नै पछिल्लो एकमुष्ठ साँवाअनुसार बढी अंकले ब्याज असुल्छन् । समयमै साँवा, ब्याज बुझाउने ऋणीलाई पनि उनले धेरै ऋणको झुठो कपाली तमसुक देखाएर थप ब्याज तिर्न बाध्य बनाउँछन् ।

साहुकार सञ्जयबाट लगातार मानसिक यातना खेप्दै आएका पीडित संगठित हुने क्रम बढ्दो छ । थप ४३ जनाले साहुकार सञ्जय र ३३ जनाले उनकी श्रीमती ज्योतिविरुद्ध ठगीमा किटानी जाहेरी दिने तयारी गरिरहेका छन् । पीडित मञ्जर भन्छन्, ‘भगवान्को घरमा देर छ, तर अन्धेर छैन भन्ने हामीले सुनेका छौँ । त्यसैले न्याय पर्खिरहेका छौँ ।’

तीन लाखको १२ लाख तिरेँ, अझै तिर्न बाँकी देखाउँछन्
विनोद सिंह, पीडित
धनपालथान–१ कमलपुर

साहुकार सञ्जयसँग मेरो आमाबुबाले ०६९ सालमा नौ कट्ठा तीन धुर जग्गा राजीनामा पास गरिदिएर तीन लाख रुपैयाँ ऋण लिनुभएको थियो । सयकडा तीन प्रतिशतमा लिएको ऋणको ब्याज १२ लाख तिरिसक्दा पनि अझै धितो फिर्ता भएको छैन । हरेक चार महिनामा पैसा बुझाउन उनको घरमा पुग्छु । तर, उनले कहिल्यै असली खाता देखाउँदैनन् । कागजमा हिसाब लेखेर ‘यति ति¥यौ अब यति तिर्न बाँकी छ’ भन्छन् । ‘आलटाल गरे तिमीहरूलाई तह लगाइदिन्छु’ भन्छन् । हामी इन्तु न चिन्तुको अवस्थामा छौँ ।

सात लाखको २९ लाख तिरिसकेँ
सागिर मियाँ, पीडित
धनपालथान–९

मैले सञ्जयसँग माघ ०६९ मा सात लाख रुपैयाँ ऋण लिको थिएँ । त्यसबापत ११ कट्ठा नौ धुर जग्गा राजीनामा पास गरिदिएको थिएँ । अहिलेसम्म उनलाई २९ लाख रुपैया बुझाइसकेको छु, तर उनले अझै जग्गा फिर्ता दिएका छैनन् । म लेखपढ गर्न जान्दिनँ । त्यसैले उनले झुक्याएर दुईपटक आठ–आठ लाख रुपैयाँ ऋण लिएको कपाली तमसुक गराएका रहेछन् । अहिले पैसा तिर्न सक्दिनँ भन्दा मुद्दा लगाइदिन्छु भन्दै धम्की दिइरहेका छन । हामी बिचल्लीमा प¥यौँ ।

घरजग्गा नै कब्जा गरे
संगीता कामत, पीडित
विराटनगर–१०

उपचार खर्चका लागि घरजग्गा धितो राखेर ०७२ सालमा १३ लाख रुपैयाँ साहु सञ्जयबाट ऋण लिएकी थिएँ । सयकडा मासिक तीन प्रतिशत भनेर लिएको ऋणको साँवा १६ लाख पु¥याइसकेका छन् । हालसम्म ३० लाखभन्दा बढी तिरिसकेँ । अझै मासिक ४८ हजार रुपैयाँ ब्याज तिरिरहेकी छु । धितो फुकुवा गर्नु त परै जाओस्, उल्टै तेरो घर अब मेरो भयो भनेर कब्जा गरेका छन् ।

उखुको आम्दानी सबै साहुलाई बुझाउँछु
हरिलाल मण्डल, पीडित
धनपालथान–१

नौ वर्षअघि उनीसँग ५० हजार रुपैयाँ लिएको थिएँ । मासिक सयकडा पाँचका दरले लिएको ऋण चुक्ता गर्न अढाई बिघामा उत्पादन हुने उखुको सबै आम्दानी बर्सेनि बुझाउँदै आएको छु । तर, अझैसम्म न त धितो फुकुवा भएको छ, न ऋण चुक्ता भएको छ ।