मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर २३ मंगलबार १४:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल र चीनका राष्ट्रपतिले भने : दुई देशको सम्बन्ध सगरमाथाजस्तै, सी भन्छन्– नेपालसँग राजनीतिक विश्वास बढ्यो

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर २३ मंगलबार १४:५३:००

सगरमाथाको नयाँ उचाई (८८४८.८६मिटर ) घोषणा कार्यक्रममा नेपाल र चीनका राष्ट्रपतिले एकअर्कालाई पठाएको बधाई सन्देशमा विगतका भ्रमणहरूको चर्चा गर्दै सम्बन्ध सगरमाथाजस्तै उच्च हुने प्रतिबद्धता जनाएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्ला उच्चस्तरीय भ्रमणले सम्बन्ध नयाँ उचाइमा पुगेको चर्चा गरेकी छिन् भने चीनका राष्ट्रपति सी जिनपिङ नेपालसँग राजनीतिक विश्वास बढेको बताएका छन् । 

मंगलबार नापी विभागमा आयोजित उचाइ घोषणा कार्यक्रममा सुरुमा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीलाई पठाएको सन्देश परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सुनाएका थिए । 

सन्देशमा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीको नेपाल भ्रमण र आफ्नो चीन भ्रमणले दुई देशबीच सम्बन्ध थप प्रगाढ बनाएको उल्लेख गरेकी छिन् । 

उनले सगरमाथा दुई देशको सम्बन्धको प्रतिक भएको उल्लेख गर्दै नेपाली जनताको गर्वको विषय सगरमाथा भएकोसमेत स्पष्ट पारेकी छिन् । 

नेपाल र चीनबीच ६० बर्षअघि सीमाविवाद सुल्झिने क्रममा सगरमाथाको उचाइ नेपालमा पर्ने, उत्तरी मोहोडा चीनमा र दक्षिणी मोहोडा नेपालमा पर्ने सहमति भएको थियो । 

भण्डारीले दुई देश सधैं असल मित्र र विश्वसनीय साझेदारका रूपमा अघि बढिरहेको बताएकी छिन् । 

उनले बहुआयामिक सीमापार सम्पर्क सञ्जाल (ट्रान्स हिमालयन मल्टिडाइमेन्स्नल कनेक्टिभिटी नेटवर्क)को ढाँचामा नेपालसँग सहयोगको रणनीतिक साझेदारीमा अघि बढ्ने गत बर्षको सहमति स्मरण गरेकी छन् । 

राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो¥याउँदै चिनियाँ समकक्षीले अघि सारेको बीआरआईमा नेपाल प्रवेश गरेको र पछिल्लो समयमा सम्बन्ध थप सुदृढ भएको बताएकी छिन् । 

राष्ट्रपति भण्डारीलाई पठाएको सन्देशमा चिनियाँ समकक्षी सीले पछिल्ला दिनमा नेपाल र चीनबीच राजनीतिक विश्वास बढेको बताएका छन् ।

‘नेपालको एकता, स्थिरता र विकासका लागि चीन सहकार्य गर्न तयार छ,’ चिनियाँ राष्ट्रपतिले भनेका छन् ।  

सगरमाथा नेपाल र चीनबीच अनन्य मित्रताको प्रतिक भएको बताएका छन् । उनले हिमाली क्षेत्रमा थप अध्ययन अनुसन्धान गर्न र वातावरण संरक्षणका लागि नेपालसँग सहकार्य गर्ने गत वर्षको सहमति पनि स्मरण गरेका छन् । 

परराष्ट्रमन्त्री ज्ञवालीले सगरमाथाको उचाइको स्पिरिटमा नेपाल र चीनबीच धेरै काम गर्न बाँकी रहेको बताएका छन् । उनले सगरमाथाको उचाइ घोषणाको दिनलाई ऐतिहासिक भनेका छन् ।

नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गरे पनि मापनका लागि प्राविधिक काम भने बेग्लाबेग्लै गरेका थिए । 

नेपाल सरकारले चाहिँ पहिलोपटक आफ्नै खर्चमा सगरमाथाको उचाइ मापन गर्न गरेको हो । 

यसअघि सन् १९५४ मा नेपालको स्वीकृतिमा भारतको सर्भे अफ इन्डियाको टिमले सगरमाथाको उचाइ मापन गरेको थियो । 

त्यही आधारमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ किलोमिटर भनिँदै आएको थियो ।