
श्रीलङ्काका पूर्व स्पिनबलर सचित्र सेनानायकेविरुद्ध म्याच फिक्सिङको मुद्दा दायर भएको छ । श्रीलंकामा खेलकुदमा भ्रष्टाचार मेटाउने उद्देश्यले ल्याइएको नयाँ कानूनअन्तर्गत मुद्दा चलाइने उनी पहिलो व्यक्ति बनेका छन् ।
४० वर्षीय सेनानायकेमाथि दक्षिणी सहर हम्बनटोटाको उच्च अदालतमा सन् २०२० को स्थानीय प्रतियोगितासँग सम्बन्धित म्याच फिक्सिङको आरोप लगाइएको छ । उनी सन् २०२३ सेप्टेम्बरमा पक्राउ परेपछि हाल जमानतमा छन्।
७४ अन्तर्राष्ट्रिय खेल खेलेका सेनानायकले अन्तिम पटक सन् २०१६ मा श्रीलङ्काका लागि खेलेका थिए। उनीमाथि २०२० मा लङ्का प्रिमियर लिगका दुई खेलाडीलाई म्याच फिक्सिङका लागि प्रभाव पारेको आरोप छ ।
आइसीसी लगायत निकायको दबाबपछि म्याच फिक्सिङलाई फौजदारी अपराध बनाउने सन् २०१९ को कानूनको उल्लङ्घन गर्ने सेनानायके पहिलो खेलाडी भएको प्रहरीले जनाएको छ । दोषी ठहरिएमा अधिकतम १० वर्षको जेल, १० करोड रुपैयाँ (तीन लाख ३३ हजार डलर) सम्मको जरिवाना वा दुवै हुन सक्छ ।
श्रीलङ्काका सन् १९९६ को विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गाले सन् २०१२ मा राष्ट्रिय टोलीमा ‘कुव्यवस्थापन, भ्रष्टाचार र अनुशासनहीनता’ भन्दै विरोध गर्दै प्रशंसकहरूलाई खेल बहिष्कार गर्न आग्रह गरेका थिए।