मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २ बिहीबार १७:४९:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

श्रीलंकालाई विश्वकप उपाधि दिलाएका ह्वाटमोर नेपाली टोलीको मुख्य प्रशिक्षक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २ बिहीबार १७:४९:००

श्रीलंकालाई सन् १९९६ को विश्वकप उपाधि दिलाएका अस्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार उनको नियुक्तिको घोषणा गरेको हो । 

उनको कार्यकाल आगामी १ जनवरीबाट सुरु हुनेछ । प्रशिक्षकको हैसियतमा विश्वकप जितेका वाटमोर नेपाली टोलीको जिम्मेवारी सम्हाल्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ प्रशिक्षक हुन् । उनले पाकिस्तान, बंगलादेशलगायत टेस्ट टोलीको जिम्मेवारी सम्हालेका छन् । 

हाल एकदिवसीय टोलीको मान्यता पाएको नेपाली टोलीलाई उनले आफ्नो नेतृत्वमा थप उचाइमा पुऱ्याउने विश्वास गरिएको छ । नेपाल अहिले आगामी विश्वकप छनोटको आधार प्रतियोगिता विश्वकप लिग दुई शृंखलामा सहभागी छ । त्यसअन्तर्गत नेपालले आगामी मार्चमा ओमानमा घरेलु टोली र अमेरिका सहभागी हुने त्रीदेशीय शृंखला खेल्दै छ ।

सम्भवतः उनको नेतृत्वमा नेपाली टोलीको पहिलो महत्वपूर्ण प्रतियोगिता त्यही हुनेछ । उनका व्यवस्थापक कउस्तब लहिरीले नेपाली टोलीको जिम्मेवारी सम्हाल्न पाउँदा ह्वाटमोर खुसी रहेको जनाएका छन् । ‘नेपालमा त्यस्ता धेरै क्रिकेट प्रतिभाहरू छन् र नेपाली क्रिकेटको भविष्य पनि राम्रो छ । नेपाली क्रिकेटको नेतृत्व सम्हालेर अघि बढ्ने नयाँ चुनौतीका लागि डेभ निक्कै उत्सुक छन्,’ क्यानले जारी गरेको विज्ञप्तिमा व्यवस्थापक कउस्तबले भनेका छन् । 

क्यानले खुला दरखास्त आह्वान गर्दा आएको ७२ जनाको आवेदनमध्ये पहिलो चरणमा २५ जनाको नाम ‘सर्ट लिस्ट’ गरेको थियो । त्यसमध्ये १४ जनाको नाम अन्तर्वार्ताका लागि छनोट भएको थियो । १२ जना मात्रै अन्तर्वार्तामा सहभागी भएका थिए । 

त्यसबाट तीनजनाको नाम क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) पठाएको थियो । क्यानले आइसिसीमा वाटमोरकै नाम पहिलो नम्बरमा राखेर पठाएको थियो । आइसिसीबाट स्वीकृति आएपछि क्यानले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै, क्यानले रौनकबहादुर मल्ललाई जनरल म्यानेजर, रमेशकुमार न्यौपानेलाई चिफ फाइनान्स अफिसर र विनोदकुमार दासलाई क्रिकेट म्यानेजरको रूपमा नियुक्त गरेको छ । मल्ल यसअघि पनि क्यानकै कर्मचारी थिए भने दास नेपाली टोलीका पूर्वकप्तान हुन् ।