
हरेक शनिबारका दिन सुर्खेतवासीको रोजाइ वीरेन्द्रनगर–१२ को गोठीकाँडा पर्ने गरेको छ । वीरेन्द्रनगर बजारबाट १० किलोमिटर टाढा रहेको गोठीकाँडाबाट सुर्खेत उपत्यका दृश्य अवलोकन गर्न सजिलो हुने भएका कारणले सुर्खेतवासीको रोजाइमा गोठीकाँडा पर्ने गरेको हो ।
सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडाको सदरमुकाम वीरेन्द्रनगर सारिएपछि लामो समय सुनसान बनेको थियो । अहिले गोठीकाँडा अहिले बिदा मनाउने आकर्षक केन्द्र बनेको छ ।
डाँडामा रहेको गोठीकाँडाबाट तल फराकिलो उपत्यका, माथि पहाड र हिमालको दृश्यावलोकन गर्न सकिने भएका कारणले पर्यटकका लागि आकर्षणको केन्द्र बनेको गोठीकाँडा होटेल व्यवसाय गरिरहेका धनलाल देवकोटाले बताए ।
शान्त वातावरण, चिसो हावा, स्थानीयस्तरमा उत्पादन हुने दूध, दही र लोकल कुखुरा खान बस्न यहाँ शनिबार दिन घुइँचो लाग्ने गरेको छ ।’ उनले भने, ‘हरेक महिनाको पहिलो शनिबार वीरेन्द्रबजार क्षेत्रमा व्यवसाय बन्द गर्ने भएका कारणले यहाँ बस्ने ठाउँ पाउन समेत मुस्किल हुन्छ ।’
पश्चिमको नगरकोटका रूपमा चिन्न थालिएको र गोठीकाँडामा सुर्खेतकै सबैभन्दा बढी पर्यटक आउने स्थान भएको वडाध्यक्ष टोपबहादुर दर्लामीले बताए । ‘यहाँ आउने पर्यटकको रोजाई स्थानीय परिकार पर्नुका साथै दृश्यावलाेकन पनि एक हो ।’ उनले भने,‘यसलाई अझैँ व्यवस्थित गरेर अगाडि बढ्ने सोच बनाएका छौँ।’
करिब दुई सय वर्षअगाडि गोठीकाँडानजिकैको बयलकाँडामा बहादुर शाहको पालामा गढी निर्माण गरिए त्यो अहिले भग्नावशेष अवस्थामा रहेको वडाध्यक्ष दर्लामीले बताए । ‘बहादुर शाहको पालामा निर्माण भएको ऐतिहासिक गढी रहेको छ ।’ उनले भने,‘त्यो गढीको संरक्षणमा अहिले हामी लागि रहेका छौँ ।’
आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका कारणले अहिले गोठीकाँडाआसपासमा होटेल व्यवसाय सञ्चालनलगायतका अन्य कामका लागि जग्गा खरिद र बिक्री बढेको वडाध्यक्ष दर्लामीको भनाइ रहेको छ ।
सहरको आधुनिकताभन्दा फरक प्राकृतिक आनन्द दिने गोठीकाँडा मल्लकालीन ऐतिहासिकस्थल भएको स्थानीय बताउँछन् ।
आन्तरिक पर्यटन केन्द्र बन्दै गएको गोठीकाँडालाई विकास गर्न पूर्वाधारसहितको योजना तय गरिएको वडाध्यक्ष दर्लामीले बताए । ‘सडक विस्तार, खानेपानी र सुरक्षा यहाँका मुख्य समस्या हुन् ।’
उनले भने,‘पूर्वाधार विकासका लागि हामीले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेका छौं । तर, भनेअनुसारको विकास हुन सकेको छैन ।’