मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o९:४३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कर्मचार्यद्वारा १६४औँ पटक रक्तदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४३:oo

रक्तदाता प्रेमसागर कर्मचार्यले पहाडी जिल्ला दोलखा पुगेर १६४औँ पटकको रक्तदान गरेका छन् । रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य बोकेर उनले देशभर रक्तदानको अभियान चलाइरहेका छन् ।

शनिबार दोलखा सदरमुकाम चरिकोटमा कांग्रेस नेता स्व. भीमबहादुर तामाङको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा अभियन्ता कर्मचार्यले १६४औँ पटक रक्तदान गरेका हुन् । 

उपत्यकाभन्दा बाहिरका जिल्लामा बसोवास गर्ने नागरिकमा रक्तदान गर्ने उत्साहमा वृद्धि होस् र कुनै पनि बिरामी रगत अभावकै कारणले मर्नु नपरोस् भन्दै आफूले यो अभियान चलाइरहेको कर्मचार्य बताउँछन् । 

नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘कसैको ज्यान बचाउन र पुन्य कमाउने सबैभन्दा ठूलो दान नै रक्तदान हो भन्ने भावना सबै मानवसमक्ष पुग्न सकेको छैन, त्यसैले हामीले यसलाई अभियानकै रूपमा चलाइरहेका छौँ  ।’ 

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्षसमेत रहेका कर्मचार्यले वर्षौँदेखि रक्त व्यवस्थापनमा सबैको सहभागिता भन्ने नाराका साथ उक्त अभियान सञ्चालन गरिरहेका छन् । 

उनले काठमाडौं उपत्यका र अस्पतालबाहेक २० भन्दा धेरै जिल्लामा पुगेर रक्तदान गरिसकेका छन् । कर्मचार्यकै अगुवाइमा देशभर ४० भन्दा धेरै जिल्ला तथा नगरमा स्वयंसेवी रक्तदाता समाज गठन भइसकेको छ ।  त्यसले नियमित रक्तदानको अभियान चलाइरहेको छ । 

१६ वर्षदेखि रक्तदान सुरु गरेका कर्मचार्य अहिले ५७ वर्षका भइसकेका छन् । यो अवधिसम्म उनले १६४ पटक रक्तदान गरिसकेका छन् । उनीसँगै रक्तदान गर्न दोलखा आएका अर्का रक्तदाता केबी सम्राटले पनि १०६औँ पटकको रक्तदान गरेका छन् । 

नेपाली कांग्रेसको कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा शनिबार मात्रै ३० पोका रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका सभापति गोकर्णप्रसाद पोखरेलले जानकारी दिए ।