लुटेरा

शनिबार, ४ पुष, २०७७
डिजिटल संस्करण

म सोच्थेँ लुटेरा ती हुन्
जसले दश ठाउँमा टालेका पाइन्ट लगाएका हुन्छन्
जिङ्रिङ्ग कपाल पालेका
कानमा टप र मुन्द्रा झुन्ड्याएका । 

जब म जागिर खाएर गुँड भेटाउने
गाडी चढ्न रत्नपार्क जान्थेँ
तब मलाई तपसिल हुलिया भएकाहरूसँग
सधैँ डर लागिरहन्थ्यो । 

अनि हत्तपत्त झोलाको कुनामा लुकाउथेँ
एक हजारको नोकिया फोन
छामिरहन्थे गोजीको दुईचार सय रुपैयाँ
अनि चनाखो बनाइरहन्थे दुई आँखा र कान । 

तर, रत्नपार्कका लुटेराभन्दा 
खतरनाक र खुंखार लुटेरा त 
बालुवाटार र सिंहदरबारमा पो रहेछन् 

हजारौँको सुटपाइन्ट लगाएर
करोडौँको बंगलामा बसेर
अनि करोडकै गाडी चढेर
लुटिरहेका रहेछन् वर्षौंदेखि
गरिबका अमूल्य सपना
आँसु, परिश्रम  र रगत
आज तिनैको खोजी गरिदिन
सडकसँग गुहार मागिरहेका छन् पीडितहरू । 

सुझावित समाचार