१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format o९:४२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पहिरोपीडितलाई बनाइएको एकीकृत बस्ती हस्तान्तरण भएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४२:oo

फालेलुङ गाउँपालिका– ३ र ४ का नागरिकका लागि बनाइएको एकीकृत बस्ती हस्तान्तरण हुन सकेको छैन । तीन वर्षपहिले पहिरो गएर जोखिममा परेको बस्तीका बासिन्दाका लागि सो बस्ती निर्माण गरिएको हो । 

तर, शौचालय, खानेपानीसहितका आवश्यक पूर्वाधार निर्माण पूरा नहुँदा बस्ती हस्तान्तरण हुन सकेको छैन । चर्पीसहितका संरचना निर्माण नहुँदा लाखौँ खर्च गरेर सुरक्षित भनिएको स्थानमा बनाइएका संरचना अलपत्र परेका छन् । गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा आवास प्रयोजनका लागि बनाएको संरचनामा विद्युतीकरणको समेत तयारी छैन ।

बस्ती निर्माण गर्न प्रदेश १ सरकारले ५० लाख र फालेलुङ गाउँपालिकाले १७ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । सो रकमबाट १५ वटा घर निर्माण भएको तीन वर्ष बितेको छ । हस्तान्तरण नभएपछि बेवारिसे अवस्थामा पुगेका ती घरमा अहिले झारजंगलले छोप्दै लगेको छ ।

पहिरोपीडित आफन्तको शरणमा
पहिरोको जोखिममा परेर विस्थापित भएकाहरू अहिले यत्रतत्र लागेका छन् । कोही आफन्तको शरणमा छन् त कोही छाप्रो हालेर बसेका छन् । पहिरोमा परी ४८ परिवार विस्थापनमा परेका थिए । उनीहरूमध्ये करिब २५ परिवारलाई तत्काल घर आवश्यक थियो ।

उनीहरू अहिले आफन्तको शरणमा छन् । गाउँपालिकाका अनुसार फालेलुङ गाउँपालिकाको मांलेबुङ गाउँका तीन घर लामो समयसम्म पालमा बसे । उनीहरूलाई बस्ती निर्माण हुँदै गरेको खबरले राहत दिएको थियो । तर, बनिसक्दा पनि हस्तान्तरण नभएपछि अझै समस्यामै छन् ।

घर भत्किएर विस्थापनमा परेका स्थानीयलाई घर पाइएला भन्ने अब त आस हराइसकेको छ । तीन वर्ष बितिसकेको अवस्थामा पुनः काम होला भन्ने उनीहरूमा विश्वास छैन । घर बनिसकेपछि १५ घरमध्ये चिट्ठा तानेर घर रोजाइएको थियो । चैतसम्ममा बस्ती हस्तान्तरण गर्ने तयारीमा आफूहरू जुटेको बस्ती निर्माणस्थल रहेको वडाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए ।

गाउँपालिकाको बेवास्ता
एकीकृत बस्तीका लागि आवश्यक पूर्वाधार निर्माणका लागि थप कति खर्च लाग्छ भन्ने गाउँपालिकालाई जानकारी छैन । ‘खानेपानीका लागि मुहान खोज्नुपर्‍यो, त्यो कहाँ पर्छ मलाई भौगोलिक अवस्थाबारे त्यति जानकारी छैन,’ प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले भने, ‘बस्ती निर्माण भएको वर्षदेखियता पुनः पहिरोको जोखिम नदेखिएका कारण पनि बेवास्ता भएको होला ।’

बस्ती हस्तान्तरण गर्ने, बजेट थप गर्ने विषयमा त्यसयता गाउँपालिकामा छलफलसमेत भएको छैन । गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले भने बस्ती तत्कालै हस्तान्तरण गरिने बताए । ‘हामीले पहिरो गएपछि विस्थापनमा परेका परिवारलाई स्थापित गराउने तयारीअनुसार डिपिआरविनै काम बढायौँ,’ उनले भने, ‘पछि महालेखाले बेरुजु देखाइदियो । अहिले डिपिआरको काम पनि सकिएको छ । अब आवश्यक बिजुली, पानी र शौचालय निर्माणपछि हस्तान्तरण गर्छौँ ।’