मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २० बिहीबार
  • Thursday, 04 March, 2021
२०७७ मङ्सिर २३ मंगलबार ०१:१८:००
Read Time : > 13 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तत्काल तेस्रो विश्वमा खोप सर्वसुलभ हुने सम्भावना छैन

Read Time : > 13 मिनेट
२०७७ मङ्सिर २३ मंगलबार ०१:१८:००

न्युयोर्क टाइम्समा प्रकाशित एक अनुसन्धानात्मक रिपोर्टअनुसार विश्वभर कोरोना भाइरसविरुद्ध ५८ वटा खोप मानव शरीरमा परीक्षणमा छन् । मानव शरीरमा परीक्षण सकिएका सातवटा खोपले केही देश र क्षेत्रमा आपत्कालीन प्रयोगको अनुमति पाएका छन् । तीमध्ये १३ वटा खोप तेस्रो चरण परीक्षणमा छन् । १७ वटा दोस्रो र ४१ वटा खोप पहिलो चरण परीक्षणमा छन् । अन्य कम्तीमा ८६ वटा खोप त्यसभन्दा अघिल्लो चरण अर्थात् वन्यजीवमा परीक्षण भइरहेका छन् । कोरोना भाइरस रोकथामका लागि खोप नै एक मात्र विकल्प देखिँदै गर्दा हालसम्म विश्वभर एकसाथ ठूलो संख्यामा प्रयोग गर्न मिल्ने गरी कुनै खोपले मान्यता पाएका छैनन् ।

अमेरिकाको फाइजर र जर्मनीको बायोन्टेक कम्पनी मिलेर बनाएको खोपलाई बेलायतले आपतकालीन प्रयोग अनुमति दिएको छ । चिनियाँ कम्पनी क्यान्सिनो बायोलोजिक्सले बनाएको ‘एडी–फाइभ’ नामक खोपलाई चिनियाँ जनमुक्ति सेनाले आन्तरिक प्रयोगका लागि अनुमति दिएको छ । रुसी खोप स्पुतनिक फाइभ पनि आपतकालीन प्रयोग हुन थालेको छ । रुसमै इपिभाक नामक खोपले प्रयोग अनुमति पाएको छ । यस्तै, वुहान इन्स्टिच्युड अफ बायोलोजिकल प्रडक्टस्ले तयार पारेको खोपलाई संयुक्त अरब इमिरेट्स (युएई)ले प्रयोग अनुमति दिएको छ । चीनकै सिनोफर्माले तयार पारेको खोपलाई पनि युएईले प्रयोग अनुमति दिएको छ । चिनियाँ कम्पनीले सिनोभाक बायोटेकले बनाएको खोपले चीनभित्र प्रयोगका लागि अनुमति पाएको छ । तथापि, हालसम्म कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणका लागि सुलभ भएको छैन । र, त्यसका लागि अझै केही समय पर्खिनुपर्नेछ । आपत्कालीन प्रयोग अनुमति पाएका खोपहरूले भने महामारीविरुद्धको लडाइँमा संसारभर आशाको सञ्चार गराएका छन् ।

खोप नै सबैभन्दा प्रभावकारी

खोपलाई चिकित्सा विज्ञानमा सबैभन्दा भरपर्दाे मानिन्छ । त्यसैले हो, आधुनिक चिकित्सा विज्ञानमा खोपलाई अहिलेसम्मकै ठूलो उपलब्धि मानिएको पनि । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरूको भनाइमा विभिन्न रोगविरुद्ध निर्मित खोपले हरेक वर्ष २० देखि ३० लाख मानिसको मृत्यु रोक्छन् । हालसम्म २० भन्दा बढी प्राणघातक रोग फैलिन नदिन खोप नै अचुक औषधि बनेको छ ।

तर, ती खोप सजिलै तयार भएका होइनन् । वैज्ञानिकहरूको वर्षौँको मिहिनेतपछि मात्र ती खोप उपलब्ध भएका हुन् । सामान्य अवस्थामा खोप निर्माण, उत्पादन र ढुवानीका लागि पाँचदेखि १० वर्ष लाग्छ । कोरोना भाइरसविरुद्धको खोपको कुरा बेग्लै छ । यसपटक ती सबै प्रक्रिया र सीमितता घटाउँदै वैज्ञानिकहरू केही महिना अन्तरालमै सर्वसाधारणमाझ खोप पु¥याउन लागिपरेका छन् । तथापि, कोरोना भाइरसविरुद्धको खोपले मानव शरीरलाई बचाउन सक्ने क्षमता र प्रयोगका लागि कति सुरक्षित भन्ने विषय अनुसन्धानकै चरणमा छ ।

जस्तो– आपत्कालीन प्रयोगका लागि अनुमति पाएका खोपको प्रभावकारिता पनि ९० देखि ९५ प्रतिशतसम्म देखिएको छ । यसको अर्थ खोप लगाएका १० मध्ये नौजनामा कोभिड–१९ को जोखिम हुनेछैन । संसारभरका मानिसलाई उत्साहित बनाएको समाचार पनि यही हो ।

तर, ती सबै खोप ठूलो संख्यामा परीक्षण भएका छैनन् । विभिन्न उमेर समूह, हावापानी र शारीरिक बनावटका मानिसलाई दिनुपर्ने भएकाले पनि ती खोपको प्रभावकारिता अहिले नै सिद्ध हुन मुस्किल छ । रोग लागेका मानिसलाई मात्र होइन, स्वस्थ व्यक्तिलाई पनि यी खोप दिइनेछ । मुख्य पक्ष त कोरोना भाइरस प्रसार नै हुन नदिने अवस्था सिर्जना गराउनुछ ।

खोप सर्वसुलभ हुनुअघि वर्षाैँ अनुसन्धान र परीक्षण गरिनुको कारण पनि त्यही हो । हाल निर्माण भइरहेका सबै खोप सफल हुन्छन् भन्ने छैन । कतिपय अन्तिम चरणको परीक्षणमा पुगेर असफल हुन सक्छन् । कुनै खोप परीक्षणमा सहभागीहरूमा समस्या देखिएपछि रोकिन्छन् र फेरि अनुसन्धान अगाडि बढाइन्छ ।

कहिलेसम्म आइपुग्ला खोप ?

खोप निर्माणमा लागिपरेका देश र कम्पनीहरूले सन् २०२० अन्त्यसम्ममा खोप उपलब्ध हुने दाबी गर्दै आएका छन् । संसारभर खोप पु¥याउने दायित्व रहेको डब्लुएचओले भने सन् २०२१ को मध्यभन्दा अगाडि खोप सर्वसुलभ हुने सम्भावना कमजोर देखिएको बताउँदै आएको छ । सन् २०२१ को मध्य अर्थात् जुन, जुलाईदेखि भने संसारभर खोप सर्वसुलभ हुने डब्लुएचओको भनाइ छ ।

युरोपमा धेरै चर्चा कमाएको फाइजर र बायोन्टेकले निर्माण गरेको खोपले ९० प्रतिशत मानिसलाई कोभिड–१९ हुनबाट बचाउने दाबी ती कम्पनीको छ । र, सन् २०२० को अन्त्यसम्ममा पाँच करोड डोज खोप उपलब्ध गराउने बताएका छन् । जब कि, उक्त खोप प्रयोग गर्न अनुमति दिएको बेलायतकै जनसंख्या करिब ६ करोड ७८ लाख छ । सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड डोज खोप उत्पादन गर्ने दुवै कम्पनीको लक्ष्य छ । त्यो पनि युरोपको करिब ७४ करोड ७८ लाख जनसंख्यामा दिइसकेर मात्र अन्य विश्वले प्राप्त गर्न सक्ने आकलन गर्न सकिन्छ ।

यस्तै, बेलायतको अक्स्फोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको खोप उत्पादन र वितरण जिम्मा पाएको ब्रिटिस–स्विडिस बहुराष्ट्रिय कम्पनी अस्ट्राजेनेका पनि ठूलो परिमाणमा खोप उत्पादनको तयारीमा छ । अक्सफोर्डको खोप सफल देखिएमा बेलायतका लागि १० करोड डोज र विश्वभरलाई दुई अर्ब डोज उत्पादन गर्ने बताउँदै आएको छ । अरू दर्जनौँ कम्पनीले पनि खोप उत्पादन र वितरण सम्झौता गरेका छन् । तर, त्यसका लागि त पहिले उनीहरूले सम्झौता गरेको खोप सफल देखिनु अनिवार्य छ ।

रुस कोरोना भाइरसविरुद्ध खोप निर्माण गर्ने र आपत्कालीन प्रयोगको अनुमति दिने पहिलो मुलुक हो । रुसले गत अगस्टमै स्पुतनिक–फाइभलाई मान्यता दिएको थियो । स्पुतनिक–फाइभ ९५ प्रतिशतसम्म प्रभावकारी रहेको निर्माणमा संलग्न विज्ञहरूले दाबी गरेका छन् । उक्त खोपको गम्भीर साइड इफेक्ट नदेखिएको उनीहरूको दाबी छ । तर, स्पुतनिक–फाइभ पनि ठूलो जनसंख्यामा परीक्षण भएको छैन ।

स्पुतनिक–फाइभ दुई चरणमा लगाउनुपर्नेछ । पहिलो चरणको ‘डोज’ लगाउन हजारौँले नाम टिपाएका छन् । त्यसरी नाम टिपाएकाहरूलाई पनि तत्काल खोप उपलब्ध हुने सम्भावना छैन । किनकि, रुसले ठूलो परिमाणमा खोप उत्पादन गर्न सकिरहेको छैन । सन् २०२० अन्त्यसम्म २० लाख डोज मात्रै उत्पादन गर्न सकिने खोप निर्माता कम्पनीले जनाएको छ । रुसकै जनसंख्या करिब १४ करोड ४५ लाख छ ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले यसै सातादेखि सर्वसाधारणलाई खोप दिन थालिने बताएका छन् । पहिलो चरणमा विद्यालय, स्वास्थ्य केन्द्र र सामाजिक काममा खटिएका मानिसलाई खोप दिइने उनको भनाइ छ । मस्कोको मात्र जनसंख्या करिब एक करोड २५ लाख छ । पहिलो डोज लगाएको २१ दिनपछि दोस्रो डोज लगाउनुपर्ने रुसी वैज्ञानिकहरूको भनाइ छ ।

व्यग्रतापूर्ण प्रतीक्षा

कोभिड–१९ बाट आक्रान्त मानव जीवन यतिखेर खोपको व्यग्र प्रतीक्षामा छ । संसारभर निर्माणाधीन खोपमै सबैको विस्फारित नजर छ । र, खोप आएपछि मानव जीवन जनवरी २०२० भन्दा अगाडिकै जस्तो सामान्य बन्ने आशामा सबैमा देखिन्छ । तर, धेरै वैज्ञानिकले विश्वभरको जनजीवन पहिलेझैँ सामान्य बन्न समय लाग्ने बताएका छन् । खोप आएपछि पनि ‘मास्क’ नलगाई हिँडडुल गर्न लामै समय पर्खिनुपर्ने उनीहरूको भनाइ छ । त्यसको पछाडि केही महत्वपूर्ण कारण छन् ।

पहिलो चरणमा खोप प्रयोग गर्नेहरू स्वास्थ्यकर्मीलगायत कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा खटिएकाहरू हुनेछन् । उनीहरूको जीवन बचाउनु पनि महत्वपूर्ण उपलब्धि हुनेछ । तर, जबसम्म खोप सर्वसाधारणको पहुँचमा पुग्दैन, कोरोना प्रसार रोकिनेछैन । मानिस संक्रमित भइरहनेछन् र ज्यान गुमाउने क्रम जारी रहनेछ । खोपको सीमित उत्पादन र ढुवानीको जटिलताले जनजीवन सामान्य अवस्थामा फर्किन समय लाग्ने वैज्ञानिकहरूको भनाइ छ ।

त्यसमाथि खोप कहिल्यै शतप्रतिशत प्रभावकारी हुँदैन । दादुराविरुद्धको खोप अहिलेसम्म पत्ता लागेकोमध्ये सबैभन्दा प्रभावकारी मानिन्छ, जसले ९५ देखि ९८ प्रतिशतसम्म मान्छेलाई बचाउन सक्छ । कोभिड–१९ विरुद्ध फाइजर÷बायोन्टेक र मोडर्नाले बनाएका खोपको प्रभावकारिता ९० प्रतिशतसम्म मात्र देखिएको छ ।

हालसम्मको नतिजाअनुसार आपत्कालीन प्रयोगमा रहेका खोपहरूले पनि १० मध्ये नौजनालाई बचाउनेछन्, एकजनालाई बचाउन सक्ने छैनन् । त्यसैले ठूलो संख्यामा प्रयोग नगरिँदासम्म र त्यसको नतिजा प्राप्त नहुँदासम्म खोपको प्रभावकारिताबारे पूर्ण मूल्यांकन गर्न मुस्किल छ ।

यसको अर्को फरक पाटो पनि छ । आपत्कालीन प्रयोग अनुमतिप्राप्त गरेका र बढी चर्चामा रहेका खोप परीक्षणमा सहभागी सबैको शरीरमा प्रभावकारी देखिएका छन् । तर, ज्येष्ठ नागरिकको शरीरमा कम प्रभावकारी देखिएका छन् । यस्तै, क्यान्सरको उपचार गराइरहेका मानिसमा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन सम्भव नहुन सक्छ । त्यसबाहेक धेरै मानिसलाई बचाउन यी खोप अचुक उपाय बन्न सक्छन् ।

६५ देखि ७० प्रतिशतमा संक्रमण अर्थात् ‘हर्ड इम्युनिटी’

वैज्ञानिकहरूको भनाइमा विश्वभरको जनसंख्यालाई पुग्ने गरी खोप उत्पादन नहुन्जेल हाल जारी भौतिक दूरीको नियम अन्त्य हुनेछैन । ‘जोखिममा रहेका व्यक्तिहरूलाई मात्रै बचाउन सकियो भने पनि ठूलो सफलता हुनेछ । त्यसबाट अस्पतालमाथि अहिले देखिएको भार पनि कम गर्नेछ । तर, यसले भाइरस संक्रमण रोक्नेछैन,’ बेलायती वैज्ञानिक तथा त्यहाँको स्वास्थ्य विभागका पूर्वइम्युनाइजेसन निर्देशक प्राध्यापक डेभिड सालिस्बरी भन्छन्, ‘खोप नलगाएका व्यक्तिबीचमा संक्रमण फैलिरहेकै हुनेछ । यो पनि गम्भीर अवस्था हुनेछ ।’

यही अवस्थालाई रोक्न सबै क्षेत्र र उमेर समूहका मानिसले खोप लगाएकै हुनुपर्ने उनको बुझाइ छ । ‘अहिलेको विश्व आपसमा कनेक्टेड छ । व्यापार, व्यवसायलगायत धेरै कारणले धेरै यात्रा भइरहेको छ । यसले नै भाइरस संक्रमण थप तीव्र रूपमा फैलाउनेछ,’ उनी भन्छन्, ‘यो विश्वव्यापी महामारी हो । त्यसैले यसलाई रोक्न विश्वभरि नै खोप प्रयोग गरिएको हुनुपर्छ ।’

६५ देखि ७० प्रतिशतसम्म मानिसको शरीरमा भाइरसविरुद्ध लड्ने शक्तिको विकास भएको हुनुपर्ने वा त्यस स्तरसम्मको ‘हर्ड इम्युनिटी’ देखिन थालेपछि मात्रै विश्वलाई कोरोना भाइरसबाट सुरक्षित रहेको घोषणा गर्न सकिने डब्लुएचओको भनाइ छ ।

सर्वसाधारणमा खोप पुर्याउन चुनौती

विश्वका सबै मानिसमा खोप पु¥याउन निकै चुनौतीपूर्ण रहेको वैज्ञानिकहरू बताउँछन् । रुसले आइतबारदेखि मस्कोमा खोप लगाउन थालेको छ । र, त्यसपछि नागरिकलाई खोप लगाउन बेलायत अगाडि सर्नेछ । यी दुई मुलुकमा मात्र खोप लगाएर कोरोना भाइरस नियन्त्रणमा आउने होइन । तर, सर्वसाधारणमाझ खोप पु¥याउन कति जटिलता सामना गर्नुपर्नेछ भन्ने दुवै मुलुकका अभियानले देखाउनेछन् ।

खासगरी, खोपको ढुवानी निकै चुनौतीपूर्ण देखिएको छ । उत्पादन स्थलबाट स्वास्थ्य केन्द्रमा पु¥याउनु नै मुख्य चुनौती हो । विश्वका दूरदराजका गाउँमा खोप पु¥याउन अझ मुस्किल छ । केही खोप यस्ता पनि छन्, जसको ढुवानी गर्दा निकै चिसो वातावरण आवश्यक हुन्छ । फाइजरले बनाएको खोप ढुवानीका लागि माइनस ७० डिग्रीभन्दा कम तापक्रप आवश्यक पर्नेछ । त्यो तापक्रम मिलाएर विकट गाउँसम्म खोप पुर्‍याउन पक्कै सहज छैन ।

ती सबै कठिनाइका बाबजुद खुसीका खबर पनि छन् । जस्तो– फाइजर/बायोन्टेकले तयार पारेको खोपले ६५ वर्षभन्दा माथिको उमेर समूहमध्ये ९४ प्रतिशतलाई बचाउने दाबी गरेको छ । यदि व्यवहारमा त्यो तथ्य पुष्टि भयो भने कोभिड–१९ महामारीविरुद्धको लडाइँमा ठूलै सफलता प्राप्त हुनेछ ।

सन् २०२१ को अन्त्यसम्ममा दुई अर्ब डोज खोप वितरण गर्ने योजनाका साथ सक्रिय कोभ्याक्स समूहलाई पनि आशाको एक त्यान्द्रो मान्न सकिन्छ । यसमा एक सय ७२ वटा मुलुक संलग्न छन्, जसले कोरोनाविरुद्ध खोपलाई विश्वव्यापी पहुँचमा पु¥याउन भूमिका बहन गर्ने अपेक्षा गरिएको छ । यो कोभिड–१९ विरुद्ध संसारको सबैभन्दा ठूलो मोर्चाबन्दी पनि हो, जसमा नौवटा निर्माणाधीन खोपसमेत जोडिएका छन् ।

नेपालमा माइनस ७० डिग्री भण्डारण क्षमता नै छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्ध बनिरहेका खोप प्लस दुईदेखि माइनस ७० डिग्री सेल्सियसमा राख्नुपर्ने खालका छन् । मन्त्रालयको खोप शाखाका अनुसार नेपालमा प्लस दुईदेखि आठ डिग्री सेल्सियसभन्दा माथिको भण्डारण क्षमता छैन । ‘अहिले नेपालमा प्रयोग भइरहेका खोप दुईदेखि आठ डिग्रीसम्ममा भण्डारण गर्न मिल्ने छन् । केही संख्यामा माइनस २० डिग्री सेल्सियसमा राख्न सक्ने क्षमता छ,’ खोप सुपरभाइजर भरत भण्डारी भन्छन्, ‘तर, माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्ने क्षमता छैन । ती खोप नेपालमा ल्याए एक वर्ष लगाउन सकिँदैन ।’ त्यसका लागि नेपालमा पर्याप्त तयारी र उपकरणको जोहो गर्दैमा समय बित्ने उनको भनाइ छ ।

मन्त्रालयले कोभ्याक्स सुविधाअन्तर्गत खोप ल्याउने तयारीस्वरूप छलफल अगाडि बढाएको छ । ‘गाभी’, विश्व स्वास्थ्य संगठन र सेपी नामक अन्तर्राष्ट्रिय संस्थाले एक सय ८६ वटा मुलुकलाई खोप दिन सूचीकृत गरेको छ । धनी र गरिब मुलुकबीच खोप पाउने र नपाउने अवस्था नआओस् भनेर कोभ्याक्स सुविधाको व्यवस्था मिलाइएको हो ।

खोप बनेर सूचीकृत भएपछि ती संस्थाले दुई अर्ब डोज खोप खरिद गर्नेछन् । कोभ्याक्समा नेपाल पनि सहभागी छ । त्यस नाताले सदस्य मुलुकका २० प्रतिशत नागरिकलाई पुग्ने खोप सुविधा नेपालले पनि पाउनेछ । उत्पादक मुलुक, डब्लुएचओ हुँदै नेपालको औषधि व्यवस्था विभागमा दर्ता भएपछि खोप ल्याउन मिल्छ । कोभिड–१९ खोप ल्याउन ४८ अर्ब रुपैयाँ खर्च हुने सरकारको अनुमान छ ।

मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार २० प्रतिशत अर्थात् ६० लाखमध्ये पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाखजनालाई कोभिडविरुद्ध खोप लगाउने योजना छ । पहिलो चरणमा कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई प्राथमिकता दिइनेछ । जोखिममा रहेका अन्य समूहलाई पनि प्राथमिकता दिने सरकारको योजना छ, तर त्यसबारे निर्णय हुन बाँकी छ । सरकारले कुल जनसंख्याको ७२ प्रतिशतमा खोप दिने योजना बनाएको छ । बाँकी ५२ प्रतिशतलाई भने कोभ्याक्स सुविधाअन्तर्गत सहुलियत दरमा खोप ल्याउने विषयमा पनि छलफल चलिरहेको डा. गौतमले बताए ।

सरकारले जिटुजीमार्फत पनि खोप ल्याउनसक्छ । १५ वर्षभन्दा माथिका करिब ७२ प्रतिशतलाई मात्रै खोप दिने योजना सरकारले बनाएको छ । १५ वर्षभन्दा मुनिको समूहमा कोभिड संक्रमण न्यून देखिएको छ । सोहीकारण उक्त उमेर समूह खोप लगाउने प्राथमिकतामा छैन ।

खोप ल्याउन मुलुकको भण्डारण क्षमताबारे अध्ययन भइरहेको डा. गौतमले बताए । उनका अनुसार प्लस दुईदेखि आठ डिग्री, माइनस २० डिग्री र माइनस ७० डिग्री सेल्सियसमा राख्नुपर्ने खोप हाल परीक्षणमा रहेकाले सोहीअनुसार भण्डारण क्षमतामा अध्ययन अगाडि बढाइएको छ ।

‘नेपालमा हाल सञ्चालनमा रहेका खोप प्लस २ देखि ८ डिग्री सेल्सियसमा राख्ने गरिन्छ । त्यतिसम्म तापक्रममा राख्ने खोप तयार भए भने पहिलो चरणमा आउने संख्या नौ लाख डोजको भण्डारणमा समस्या हुनेछैन,’ डा. गौतमले भने, ‘माइनस २० डिग्री सेल्सियसमा राख्ने खोप बनेको खण्डमा थोरै परिमाणमा मात्रै भण्डारण क्षमता छ । तर, माइनस ७० डिग्रीमा राख्नुपर्ने खोप बन्यो हो भने हामी भण्डारण गर्न सक्दैनौँ ।’ जस्तो– फाइजर÷बायोन्टेकको खोप माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्नेछ । त्यो भण्डारण क्षमता नेपालमा उपलब्ध छैन ।

खोप सुपरभाइजर भण्डारीका अनुसार नेपालमा पोलियो थोपा माइनस २० डिग्री सेल्सियसमा राखिन्छ । बिसिजी खोप प्लस दुईदेखि आठ डिग्री सेल्सियसमा राखिन्छ । जिल्ला तहमा माइनसमा भण्डारण गर्ने क्षमता नभए पनि केही परिमाणमा केन्द्र र प्रदेशस्तरमा राख्न सकिने भण्डारीले बताए । माइनस ७० डिग्रीमा भण्डारण अर्थात् अल्ट्रा कोल्डचेनको सुविधा नेपालमा उपलब्ध छैन । र, सोही तापक्रम मिलाउनुपर्ने भए नेपालमा यस वर्ष खोप आउन सम्भव नरहेको भण्डारीको भनाइ छ ।

खोप ल्याउने तयारीमा समिति गठन

स्वास्थ्य मन्त्रालयले खोप ल्याउनेदेखि लगाउनेसम्मको तयारी गर्न आठवटा उपसमिति बनाएको छ । खोप ल्याउन, भण्डारण, प्रयोग र उचित व्यवस्थापनका लागि द्रुत कार्य योजना पारित भएको छ । त्यसका लागि आठवटा क्षेत्र पहिचान गरिएको छ । खोप व्यवस्थापन सचिवालयको संयोजक स्वास्थ्य सेवा विभागका महानिर्देशक छन् ।

बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीको संयोजकत्वमा खोप व्यवस्थापन प्राविधिक तयारी समिति बनाइएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारीको संयोजकत्वमा पूर्वाधार विश्लेषण तथा आवश्यकताको आकलन समिति, अनुगमन नियमन, अनुसन्धान तथा क्लिनिकल व्यवस्थापन गर्न मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटा, नीति योजना अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीलाई खोप कोष सञ्चालन समिति र सार्वजनिक सूचना प्रभाव संयोजकको जिम्मेवारी दिइएको छ ।

उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलको संयोजकत्वमा खोप कसलाई लगाउने भन्ने विषयमा प्राथमिकता निर्धारण गर्ने जिम्मेवारी तोकिएको छ । यस्तै, परिवार कल्याण महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीको संयोजकत्वमा परिचालन योजना समिति बनाइएको छ ।

......

यी हुन् आपत्कालीन प्रयोग अनुमतिप्राप्त खोप

(१) फाइजर–बायोन्टेक (बेलायतमा प्रयोग अनुमति)

अमेरिकाको न्युयोर्कस्थित फाइजर र जर्मनीको बायोन्टेक दुई कम्पनी मिलेर निर्माण गरेको यो खोपको अहिले निकै चर्चा छ । यो खोपलाई बेलायतले आपत्कालीन प्रयोग अनुमति दिएको छ । कम्पनीले गत ९ नोभेम्बरमा अन्तिम चरणको परीक्षणको नतिजा सार्वजनिक गर्दै खोप ९० प्रतिशत सुरक्षित रहेको दाबी गरेको थियो । कोरोना भाइरसविरुद्ध निर्माण गरिएकोमध्ये यति सफल वा प्रभावकारी देखिएको यो नै पहिलो खोप हो । यसको एक सातापछि मोर्डनाले पनि आफूले निर्माण गरिरहेको खोपको यस्तै सफल नतिजा सार्वजनिक गरेको थियो ।

गत मेमा फाइजर र बायोन्टेकले आफूले निर्माण गरिरहेको खोपको पहिलो र दोस्रो चरणको परीक्षण सुरु गरेका थिए । उनीहरूले यी परीक्षणको नतिजा सकारात्मक पाइएको बताएका थिए । अर्थात्, यो परीक्षणमा मानव शरीरमा कोरोना भाइरसविरद्ध एन्टिबडी निर्माण गर्न सहयोगी देखिएको थियो ।

यस क्रममा उनीहरूले ज्वरो आउनेजस्ता सामान्यखाले मात्रै साइड इफेक्ट देखिएको जनाएका थिए । त्यससँगै उनीहरूले अघिल्लो चरणको परीक्षण अगाडि बढाउने निर्णय गरेका थिए । गत २७ जुलाईमा कम्पनीले ३० हजार मानिसमा तेस्रो चरणको परीक्षण गरिने घोषणा गरेको थियो । उसले तेस्रो चरणको परीक्षण अमेरिकासँगै अर्जेन्टिना, ब्राजिल र जर्मनीलगायत देशमा गरेको थियो ।

तेस्रो चरणको परीक्षण नतिजा सार्वजनिक गर्दै ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको बताएपछि २ डिसेम्बरमा बेलायतले आपत्कालीन प्रयोग अनुमति दिएको हो । बेलायत कोरोना भाइरसविरुद्धको खोपलाई मान्यता दिने पहिलो युरोपेली देश बनेको छ । यी कम्पनीले २० नोभेम्बरमा अमेरिकामा पनि अनुमति दिन अनुरोधसहित निवेदन दिएका छन् ।

कम्पनीले यसअघि नै विश्वका विभिन्न देशलाई यो खोप उपलब्ध गराउने गरी सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुलाईमै एक सय मिलियन डोज खोप किन्न कम्पनीलाई १.९ बिलियन डलर रकम दिएका थिए । यस्तै, जापानले पनि एक सय २० मिलियन डोज खोप किन्न सम्झौता गरेको छ । युरोपियन युनियनले दुई सय मिलियन डोज किन्ने सम्झौता गरेको छ ।

(२) क्यान्सिनोबायो (चीनमा प्रयोगका लागि अनुमति)

चिनियाँ कम्पनी क्यान्सिनो बायोलोजिक्सले एडी–फाइभ नामक एडिनो भाइरसमा आधारित खोप बनाएको छ । यस्तो खोपमा कमजोर भाइरस प्रयोग गरिन्छ । क्यान्सिनोले चीनको एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सको इन्स्टिच्युट अफ बायोलोजीसँग मिलेर यो खोप बनाएको हो । मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन यो खोपले मद्दत गरेको परीक्षणमा देखिएको छ । सोही कारण चिनियाँ जनमुक्ति सेनाले आन्तरिक प्रयोगका लागि अनुमति दिएको छ । क्यान्सिनोले साउदी अरेबिया, पाकिस्तान र रुसलगायत धेरै देशमा तेस्रो चरणको परीक्षण गरेको थियो ।

(३) स्पुतनिक फाइभ (रुसमा प्रयोगका लागि अनुमति प्राप्त)

यो रुसको गमलेया रिसर्च इन्स्टिच्युटले निर्माण गरेको खोप हो, जसलाई रुस सरकारले देशभित्र प्रयोगका लागि अनुमति दिएको छ । रुसले आइतबारदेखि राजधानी मस्कोमा कोरोना भाइरसविरुद्ध फ्रन्ट लाइनमा खटिनेहरूका लागि लगाउनसमेत सुरु गरिसकेको छ । कम्पनीले २० जनामा गरिएको तेस्रो चरण परीक्षणबाट खोप ९२ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको थियो । त्यही कमजोर परीक्षणको नतिजालाई आधार मानेको भनेर रुसको आलोचना भएको छ । यद्यपि, कम्पनीले पछि ३९ जनामा गरिएको परीक्षणले पनि उही नतिजा दिएको बताएको छ ।

(४) इपिभाककोरोना (रुसमा प्रयोग अनुमति)

यो कोरोना भाइरसविरुद्ध रुसले निर्माण गरेका दोस्रो खोप हो । यसलाई पनि रुस सरकारले प्रयोग अनुमति दिएको छ । यो खोप भेक्टोर इन्स्टिच्युटले बनाएको हो । कम्पनीले २६ अगस्टमा पहिलो र दोस्रो चरण परीक्षण सुरु गरेको थियो । यो खोपको अन्तिम चरण परीक्षण पूरा भएको छैन । अन्तिम चरण परीक्षणबिनै प्रयोग अनुमति दिएकामा यस खोपमा पनि रुसको आलोचना भएको छ ।

(५) वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टस् (युएईमा प्रयोग अनुमति)

चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिनोफर्माले कोरोना भाइरसविरुद्ध दुईवटा खोप परीक्षण गरिरहेको छ । दुईमध्ये एक खोप वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टले निर्माण गरेको हो । पहिलो र दोस्रो चरणको परीक्षणमा खोपले मानव शरीरमा एन्टीबडी निर्माण गरेको पाइएको छ । कम्पनीले युएई, मोरोक्को र पेरुमा यसको परीक्षण भइसकेको छ । उक्त खोपलाई युएई सरकारले आफ्नो देशमा प्रयोगका लागि अनुमति दिएको छ । यो खोपले चीनमा पनि प्रयोग अनुमति पाएको छ । कम्पनीका अनुसार चीनमा हालसम्म १० लाखको हाराहारीमा मानिसले यो खोप प्रयोग गरिसकेका छन् ।

(६) बेइजिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रडक्ट (युएईमा प्रयोग अनुमति)

सिनोफर्माले विभिन्न देशमा परीक्षण गरिरहेको अर्काे खोप बेइजिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रडक्टक्स्ले उत्पादन गरेको हो । यो खोपलाई पनि युएईले देशभित्र प्रयोगका लागि अनुमति दिएको छ ।

(७) सिनोभाक (चीनमा प्रयोग अनुमति)

चिनियाँ कम्पनी सिनोभाक बायोटेकले पनि कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको छ । कम्पनीले आफूले निर्माण गरेको यो खोप चीनसहित इन्डोनेसिया, टर्कीलगायत देशमा तेस्रो चरण परीक्षण गरेको छ । यो खोपलाई चीनले आफ्नो क्षेत्रभित्र प्रयोगका लागि अनुमति दिएको छ ।

......

खोप निर्माणका चरण

(१) प्रि–क्लिनिकल टेस्टिङ : वैज्ञानिकहरूले नयाँ खोप बनाउँछन् र पहिलोपटक जीव कोषमा परीक्षण गर्छन् । त्यसपछि त्यो खोपले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ कि बढाउँदैन भनेर मुसा वा बाँदरजस्ता जनावरमा परीक्षण गर्छन् । हाल कारोना भाइरसविरुद्ध निर्माण गर्न लागिएका ९३ वटा खोप अहिले प्रि–क्लिनिकल चरणमा छन् ।

(२) फेज वान, सेफ्टी ट्रायल : यो चरणमा वैज्ञानिकहरूले खोप प्रयोग गर्नु सुरक्षित छ कि छैन भनेर सानो समूहमा मानिसमाथि परीक्षण गर्छन् । यो चरणमा पनि खोपले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ कि बढाउँदैन भनेर हेरिन्छ ।

(३) फेज टु, एक्सपान्डेड ट्रायल : यो चरणमा विभिन्न उमेर समूहका मानिसमा खोप दिइन्छ । यसको उद्देश्य खोपले फरक उमेर समूहका मानिसमा फरक या एकै प्रकारको प्रभाव पार्छ भन्ने हेरिन्छ । खोपको प्रयोग कति सुरक्षित छ भन्ने हेर्नु पनि यो चरणको उद्देश्य हो । खोप दिइएको व्यक्तिको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढे–नबढेको पनि हेरिन्छ ।

(४) फेज थ्री, इफिकेसी ट्रायल : यो चरणको परीक्षणमा हजारौँ मानिसमा खोप दिइन्छ । र, खोप दिइएका व्यक्तिमा भाइरस संक्रमण हुन्छ कि हुँदैन भनेर हेरिन्छ । यो चरणमा ५० प्रतिशतसम्म व्यक्तिलाई भाइरस संक्रमण नभएको पाइएमा खोप प्रभावकारी मानिन्छ ।

(५) एप्रुभल : सबै चरणको परीक्षणमा प्रभावकारी देखिएपछि खोप बन्छ र त्यो खोप प्रयोगका लागि सम्बन्धित निकायले मान्यता दिन्छन् ।

......

खोप निर्माण प्रविधि

जेनेटिक खोप

यो प्रविधिअनुसार खोपले मानव शरीरमा कोरोना भाइरसकै एक वा त्योभन्दा बढी जिन प्रवेश गराउनेछ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

भाइरल भेक्टोर खोप

यो प्रविधिको खोप पनि भाइरस नै प्रयोग गरी निर्माण गरिएको हुन्छ, जसले मानिसको शरीरमा कोरोना भाइरसकै जिन प्रवेश गराइन्छ । यसले पनि मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्नेछ । कुनै भाइरल भेक्टोर खोपले व्यक्तिको सेलभित्र प्रवेश गरी भाइरल प्रोटिन निर्माण गर्न मद्दत गर्छ ।

प्रोटिन–बेस खोप

यसप्रकारको खोपले प्रोटिन बोकेको हुन्छ । खोपले मानिसको शरीरमा प्रोटिन पु¥याउँछ र भाइरस संक्रमणबाट बचाउँछ ।

इनएक्टिभेटेड अर एटिनुएटेड कोरोनाभाइरस खोप

यस प्रविधिको खोप कमजोर बनेका कोरोना भाइरसलाई नै प्रयोग गरी निर्माण गरिएको हुन्छ, जसले भाइरस संक्रमणबाट बचाउनेछन् ।

रि–पर्पाेज खोप

पहिले नै कुनै अर्काे रोगका लागि बनाइएको खोपलाई कोरोना भाइरसविरुद्ध पनि प्रयोग गर्न सकिनेबारे अनुसन्धान भइरहेको छ । त्यसैलाई रि–पर्पाेज खोप भनिएको हो ।