१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १७:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरोपीडितका लागि बनाइएको एकीकृत बस्ती तीन वर्षदेखि अलपत्र !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१५:oo

तीन वर्षअघि पहिरोपीडितका लागि बनाइएको एकीकृत बस्ती हस्तान्तरण हुन नसक्दा अलपत्र परेको छ ।  

तीन वर्षअघि पहिरोबाट विस्थापित भएका फालेलुङ गाउँपालिका ३ र ४ नम्बर वडाका स्थानीयका लागि एकीकृत बस्ती निर्माण गरिएको थियो । 

गाउँपालिका र प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको बस्ती बिजुली, शौचालय तथा खानेपानीसहितका आवश्यक पूर्वाधार बन्न नसक्दा हस्तान्तरण हुन नसकेको हो । 

पहिरोको जोखिममा परेर विस्थापित भएकाहरू अहिले यत्रतत्र लागेका छन् । कोही आफन्तको शरणमा छन् त कोही छाप्रो हालेर उस्तै जोखिमपूर्ण अवस्थामा बसेका छन् ।

बिजुली, शौचालय तथा खानेपानीसहितका संरचना निर्माण नहुँदा लाखौँ खर्च गरेर सुरक्षित स्थानमा बनाइएका संरचना अलपत्र परेका छन् । बस्तीका लागि विद्युतीकरणको समेत तयारी सुरु भएको छैन । 

१ नम्बर प्रदेश सरकारको ५० लाख र फालेलुङ गाउँपालिकाको १७ लाख बजेट खर्च गरेर १५ घर निर्माण भएको तीन वर्ष भयो । गाउँपालिकाको अगुवाइमा वडा नम्बर ३ मा रहेको सुरक्षित स्थानमा ती घर निर्माण भएका छन् । अहिले घर हस्तान्तरण नै नभई बेबारिसे अवस्थामा पुगेका छन् । 

पहिरोमा परी ४८ परिवार विस्थापित भएका थिए । उनीहरूमध्ये करिब २५ परिवरलाई तत्काल घर आवश्यक थियो । उनीहरू अहिले पनि आफन्तको शरणमा छन् । गाउँपालिकाका अनुसार फालेलुङ गाउँपालिकाको मांलेबुङ गाउँका तीन घर लामो समयसम्म पालमा बसे । उनीहरूलाई बस्ती निर्माण हुँदै गरेको खबरले राहत दिएको थियो । तर, बनिसक्दा पनि हस्तान्तरण नभएपछि उनी चिन्तित छन् । 

एकीकृत बस्तीका लागि आवश्यक पूर्वाधार निर्माणका लागि थप कति खर्च लाग्छ भन्ने गाउँपालिकालाई जानकारी छैन । ‘खानेपानीका लागि मुहान खोज्नुपऱ्याे, त्यो कहाँ पर्छ,’ प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले भने, ‘मलाई भौगोलिक अवस्थाबारे त्यति जानकारी छैन ।’

बस्ती हस्तान्तरण गर्ने, बजेट थप गर्ने विषयमा त्यसयता गाउँपालिकामा छलफलसमेत भएको छैन । 

उता गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले भने बस्ती तत्कालै हस्तान्तरण गरिने दाबी गरे । ‘हामीले पहिरो गएपछि विस्थापनमा परेका परिवारलाई स्थापित गराउने तयारीअनुसार डिपिआरविनै काम बढायौँ,’ उनले भने, ‘पछि महालेखाले बेरुजु देखाइदियो । अहिले डिपिआरको काम पनि सकिएको छ । अब आवश्यक बिजुली, पानी र शौचालय निर्माणपछि हस्तान्तरण गर्छौँ ।’ 
 
घर बनिसकेपछि १५ घरमध्ये चिठ्ठा तानेर घर रोजाइएको थियो । पहिराेपीडित सुरक्षित घरमा बस्न पाइने आसमा खुसी थिए । तर, घर भत्किएर विस्थापनमा परेका स्थानीयले बनेको सुरक्षित घर पाइएला भन्ने आस हराउन थालेको बताए । तीन वर्ष बितिसकेको अवस्थामा पुनः काम होला भन्नेमा उनीहरू विश्वस्त छैनन् । 

चैतसम्ममा बस्ती हस्तान्तरण गर्ने तयारीमा आफूहरू जुटेको बस्ती निर्माण स्थल रहेको वडाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए । ‘प्रदेशको लगानीमा निर्माण थालेको हो । अर्को वर्ष बजेट थप होला र आवश्यक संरचना पूरा गरौँला भनेर बसियो,’ उनले भने, ‘बजेट पनि आएन अब गाउँपालिकाकै तयारीमा बस्ती हस्तान्तरण गर्छौँ ।’