Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल तस्वीर
२०७७ मङ्सिर १७ बुधबार १३:३६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढी प्रहरी हत्या प्रकरण : आठ अभियुक्त कारागार चलान, एक अझै फरार

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १७ बुधबार १३:३६:००

धनगढी उपमहानगरपालिका– १२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका आठजना अभियुक्त कारागार चलान भएका छन् । 

जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । 

धनगढी– १०, का पर्कु भनिने ३१ वर्षका रोहित राना, २० वर्षका राजेन्द्र राना, चोर भनिने ३० वर्षका सुरेश राना, गब्बर भनिने २५ वर्षका राजकुमार राना र २२ वर्षका रामनिवास राना पुर्पक्षका लागि कारागार चलान भएका जिल्ला अदालतका स्रेस्तेदार राइभान कुञ्जेडाले जानकारी दिए । 

यस्तै, हत्याका अभियुक्त टल्लु भनिने २९ वर्षका दलराम राना, गोपाल भनिने २५ वर्षका रामगोपाल राना र २० वर्षीय रोहित राना पनि कारागार चलान भएका छन् ।

प्रहरी हत्या घटनासँग जोडिएको मटरको तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी राजीव गुप्ता भने धरौटीमा छुटेका छन् । 

अदालतले तोकेको एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी तारेखमा छुटेका स्रेस्तेदार कुञ्जेडाले जानकारी दिए । 

हत्यासँग जोडिएको मटर गुप्ताको भएको खुलेपछि घटनाको केही दिनपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 
घटनाका एकजना अभियुक्त भने अझै पक्राउ परेका छैनन् । 

धनगढी उपमहानगरपालिका– १०, का सुकबहादुर भनिने ३५ वर्षका अमर राना घटना भएदेखि नै फरार छन् । उनी घटनाका मुख्य अभियुक्त भएको प्रहरीको दाबी छ ।

प्रहरी हत्या घटनामा १० जनाविरुद्ध कर्तव्य ज्यान चलाइएको छ । यीमध्ये मुख्य कसुरदार नौजना छन् । 

व्यापारी गुप्तालाई घटनाको मतियार बनाइएको स्रेस्तेदार कुञ्जेडाले बताए । 

मुख्य कसुरदार ठहऱ्याइएका नौजनालाई सरकारी वकिलको कार्यालयले आजीवन कैदको माग दाबी गरेको छ ।

गस्तीमा गएका वेला प्रहरी सहायक निरीक्षक विक र प्रहरी जवान साउदको मटर (केराउ) तस्कर समूहले गत १ कात्तिकको राति हत्या गरेको थियो । 

नेपालबाट भारततर्फ मटर तस्कर भइरहेका वेला रोक्न खोजेपछि तस्कर समूहले उनीहरूको हत्या गरेको खुलेको थियो । 
दुवैजनाको हत्या गरी नेपाल–भारत सीमा क्षेत्रमा बग्ने मोहना नदीमा फालेका थिए । 

प्रहरी सहायक निरीक्षक विकको शव घटनाको दोस्रो दिन फेला परेको थियो । त्यसको दुई दिनपछि जवान साउदको शव पनि मोहना नदीमै फेला परेको थियो । 

घटनालगत्तै प्रहरीले आठैजना अभियुक्तलाई पक्राउ गरेको थियो । प्रहरीको हत्यापछि राति नै तस्करले ५० बोरा मटर भारत पुऱ्याएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।