Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्वीर साभार : डिएनए इन्डिया
२०७७ मङ्सिर १० बुधबार १८:०५:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय विदेश सचिव शृंगला आज आउँदै, नेपाल–भारत उच्च कूटनीतिक तहमा १५ महिनापछि वार्ता

Read Time : > 4 मिनेट
२०७७ मङ्सिर १० बुधबार १८:०५:००

नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि बिहीबार औपचारिक वार्ता हुँदै छ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी हर्षबर्धन शृंगला नेतृत्वका प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो । नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न भारतीय विदेश सचिव शृंगला बिहीबार काठमाडौं आउँदै छन् ।

बिहीबारको वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन् । विदेश सचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, भारतीय राजदूत विनयमोहन क्वात्रा र भारतीय दूतावासका अधिकारीहरू हुनेछन् ।

भारतीय विदेश सचिव शृंगलाले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । यस्तै, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि विदेशमन्त्री शृंगलालको शिष्टाचार भेट हुनेछ । शुक्रबार नेपाली थिंकट्यांक आइडिएसएद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनी दिल्ली फर्किनेछन् ।

नक्सा सार्वजनिक भएपछि रोकिएको थियो संवाद
४ भदौ ०७६ मा काठमाडौंमा दुई मुलुकका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भएको थियो । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रमण्यम् जयशंकर आएका थिए । त्यसको दुई महिनापछि भारतले कालापानीसमेतको जमिन समेटेर नयाँ नक्सा जारी गरेको थियो । त्यसपछि दुई मुलुकबीच औपचारिक कूटनीतिक वार्ता रोकिएको थियो ।


विदेश सचिवस्तरीय वार्ताका लागि नेपालले प्रयास गरेको थियो, तर भारतले विदेश सचिव परिवर्तनको संक्रमणकाल सकिएपछि वार्ता गर्ने बताएको थियो । नयाँ विदेश सचिवका रूपमा शृंगला आएको केही समयपछि कोभिड–१९ महामारी सुरु भयो ।

भारतले उत्तराखण्ड, लिपुलेक र तिब्बत जोड्ने सडक उद्घाटन गरेको जवाफमा नेपालले लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा जारी गर्‍यो । त्यसपछि दुई देशबीच कूटनीतिक संवाद ठप्प भएको थियो । भारतले कालापानीसम्म दाबी गर्दै कोभिड–१९ महामारी सकिएलगत्तै परराष्ट्र सचिवस्तरीय वार्ता गर्ने धारणा राख्दै आएको थियो । नेपालले भने यथाशक्य वार्ता गर्ने प्रस्ताव गरेको थियो ।

गत १५ अगस्टमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा औपचारिक संवाद सुरु गर्ने सहमति भएको थियो । त्यसपछि भारतीय गुप्तचर संस्था ‘र’ प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपाल भ्रमण गरेका थिए ।

कालापानी, सुस्ताको सीमा समस्यामा नेपाली पक्षको जोड
द्विपक्षीय वार्तामा नेपालले कालापानी, सुस्तालगायत सीमा समस्या समाधानमा जोड दिने भएको छ । त्यसका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक शीघ्र बस्नुपर्ने, प्राविधिक तहमा पनि द्विपक्षीय छलफल हुनुपर्ने धारणा नेपाली पक्षले राख्ने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीको भनाइ छ । यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर टुंगिनुपर्नेसहित बाँध, डुबान, द्विपक्षीय सम्झौताअनुसारका परियोजना कार्यान्वयनमा नेपाली पक्षको जोड रहने ती अधिकारीले बताए ।

भारतीय पक्षले भने सीमाको विषयभन्दा बढी द्विपक्षीय आर्थिक सहकार्य, कनेक्टिभिटीलगायतमा जोड दिने सम्भावना छ । ‘मैले बुझेसम्म प्रधानमन्त्रीहरूबीच भएको सहमति कार्यान्वयनको समीक्षा हुन्छ र भविष्यमा के के गर्ने भन्ने विषयमा छलफल हुन्छ,’ भारतको सरकारी थिंकट्यांक मनोहर पारिकर आइडिएसएका नेपाल मामिला विज्ञ डा. निहार आर. नायकले टेलिफोनमा भने, ‘सीमासम्बन्धी नेपालले राख्ने चासो र सरोकारलाई विदेश सचिवले नोट गर्ने र दिल्लीमा राजनीतिक नेतृत्वलाई जानकारी दिनेछन् । त्यसआधारमा उनले नेपाली पक्षलाई निश्चित समयपछि जवाफ दिनेछन् ।’

तर, यो भ्रमणले राजनीतिक तहमा उच्चस्तरीय भ्रमणको मार्गप्रशस्त गर्ने नायकको भनाइ छ । मंसिरभित्रै नयाँदिल्लीमा नेपाल–भारत संयुक्त आयोगको बैठक बस्ने गरी तयारी भइरहेको छ । ‘दुई देशबीच भविष्यमा प्रधानमन्त्रीस्तरको भ्रमण गर्ने विषयमा पनि छलफल हुनेछ,’ कूटनीतिक स्रोतले भन्यो ।

विदेश सचिव शृंगला भारतीय नेपालीभाषी परिवारका नातेदार हुन् । उनी नेपाली भाषा राम्रोसँग बोल्न सक्छन् । यस्तै, एक समयमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डिभिजनमा काम गरेको अनुभव पनि उनीसँग छ । उनले कार्यभार सम्हालेपछि पहिलो भेट नेपाली राजदूत नीलाम्बर आचार्यसँग गरेका थिए ।

भारतीय कूटनीतिक स्रोतका अनुसार शृंगलाले भारतको छिमेक प्रथम नीतिअन्तर्गत नेपाल उच्च प्राथमिकतामा रहेको सन्देश स्पष्ट रूपमा दिनेछन् । यस्तै, नेपालसँग थप आर्थिक सहकार्यको बचनबद्धता पनि व्यक्त गर्ने स्रोतको भनाइ छ ।
परराष्ट्र मन्त्रालयले द्विपक्षीय वार्तामा नेपाल र भारतबीच सहयोगका बृहत् क्षेत्रहरूमा छलफल हुने बताएको छ । ‘यो भ्रमण दुई मित्रवत छिमेकीबीच उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान हो,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । विदेश सचिव शृंगलाले नेपाल सरकारलाई कोभिड–१९ सँग सम्बन्धित सहयोग हस्तान्तरण गर्ने कार्यक्रम पनि छ ।

चिनियाँ रक्षामन्त्रीको ‘स्टपओभर’ भ्रमण
भारतीय विदेश सचिव नयाँदिल्ली फर्केको दुई दिनपछि आइतबार चिनियाँ रक्षामन्त्री जनरल वेइ फेङ्गे औपचारिक भ्रमणमा नेपाल आउँदै छन् । उनको भ्रमण सार्वजनिक भएको छैन, तर एक दिने भ्रमणका लागि परराष्ट्र मन्त्रालय, रक्षामन्त्रालय र जंगी अड्डाले तयारी गरिरहेका छन् । नेपाल भ्रमणपछि उनी बंगलादेश जाने कार्यक्रम छ ।

कोभिड–१९ महामारीपछि नेपाल आउन लागेका उनी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन् । भारतीय दुई सुरक्षा अधिकारी र विदेशसचिवपछि पहिलो नम्बरका चिनियाँ स्टेट काउन्सिलर जनरल वेइको नेपाल भ्रमणलाई गम्भीरतापूर्वक लिइनुपर्ने कूटनीतिक तथा रणनीतिक मामिलाका जानकार बताउँछन् ।

पूर्वराजदूत डा. दिनेश भट्टराई भारतीयपछि चिनियाँ मन्त्रीको भ्रमण संयोग मात्रै हुन सक्ने, तर उनीहरूको दौडधुप अर्थपूर्ण देखिएको बताउँछन् । ‘उनीहरू आफैँले निर्णय गरेको मितिमा आउँछन्, चाहेका मानिसलाई उनीहरूले चाहेको समयमा भेट्छन्, हाम्रो अनुकूलता वा सुविधामा उनीहरूको भ्रमण हुँदैन,’ भट्टराई भन्छन्, ‘नेपालमा छिमेकी र अरू शक्ति मुलुकको चासो बढेको छ । नेपालको दैलोमा भूराजनीति आएको छ । शक्ति, प्रभाव र भूमिका बढाउन चीन र भारत सक्रिय भएको अर्थमा यो भ्रमणलाई लिनुपर्छ ।’ छिमेकी मुलुकहरूको बढ्दो रुचिलाई व्यवस्थापन गर्ने चुनौती नेपाललाई थपिएको, तर नेपालमा रणनीतिक संस्कृतिको विकास नभएको भट्टराईको टिप्पणी छ ।

त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की भारत र चीनबीच नेपालमा प्रभाव विस्तारको होड चलेको टिप्पणी गर्छन् । ‘पाँच वर्षअघिको नाकाबन्दीपछि नेपालमा चीनले स्थान ओगटेको छ, भारतले गुमाएको छ । गुमेको स्थान फिर्ता लिने भारतको जोड र नाकाबन्दीसँगै नेपालमा पाएको स्थान कायम राख्ने चीनको जोडबीच होडबाजी चलेको छ,’ डा. कार्कीको विश्लेषण छ, ‘यसबाहेक विश्वव्यापी र क्षेत्रीय अस्थिरताको प्रतिबिम्ब पनि नेपालमा देखिएको छ । यो अहिले आएको होइन, तर यसको व्यवस्थापन गर्ने शासकीय क्षमता नेपालले देखाउन सकेको छैन ।’

सामरिक मामिलाका जानकार गेजा शर्मा वाग्लेको विश्लेषणमा भारतीय विदेश सचिव र चिनियाँ रक्षामन्त्रीको भ्रमण संयोगमा मात्र होइन । ‘चिनियाँ रक्षामन्त्रीको आकस्मिक  भ्रमण कूटनीति र सुरक्षाभन्दा पनि राजनीतिक मिसनबाट अभिप्रेरित देखिन्छ,’ वाग्ले भन्छन्, ‘छिमेकमा प्रभाव विस्तार दुवै देशको प्राथमिकतामा रहेको देखिन्छ । नेपालमा चीनको विस्तारित प्रभाव मजबुत पार्ने गरी भूमिका बढाउन र उच्चस्तरीय चिनियाँ नेतृत्वको सन्देश लिएर रक्षामन्त्री आउन लागेको बुझिन्छ ।’

भारतका ‘र’ प्रमुख र सेनाध्यक्षको भ्रमणमा नेपाल–चीन सम्बन्ध र भारतको सुरक्षा चासोबारे छलफल भएको सार्वजनिक भएपछि चीन थप सतर्क रहेको र त्यही सन्दर्भमा चीनले रक्षामन्त्रीको नेपाल भ्रमण गराएर स्पष्ट सन्देश दिन खोजेको वाग्लेको विश्लेषण छ ।

भू–रणनीतिक मामिला जानकार पूर्वउपरथी विनोज बस्न्यात नेपालका छिमेकी भारत र चीन तथा अमेरिकासँगको पुरानो सम्बन्ध अब नयाँ भूराजनीतिक वातावरणमा प्रवेश गरेको बताउँछन् । ‘भारत र चीन एकअर्का विरोधी वा दुवैको विरोधी कार्ड खेल्दा नेपालको राष्ट्रिय हित पूरा हुँदैन । एकअर्का विरोधी षड्यन्त्रको सिद्धान्तमा नेपाल जान सक्दैन, यसलाई नेपालले धान्न पनि सक्दैन,’ बस्न्यात भन्छन् । दुवै देशसँगको सम्बन्धलाई नेपालले आफ्नो राष्ट्रिय हितका आधारमा सञ्चालन गर्नुपर्ने उनको सुझाब छ ।