१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २६ शुक्रबार
  • Thursday, 05 June, 2025
प्रा.डा. तीर्थप्रसाद मिश्र
२o७७ मङ्सिर २६ शुक्रबार १८:o४:oo
Read Time : > 7 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

पूर्ववर्तीहरूप्रति दोषारोपण गरेर राजनीति सुनिश्चित गर्ने ऐतिहासिक प्रवृत्ति

Read Time : > 7 मिनेट
प्रा.डा. तीर्थप्रसाद मिश्र
नयाँ पत्रिका
२o७७ मङ्सिर २६ शुक्रबार १८:o४:oo

विजितको जयजयकार र पराजितहरूको अवगुणको बखान गर्नु मानवीय चरित्र नै हो । यो चरित्र सर्वव्यापी मानवीय चरित्र पनि हो । इतिहासकारहरूले पनि यदाकदा विजितकै गुणगान र पराजितहरूको कमीकमजोरीको अतिरञ्जितपूर्ण वर्णन गरेका दृष्टान्त पाइन्छन् । यद्यपि, यो सबैमा भने लागू नहुन सक्छ । विश्वका कतिपय प्रशासकले पूर्वाधिकारीले गरेका राम्रा कार्यको अनुकरण र प्रशंसा गरेको पनि पाइन्छ । यो विश्व राजनीति र इतिहासकै उज्यालो बाटो हो । तर, यस प्रकारको प्रवृत्ति धेरै कम छ । बरु अरूको कमजोरी देखाएर आफ्नो महत्ता बढाउने प्रवृत्ति बढी पाइन्छ ।

नेपालको राजनीतिक इतिहासलाई हेरौँ । पूर्वशासकलाई वर्तमानका शासकले अपमान गरेका, नीचा देखाउने र अवमूल्यन गरेका घटना धेरै छन् । आफ्ना पूर्वाधिकारीको गल्ती कमजोरी र असफलतालाई बढाइचढाइ प्रकाश गर्ने रोगले हाम्रो समाज नराम्रोसँग प्रभावित छ । यो रोग केवल शासकमा मात्र होइन, विभिन्न राजनीतिक पार्टी, संघसंस्था, शैक्षिक एवं औद्योगिक प्रतिष्ठानमा समेत देखिन्छ । पूर्वाधिकारीको सह्राहना, तारिफ र गुणगान गाउने पनि छन् । तर, त्यस्तो गुणगान या त निजप्रतिको आफ्नो सान्निध्यताका कारण वा व्यक्तिगत स्वार्थका कारण मात्र भएको देखिन्छ । निःस्वार्थ भावनाले राम्रा कामको प्रशंसा गर्ने प्रवृत्ति अत्यन्तै न्यून पाइन्छ । बरु पूर्वअधिकारीकै गल्ती देखाई आफ्नो महŒव स्थापित गराउने प्रवृत्तिले नेपाली समाजमा जरा गाड्दै गएको पाइन्छ ।

नेपालको प्रामाणिक इतिहास लिच्छवीकालदेखिको पाइन्छ । किराँत वंशलाई पराजित गरी लिच्छवीहरू नेपाल अधिराज्यका अधिपति भएका थिए । उनीहरूले पूर्वशासकलाई कस्तो व्यवहार गरे ज्ञात हुन सकेको छैन । तर, एउटा अभिलेखमा किराँतलाई सठ भनी होच्याइएको देखिन्छ (धनवज्र वज्राचार्य, लिच्छवीकालका अभिलेख, पृ.२३)

प्रताप मल्लले आफ्नै बाबु लक्ष्मीनरसिंह मल्ललाई कैद गरी आफू राजा भएका थिए । उनले बाबुलाई बौलाहा भएको आरोप लगाएका थिए । जुन सत्य थिएन (पेशल दाहाल, नेपालको इतिहास र संस्कृति, पृ.७८) । पाटनका ६ प्रधानहरूले एकपछि अर्को राजा बनाउँदै गए, राजालाई कुनै न कुनै मिथ्या आरोप लगाउँदै (ऐ, पृ. १०१–१०३) ।

पृथ्वीनारायण शाहले पराजित राजा, सामन्त तथा सेनानायकप्रति कठोर दृष्टिकोण लिएका थिए । साथै पूर्वाधिकारीहरूलाई अनेक दोष तथा आरोप पनि लगाएका थिए । काठमाडौं उपत्यकाका विषयमा उनको टिप्पणी थियो : यो तीन सहर भन्याको चिस्व ढुंगोे रहेछ,  षेलषाल मात्र ठूलो रहेछ . कुपको पानी षान्या छेउ बुद्धि पनि हुँदैन . सुरो पनि हुँदैन . षेलषालको मात्रै रहेछ . (दिव्योपदेश) ।

यसैगरी, नुवाकोटको साततले दरबार अभिलेखमा नेपालेश्वरहरूलाई झट्ट अहंकारहीन पारेर... तीन थुम्का भएका तनहुँका राजा त्रिविक्रम सेनलाई हठात् बाँधेर फलामे पिजरा राखी...(योगी नरहरिनाथ, इतिहास प्रकाशमा सन्धिपत्र सग्रह, पृ.२८५) । 

पृथ्वीनारायण शाहपश्चात् नेपाल दरबारमा षड्यन्त्रकारी राजनीति प्रादुर्भाव हुँदा एकले अर्कालाई मिथ्या आरोप तथा लाञ्छना लगाई दण्ड दिने कार्य भएका छन् । प्रतापसिंह शाहको आफ्नै भाइ बहादुर शाहसित मेलमिलाप हुन सकेन । बहादुर शाहको पनि आफ्नै भतिजा राजा रणबहादुर शाह र भाउजू राजेन्द्रलक्ष्मीबीच द्वन्द्वकै वातावरण रह्यो । बहादुर शाहले आफ्नै भाउजू राजेन्द्रलक्ष्मीसित अनुचित सम्बन्ध कायम गरेको आरोपमा सर्वजित रानालाई हनुमानढोका दरबारमा नै काट्न लगाए, (चित्तरञ्जन नेपाली, श्री५ रणबहादुर शाह पृ.४३–४४) ।

रणबहादुर शाहले राज्यको बागडोर आफ्नो हातमा लिएपछि बहादुर शाहलाई नायवीबाट मात्र हटाएनन् जेल नै हाले । जेलमा नै उनको मृत्यु भयो । रणबहादुर शाहले चिनियाँ बादशाहलाई जाहेर गर्न भनी बहादुर शाहले गरेका १२ संगीन अपराधको सूची नै बनाएर चीन जाने काजी सर्वजित पाण्डेलाई निर्देशन दिएका थिए (ऐ, पृ.१११–११३)। यसमा अधिकांश कपोलकल्पित र झुटा आरोप लगाइएको देखिन्छ । 

रणबहादुर शाहले कान्तिवतीको मोहजालमा पारी राज परम्पराविपरीत गीर्वाणयुद्धलाई राजगद्दीमा राखे । र, आफू सन्यासधारण गरी निर्वाणानन्द भए । कान्तिवतीको मृत्युपश्चात् स्वामी महाराजले राजपाठमा हस्तक्षेप गर्न खोज्दा बाबुछोराबीच गृहयुद्धको पनि सम्भावना देखिएको थियो, तर स्वामी महाराजको केही लागेन । उनी वनारस पलायन हुन बाध्य भए ।  वनारसबाट पुनः नेपाल प्रवेश गरी तत्कालीन नेपालको शासनमा हर्ताकर्ता भएका उनले सबैलाई अनेक बात लगाउँदै दण्डित गरे । राजराजेश्वरी हेलम्बुमा निर्वासित भइन् । मूलकाजी दामोदर पाण्डे काटिए (ज्ञानमणि नेपाल, नेपालको महाभारत, पृ.६३–६४) । अन्त्यमा रणबहादुर शाह स्वयं नै आफ्नै भाइ शेरबहादुर शाहीबाट काटिए । यस घटनापश्चात् भीमसेन थापाले विरोधीलाई सोत्तर पारे । त्यसपछि त जंगबहादुरभन्दा पहिलेका सबै मूलकाजी वा मुख्तियार (प्रधानमन्त्री)ले आफ्नो कालगतिबाट मर्न पाएनन् । 

भीमसेन थापालाई पनि उनका उत्तराधिकारी प्रधानमन्त्री रणजंग पाण्डेले वापबैरी साँधे । भीमसेन थापालाई राजकुमार देवेन्द्रको मृत्युमा विष काण्डमा फसाइयो । उनले जेलमा नै आत्महत्या गरे । यस विषयमा श्री ५ राजेन्द्रले चिनियाँ बादशाहलाई पठाएको पत्रमा भीमसेन थापाले चीनको सम्बन्धमा वास्ता नगरेको, अंग्रेजसित सम्बन्ध बढाएको, नेपालमा अंग्रेजका दूत राखेको जस्ता कपोलकल्पित आरोप लगाएका थिए । (त्रिरत्न मानन्धर र तीर्थप्रसाद मिश्र, नेपाल्स क्विनि क्विनियल मिसन्स टु चाइना, पृ.७९–८१) । कालान्तरमा प्राइम मिनिस्टर बनेका माथवरसिंह थापाले पूर्ववर्ती प्रधानमन्त्री पाण्डेका सन्तानलाई झुटा आरोप लगाई सिध्याए । माथवरसिंह थापा पनि आफ्नै भानिज जंगबहादुरबाट मारिए । माथवरसिंह थापाको हत्यापछि कलकत्तास्थित नेपाली वकिल बमबहादुर कुँवरलाई अंग्रेज सरकारका प्रतिनिधिसमक्ष माथवरसिंहको हत्या हुनाका निम्न कारण भएको जानकारी गराउन राजा राजेन्द्रले निर्देशन दिएका थिए ः ...हामी दुवै (राजेन्द्र र सुरेन्द्र)को हुकुम नमानी, श्री ५ नानी महाराज र मलाई बझाई ...उन्का घरमा हाम्रो सवारी हुँदामा देषाहा नपन्र्या ... हामीसित गरेको धर्म पनि नराषी हाम्रो इज्जत लियो र वैशाख सुदी ११ रोज ७ का दिन निमक हराम माथवरसिंह थापालाई मेरो बाहुलीले पहिले बन्दुक वाहापछि तरबार चलाई मारी बक्स्याँ. तहा साहेबसित बातचीत हुँदा येही बेहोराको बात गन्र्या काम गर्नु (योगी नरहरिनाथ, इतिहास प्रकाशमा सन्धिपत्रसंग्रह पृ.११३–११४)।

कोत पर्व, भण्डारखाल पर्व र अलौ पर्वबाट क्रमशः भारदार, रानी र राजालाई निष्तेज बनाई जंगबहादुर सर्वेसर्वा बन्न पुगे । फलस्वरूप पूर्वाधिकारीहरूलाई उत्तराधिकारीहरूले खत्तम पार्ने क्रम भंग भयो । पहिलो राणा प्रधानमन्त्री जंगबहादुरको मृत्यु कालगतिले नै भयो । यद्यपि, कतिपय घटनाक्रमले उनको मृत्युमा पनि विभिन्न आशंका भने नगरिएको होइन । उनीपछि श्री ३ हुनपुगेका रणोद्दीप सिंह पनि कान्छो भाइका छोराहरूद्वारा मारिए । वीरशमशेरले रणोद्दीप सिंहको हत्या गर्दा उनी स्त्रीलम्पट भएको तथा राजकाजमा अनभिज्ञ रहेकोजस्ता अनेकौँ निराधार आरोप पनि लगाइएको थियो । वीरशमशेरपछि श्री ३ बन्न पुगेका देवशमशेर १४४ दिनमा नै चन्द्रशमशेरद्वारा काठमाडौं उपत्यकाबाट धपाइएका थिए । श्री ५ को नामबाट ब्रिटिस इन्डियाका भाइ सराय लर्ड कर्जनलाई पठाएको पत्रमा देवशमशेरलाई हटाउनका निम्न कारण देखाइएको थियो ः श्री ३ महाराज देवशमशेर जंगबहादुर राणाबाट यस मुलुकको काम इन्तिजाम बढिया तबरसँग गर्न नसक्दा म दोस्तका ?? गुरु पुरोहित, भाइभारदार, अफिसरहरूले मेरा हजुरमा यी महाराजबाट मुलुकको सलतनत बढिया तबरसँग चलेन ... केही दिन शासन रहेमा मुलुकमा ठूलो गदर उठीहानि हुनाको डर पैदा भयो ...सबैले बिन्ती पार्दा कमान्डर इनचिफ चन्द्रलाई श्री ३ बनाएको ... (तीर्थप्रसाद मिश्र, गरिमा पूर्णांक ७३, पृ.११२–११३)।

देवशमशेरलाई लखेटेपछि चन्द्रशमशेरले दाजुलाई श्री ५ सँग नजिक भएको, अंग्रेजसँग साँठगाँठ बढाउन खोजेकोजस्ता आरोप लगाएका थिए (कमलमणि दीक्षित, सर्वसम्मति, नेपाली,पूर्णांक ९९, पृ.३–१८) ।

राणा श्री ३ महाराजले खुल्लमखुल्ला आफ्ना पूर्वाधिकारीहरूलाई आरोप त लगाएनन्, तर भित्रभित्रै षड्यन्त्र चल्न थाल्यो । जसको कारणबाट सी क्लासका राणाहरूको निष्काशन, जुद्धशमशेरको राज्यत्याग, पद्मशमशेरको राजीनामाजस्ता अनेकौँ काण्ड घटे । कालान्तरमा पूर्वाधिकारी र उत्तराधिकारीका सन्तानको पारिवारिक संघर्षकै कारण २००७ सालको परिवर्तन आयो । 

वि.सं. २००७ सालपछि राणाशासनलाई भएजति विशेषण जोडेर नकारात्मक टिप्पणी गर्ने संस्कृतिकै विकास भयो । एकतन्त्री जहाँनिया शासनबाट नेपालको केही पनि विकास हुन नसकेको कटु टिप्पणी गरियो । भए गरेका एक–दुई राम्रा कामलाई पनि कसैले सह्राहना गर्ने साहससमेत गरेनन् । अझ अचम्मको कुरा त के छ भने, राणाकालमा फाइदा लिनेहरूबाटै प्रजातन्त्र प्राप्तिपश्चात् राणाहरूप्रति विषबमन हुन थाल्यो । कतैबाट साथ नपाउँदा मोहनशमशेर राजीनामा दिन बाध्य भए । यस विषयमा नयराज पन्त को भनाइ यस्तो रहेको छ :
राणाको राज्यभन्दाअघि कुन विधिले चल्दथ्यो राजकाज
 राणाको हातले भोकतितक कुभलो वा भलो कामकाज
 यो जान्नलाई कोही पनि मनुज यहाँ तम्सँदै तम्सँदैन । 
विद्वत् शिरोमणि कुलचन्द्र गौतम, कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि बालकृष्ण सम आदि कवि जो पहिले राणाजीको पालामा राणाजीको स्तुति लेख्थे । पछि राणा राज्य गएपछि यिनै कविले राणाको निन्दा लेख्ने भए (नयराज पन्त, श्री ३ महाराज पद्मशमशेर कुरा, पूर्णिमा पूर्णांक ४, पृ.२४७) ।

वि.सं. २००७ सालदेखि १५ सालसम्म विभिन्न राजनीतिक अभ्यास भए । विभिन्न पार्टीका सरकार पनि बने । ती सबैले वर्तमानले पूर्वसरकारलाई खोट देखाउन भने कहिल्यै छाडेनन् । वि.सं. २०१५ सालको निर्वाचनबाट मुलुकमा पहिलोपटक जननिर्वाचित सरकार बन्यो । यो सरकार केही समय गतिशील पनि रह्यो । तर, २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार भंग गरी सबै राजनीतिक पार्टीलाई गैरकानुनी घोषणा गरे । तत्कालीन अवस्थामा जननिर्वाचित सरकारलाई लगाइएका प्रमुख आरोप थिए ः दलगत स्वार्थ, निष्क्रिय प्रशासन यन्त्र, भ्रष्टाचार शान्ति सुरक्षा कायम राख्न असफल भएको । त्यसमाथि झन् नेपाल राष्ट्रको भौगोलिक एकता र सार्वभौमिक सत्तामा आघात पुग्ने आशंका र राजमुकुटलाई नै दलगत राजनीतिमा मुछ्ने प्रयास गरेको आरोप पनि लगाइएका थिए (त्रिरत्न मानन्धर र निरञ्जन शर्मा, नेपालको अत्याधुनिक इतिहास, पृ.१०८) । यस विषयमा रोज र जोशीले राजा महेन्द्रले वि.सं. १८३६ मा राजा राजेन्द्रविक्रमले प्रधानमन्त्री भीमसेन थापालाई दरबारप्रति भक्तिभाव नदेखाएको आरोपमा पक्राउ गरेजस्तै महेन्द्रको कदम पनि देखियो । वि.सं. १८३६ र १९६० मा धेरै परिवर्तन भइसक्दा पनि दरबारिया राजनीतिमा परिवर्तन आएन ( भुवनलाल जोशी र लियो ई रोज, डेमोक्रेटिक इन्नोभेसन्स इन नेपाल, पृ.३९२) ।

श्री ५ महेन्द्रको २०१७ सालको कदमको प्रशंसा गर्दै संसदीय व्यवस्था र निर्वाचित सरकारको एकोहोरो विरोध गर्नेको ठूलै जमात देखाप¥यो । पञ्चायती व्यवस्था रहुन्जेल सबै पञ्च नेताहरू र स्वनामधन्य विद्वान्हरूले पञ्चायत नआएको भए नेपाल अघि नै डुबिसक्ने थियो, संसदीय व्यवस्था माटो सुहाउँदो नभएको, आयातीत व्यवस्था भएकोजस्ता निरर्थक प्रचार–प्रसारले बाहुल्य पायो । पञ्चायत व्यवस्था ईश्वरजस्तै निर्विकल्प निर्विवाद छ भनी हिँड्थे (ज्ञानमणि नेपाल, नेपालको महाभारत, पृ.ग) । संक्षेपमा भन्ने हो भने २०१७ सालदेखि २०४६ चैत्रसम्म नै संसदीय व्यवस्थाको विरोध गर्नुमा नै आफूलाई देशभक्त देखाउनेको जमातले ठूलै थियो ।

वि.सं २०४६ पश्चात् पञ्चायत र राजाको विरोध गर्नेहरूको संख्या एकाएक बढ्यो । पञ्चायत व्यवस्थाले गर्दा देशको विकास हुन नसकेको, जनता रोग भोक र शोकबाट पीडित भएको, पञ्चायती व्यवस्था स्वेच्छाचारी भएकोजस्ता आरोप लगाई पञ्चायती व्यवस्थाको यत्र–तत्र सर्वत्र विरोध हुने संस्कृतिको अभूतपूर्व विकास भयो । पञ्चायती व्यवस्थाप्रति अनर्गल र सत्यहीन प्रचार–प्रसार गरियो । कतिले त पुस्तक नै निकाले ।

वि.सं. २०४७ को निर्वाचनमा जाँदा सबै राजनीतिक पार्टीमा पञ्चायतको विरोध गर्दा नै आफ्नो हैसियत बढ्छ भन्ने धारणा हाबी रह्यो । यस निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याई सरकार गठन ग¥यो । पञ्चायती व्यवस्थाको विरोधमा सहकार्य गरी संघर्ष गर्ने कांग्रेस र कम्युनिस्टहरूबीच पानी बाराबार भयो । कांग्रेसकै आन्तरिक कलहका कारण वि.सं. २०५१ को मध्यावधि निर्वाचन भयो । यस निर्वाचनमा कुनै पार्टीको पनि बहुमत आउन सकेन । नेकपा एमालेले अल्पमतको सरकार गठन ग¥यो । जुन सरकारले पूर्ववर्ती सरकारको कटु आलोचनामा नै आफ्नो धेरै समय खर्चियो । यसपछि हिजोका पञ्चायत व्यवस्थाका महारथी सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनपुगे । वि.सं. २०५५ सालको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्यायो र सरकार बनायो । यसवेला माओवादी द्वन्द्वका कारण देशमा राजनीतिक अस्थिरता आयो । शत्रुको शत्रु मित्र भन्ने कथन चरितार्थ भयो । माओवादी शक्ति वृद्धि हुनुमा परोक्ष रूपमा कांग्रेस र एमालेकै हात थियो । राजनीतिक पार्टीकै सुझबुझको कमी र दूरदर्शिताको अभावमा राजा ज्ञानेन्द्रले राजा महेन्द्रको जस्तै २०१७ सालको कदमकै पुनरावृत्ति गरे । राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि सबै राजनीतिक पार्टी र माओवादी मिल्न गए । फलस्वरूप २०६३ को आन्दोलन भयो । संसद् पुनस्र्थापना भयो माओवादी सत्तामा आए । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको विरोध भयो । कालान्तरमा संविधानसभा संसद्ले नेपालबाट राजतन्त्र नै सदाका लागि बिदा ग¥यो । राजा ज्ञानेन्द्रविरोधी प्रचार–प्रसार र आरोप लगाउने कार्य आज पनि भइरहेको छ ।

यसरी नेपालको इतिहासले के देखाएको छ भने आजसम्मको इतिहास आफ्ना सकारात्मक कार्य, गतिशीलता र जनचाहनाको जगमा आफ्नो सामथ्र्य पुष्टि गर्नेभन्दा पनि विगतलाई निन्दा गर्ने र पूर्ववर्तीहरूमाथि केवल दोषारोपण गरेर आफ्नो कमजोरी ढाकछोप गरी सामथ्र्यसिद्ध गर्ने प्रवृत्ति हाबी भएको देखिन्छ । तर, पूर्ववर्तीलाई शतप्रतिशत गलतसिद्ध गर्न खोज्दा आफूले के गर्न सकियो र के गर्न सकिएन, भन्नेतर्फ ध्यान दिन सकिएको पाइँदैन । विगतका सरकार र शासकहरूको समीक्षा हुनुपर्छ । देखिएका कमीकमजोरी परिमार्जन गर्नुपर्दछ । तर, आफ्नो महŒव देखाउन पूर्वाधिकारीको अवमूल्यन गर्ने परिपाटीलाई प्रश्रय दिनुहुन्न । हिजो के पाइयो के गुमायो भन्ने विषय वस्तुनिष्ठ मूल्यांकन हुनु पर्दछ । नेपाली इतिहासको कालखण्डमा विभिन्न पात्रहरूबाट भए गरेका प्रशंसनीय र उल्लेखनीय कामलाई पनि प्रकाशमा ल्याउनुपर्छ । पूर्वलाई आरोप लगाउने रोगबाट पूर्णतया मुक्त हुन त असम्भव होला तर धेरै हदसम्म नियन्त्रण गर्न भने सकिन्छ । इतिहासलाई मात्र दोष दिएर आफ्नो महत्ता बढाउने प्रवृत्तिको अन्त्य नभएसम्म सुशासन र सुखी नेपालको ढोका खुल्न सक्दैन ।