मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
विश्वास नेपाली
२०७७ मङ्सिर १६ मंगलबार ०८:१४:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सपना समाजवादी, राजनीति बेथितिको

Read Time : > 3 मिनेट
विश्वास नेपाली
२०७७ मङ्सिर १६ मंगलबार ०८:१४:००

हरेक देशलाई राजनीतिले नै डोर्‍याइरहेको हुन्छ । देशलाई बिगार्ने कि समृद्ध बनाउने ? प्रगतिपथमा लैजाने कि भ्रष्टाचारमा डुबाउने ? कस्तो खालको राजनीतिक अभ्यास गर्ने भन्ने निक्र्योल राजनीतिक व्यवस्था र नेतृत्वले नै गर्ने हुन् । यसर्थ, मुलुकको समृद्धि र अधोगतिको श्रेय पनि मुलुकको नेतृत्व गर्नेहरूलाई जान्छ । 

आफू नेतृत्वमा पुग्नका लागि अनेक अपत्यारिला सपना बाँड्ने तर नेतृत्वमा पुगेपछि त्यो पूरा गर्न नलाग्ने नेपाली राजनीतिको स्थापित परम्परा नै हो । नेपालमा विगत र वर्तमानका नेतृत्वबाट बाँडिएको समाजवादी सपना र नेपाली जनताको अवस्थाको तुलना गरी हेर्‍यौँ भने आश्वासन र यथार्थबीच आकाश–जमिनको अन्तर पाउनेछौँ ।

नेपाली राजनीतिमा पूरा नहुने वाचा धेरै गरिएका छन् । कसैबाट छलछाम नहोस्, अलमल नहोस् भनेर पछिल्लोपटक जारी नेपालको नयाँ संविधानको प्रस्तावनामै गन्तव्य निर्दिष्ट गरियो– लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध भएर समृद्ध राष्ट्र निर्माण गर्ने । जननिर्वाचित प्रतिनिधि र राजनीतिक सहमतिमा निर्मित यो संविधानलाई प्रगतिशील मानिएको छ । सही अर्थमा कार्यान्वयन हुँदा यसले नेपाललाई समृद्धिको बाटोमा लैजाने पनि पक्का छ । 

फेरि बहुसंख्यक नेपालीको अपेक्षा पनि उस्तो ठूलो छैन । कृषिप्रधान मुलुकमा सबैभन्दा बढी किसानकै संख्या हुने भयो । एउटा किसानको सपना के हुन्छ ? उत्पादनका लागि जमिन । सहज बिउ, मलको उपलब्धता । उपज बेच्ने बजारको व्यवस्था । छोराछोरीलाई शिक्षा दिने हैसियत, रोग लाग्दा उपचार हुने सुनिश्चितता । एउटा विद्यार्थीको सपना के हुन्छ ? आफ्नै देशमा समयानुकूल एवं गुणस्तरीय शिक्षा ।

योग्यताअनुसार रोजगारीको अवसर । भूमिहीनको सपना, बसोवासका लागि सुरक्षित घर । धेरथोर जमिन । योग्यता र क्षमताअनुसार काम । कामअनुसारको पारिश्रमिक । दलितको सपना विभेदरहित समाज । विनाभेदभाव सामाजिक क्रियाकलापमा सहभागिताको अवसर । अझै भनौँ समाजमा रहेका अन्य मानिसलाई झैँ बराबरीको सम्मान र व्यवहार । र, महिलाले चाहने भनेको महिला भएकै कारण परिवार र समाजबाट फरक (भेदभावजन्य) व्यवहार नहोस् भन्ने न हो ।

छोरासरह शिक्षा, स्वास्थ्य, रोजगारी र सम्पत्तिमा बराबरी पहुँच र स्वतन्त्रताबाहेक उनीहरूले के अपेक्षा गरेका हुन् र । 
फरक जाति, भाषा, भूगोल, समुदाय, वर्ग, लिंगका मानिसका आ–आफ्ना सपना र चाहना छन् । राज्यले सबैलाई समान आँखाले हेर्ने नीति अँगाल्दा सबैका सपना पूरा भइहाल्छन् । तर, राज्यमा स्थापित विभेद र असमानतामाथि आँखा चिम्लिएर समाजवादी सपनाको आलाप मात्रै गाउँदा अझै पनि उत्पीडितका समस्या ज्युँकात्युँ छन् ।

अहिले पनि यी विषय सपनामै सीमित छन् । जब कम्युनिस्टहरू नेपालमा उदाए, उनीहरूले समानताका यस्ता थुप्रै अचाक्ली सपनाहरू बाँडे । राजनीतिक दस्तावेजहरूलाई समाजवादी सपनाले आकर्षक बनाए । इतिहासको समीक्षा गर्दा केही परिवर्तनको आशा जनताले कम्युनिस्ट पार्टी र यसको नेतृत्वबाट राखेको स्पष्ट हुन्छ ।

त्यही भएर उनीहरूले कम्युनिस्ट पार्टीलाई पटक–पटक सत्तामा पुर्‍याएका पनि छन् । यही सपनामा टेकेर अहिले पनि हामीकहाँ प्रचण्ड बहुमतसहितको कम्युनिस्ट सरकार छ । तर, यही बखत हामीकहाँ स्वास्थ्य उपचार सेवा अत्यन्तै महँगो बन्दै छ । पैसा नहुने सिटामोलसमेत नपाएर अकालमै मर्नुपर्ने अवस्था छ । 

शिक्षामा व्यापारीकरणले चरम रूप लिँदै गएको छ । हातमा डिग्रीका सर्टिफिकेट लिएका शिक्षित बेरोजगारीको दर बढ्दो छ । अधिकांश युवा विदेशी भूमिमा पसिना बगाई आफ्नो परिवारको जीविकोपार्जन गर्न बाध्य छन् । उसवेला बिपी कोइरालाले देखेको समाजवादी सपना थियो– हरेक नेपालीको घरमा एउटा दुहुनो गाई, एक हल गोरु, गरिखान पुग्ने जमिन, औषधिमुलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था ।

थितिमा चलेको चीन अहिले विश्वको शक्तिशाली देश बन्ने दौडमा छ । बेथितिका हामी कहाँ छौँ ? राजनीतिमा अनुशासन महत्वपूर्ण पक्ष हुन्छ । नेता र कार्यकर्ता अनुशासनमा बस्न सकेनन् भने त्यो पार्टीले लिएको नीति सफल हुँदैन ।

उनले भनेका थिए, ‘हलो जोतिरहेको किसानको तस्बिर हेरेर योजना बनाउनु ।’ अहिले कम्युनिस्ट पार्टीहरूले बाँडेका समाजवादी सपना पनि त्यसभन्दा भिन्न छैन । किनकि, जनजीविकाका सवालमा पहिले र अहिलेमा तात्विक अन्तर छैन, बरु जटिल बनेको छ । यस्ता सपना पटक–पटक बाँडिए ।

दलका घोषणापत्रमा यही कुरा पटक–पटक लेखिएका छन् । तर, के यी समृद्धिका नाराहरूको अभ्यास भयो त ? छैन । किन हाम्रो नेतृत्व यस्ता सपना बाँडिरहन्छन्, तर काम गर्दैनन् ? यसमा बौद्धिक बहस आवश्यक छ । हामी कस्तो खालको समाजवाद चाहन्छौँ ? नेपालसुहाउँदो समाजवादी व्यवस्थाको अभ्यास कस्तो हो ? त्यसको बहस छैन । कुनै अध्ययन र अनुसन्धान भएका छैनन् ।

संविधानमा समाजवाद शब्द लेख्नेबाहेक उल्लेखनीय प्रगति भएको छैन ।  समाजवादी व्यवस्थाले व्यक्तिको क्षमताअनुसारको काम र कामअनुसारको दामको परिकल्पना गर्दछ । तर, हामीकहाँ शिक्षित बेरोजगारीको संख्यासमेत दिन दुईगुना रात चौगुना बढ्दै गएको छ । त्यसैले असमानता जहाँको त्यहीँ छ । बरु, भ्रष्टाचार बढ्दै छ भने हामी समाजवादी यात्रामा कसरी छौँ ?

मुलुकमा लामो संघर्ष र हजारौँको बलिदानीबाट परिवर्तन आयो । परिवर्तित व्यवस्थाअनुसार सिंहदरबार गाउँघरमा पुर्‍याइयो । केन्द्रीकृत शासन व्यवस्था विकेन्द्रीकरण भयो । जनताको छोराछोरीको नेतृत्वमा समृद्धिको सपना पूरा गर्ने कार्यभार पुर्‍याइयोे । अब दुःखका दिन गयो, जनता सुखी एवं समृद्ध हुनेछन् भनियो । तर पनि आमजनताको जीवन उस्तै छ । किनकि, सत्ताको उपयोग दोहनका लागि हुने थिति जो बसेको छ । हामी अभ्यास पुँजीवादीको पनि चरम रूपको गर्दै छौँ, अनि गफचाहिँ समाजवादको दिँदै छौँ । पुँजीवादको टिकट काटेर समाजवादमा पुग्न सकिएला र ?

अहिले देशभर धेरैजसो स्थानीय तहमा कम्युनिस्ट नेतृत्वको सरकार छ । केन्द्रीय र प्रदेश सरकारको नेतृत्व पनि कम्युनिस्टकै हातमा छ । यस्तो अवस्थामा केन्द्रीय नेतृत्व एक खालको राजनीतिक अनुशासनमा बसेर कम्तीमा पाँच वर्षको कार्यकाल पूरापूर चलाउने हो भने त्यसले मुलुकमा धेरै समृद्धिको काम गर्न सक्ने आशा गर्न सकिन्छ । तर, आन्तरिक लडाइँमा होमिएको पार्टीबाट जनताका समस्या कसरी पूरा होलान् भनी आशा गर्नु ।

अबको डेढ वर्षपछि नयाँ चुनाव हुँदै छ । वर्तमान सरकारको नारा ‘समृद्ध नेपाल र सुखी नेपाली’ आफैँ पूरा हुने होइन । एउटा असल नेतृत्वले धेरै गर्न सक्छ भन्ने उदाहरण विश्वमा देखिएकै छन् । यसकारण राजनीतिक नेतृत्वले आफ्नो राजनीतिक दल, पार्टी र संगठनलाई पहिला अनुशासनमा राख्न सक्ने हो भने पक्कै पनि त्यसले सम्पूर्ण मुलुकको हित र विकास हुने काम गर्न सक्छ । तर, हामीकहाँ पछिल्लो राजनीतिक अभ्यासलाई हेर्ने हो भने अवस्था कहालीलाग्दो छ । 

हामीले सुनेका छौँ, करोडौँ कार्यकर्ता भएको चिनियाँ कम्युनिस्ट पार्टीमा कठोर अनुशासन छ । पार्टीका नेता कार्यकर्ता अनुशासनको पालना गर्छन् । नेतृत्वबाट आएका विचार र रणनीतिलाई तल कार्यकर्ता र जनतासम्म पुर्‍याउन लागिपर्छन् । थितिमा चलेको चीन अहिले विश्वको शक्तिशाली देश बन्ने दौडमा छ । बेथितिका हामी कहाँ छौँ ? राजनीतिमा अनुशासन महत्वपूर्ण पक्ष हुन्छ । नेता र कार्यकर्ता अनुशासनमा बस्न सकेनन् भने त्यो पार्टीले लिएको नीति सफल हुँदैन । अहिलेको नेकपामा त्यही देखिएको छ । राजनीतिक दलका आचरण हेर्ने हो भने समाजवादको उल्टो अभ्यास भइरहेको बुझ्न कठिन छैन । 

(नेपाली समाजशास्त्रका विद्यार्थी हुन्)