
युवा संघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सरकारले संवैैधानिक परिषद्का लागि ल्याएको अध्यादेश फिर्ता नभए सरकारविरुद्ध सडक–संघर्ष थाल्ने चेतावनी दिएका छन् ।
मंगलबार विराटनगरमा नेकपानिकट प्रचण्ड र माधवकुमार समूहका मोरङ जिल्लास्तरीय विद्यार्थी र युवाहरूको भेलामा बोल्दै संयोजक सापकोटाले बहुमत प्राप्त सरकारले अध्यादेशबाट मात्र सरकार चलाउने कुरा अमिल्दो र अवैधानिक भएकाले फिर्ता नगरे आफ्नै सरकारविरुद्ध संघर्ष थाल्न बाध्य हुने बताएका हुन् ।
संवैधानिक परिषद्को बैठकमा सभामुख नगएपछि सरकारले संवैधानिक निकायहरूमा आफ्नो मान्छेहरू एकलौटी नियुक्त गरेर विरोधी नेताहरूलाई तह लगाउनका लागि काम, कर्तव्य र अधिकारसँग सम्बन्धित अध्यादेश ल्याएको संयोजक सापकोटाले प्रस्ट्याए ।
उनले भने, ‘दुई–चारजना चरी ढुकुरले ल्याएको अध्यादेशले नेकपाको बहुमत प्राप्त सरकार चलाउन पाइँदैन, तुरुन्त फिर्ता गरियोस्, नत्र सडकमा आगो बल्नेछ ।’
संयोजक सापकोटाले नेकपा कुनै व्यक्ति र एक–दुई नेताको नभएर सिंगो नेपाली जनताको भएकोले विधि र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिए । उनले जारी द्वन्द्वले नेकपा समाप्त हुने र वर्षौँदेखि संघर्षमा लागेका युवाहरूको भविष्य पनि समाप्त हुने भएकोले नेताहरूलाई खबरदारी गर्न युवा र विद्यार्थीलाई आग्रह गरे ।