मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ मङ्सिर २४ बुधबार २०:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रीमती र छोरीलाई एसिड प्रहार गर्नेविरुद्ध नयाँ कानुनअनुसार मुद्दा दायर 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ मङ्सिर २४ बुधबार २०:०८:००

श्रीमती र छोरीमाथि एसिड छर्केर गम्भीर घाइते बनाएको घटनामा अभियुक्तहरूविरुद्ध सरकारी वकिल कार्यालय धनुषाले जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ । श्रीमानसँग विवाद भई जनकपुरधाम उपमहनगरपालिका–७  स्थित जानकी नगरमा माइतीमै बस्दै आएकी आरती साहमाथि २९ कात्तिकमा श्रीमान् सञ्जीव साह एसिड छर्केर फरार भएका थिए ।

तीन वर्षीया छोरी रिया साहसँगै जनकपुरधामको पेठिया बजारमा किनेमेल गर्न गएका वेलामा एसिड प्रहार गरिएको थियो । उक्त घटनाका मुख्य अभियुक्त सञ्जीव साहलाई बनाइएको छ भने एसिड बेच्ने पसले नागेन्द्र साहलाई सहयोगी बनाइएको छ । नागेन्द्रले  सञ्जीवलाई बियरको बोतलमा एसिड उपलब्ध गराएकाले उनलाई पनि घटनाको अभियुक्त बनाएको छ । 

उनीहरूविरुद्ध नयाँ कानुनअनुसार क्षतिपूर्ति र साढे १५ वर्ष कैद सजायसहित बुधबार अदालतमा अभियोगपत्र दर्ता गराएको धनुषाका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले पत्रकार सम्मेलन गरी जानकारी दिए । नयाँ कानुनअनुसार नेपालमै पहिलोपल्ट मुद्दा दायर भएको अर्यालले बताए ।  

अभियुक्तहरूविरुद्ध अंगभंग, कुरूप र एकीकृत कसुर गरी तीन कसुरमा १५ वर्ष ६ महिना कैद र क्षतिपूर्तिको मागदाबी अभियोगपत्रमा गरिएको अर्यालले बताए । कुरूप बनाएकोमा ८ वर्ष, अंगभंगमा ५ वर्ष र दुवै कसुरमा अर्थात् एकीकृत कसुरमा २ वर्ष ६ महिना कैद सजायको मागदाबी गरिएको अर्यालले बताए । पीडितको काठमाडाैंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको अर्यालले बताए ।