मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कमल खत्री म्याग्दी
२०७७ मङ्सिर ९ मंगलबार १२:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हराउँदो ‘मीत संस्कृति’ जाेगाउने प्रयास : मुख्यमन्त्री गुरुङ र अन्नपूर्ण गाउँपालिका अध्यक्षले लगाए मीत 

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७७ मङ्सिर ९ मंगलबार १२:३०:००

नाता–सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मीत लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर, पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभावका कारण ‘मीत–मितिनी’ साइनो हराउँदै गएको छ । 

त्यसैले यो संस्कृति जोगाउने अभियान पनि थालिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले मितेरी साइनो जोडेका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा सोमबार साँझ आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारिक वातावरणमा मितेरी साइनो लगाएका हुन् । 

यस माध्यमबाट मीत–संस्कृति जोगाउन सन्देश दिने प्रयास गरिएको छ । 

मीत लगाउने विषयमा पहिले नै समझदारी भएअनुसार मुख्यमन्त्री गुरुङ जिल्लामा आएको अवसरमा एक–अर्काले टीका, माला र नेपाली ढाकाटोपी लगाएर ‘मीत’ साइनोमा जोडिएको गाउँपालिका अध्यक्ष पुनले बताए ।

जनप्रतिनिधि भएपछि केही कार्यक्रममा मुख्यमन्त्री गुरुङसँग सँगै हुने अवसर मिलेको र धेरैले दुई भाइजस्तै भनेर चिनाउन थालेपछि आफूहरूबीचको भावनात्मक सम्बन्ध बढेको अध्यक्ष पुनले बताए । 

राजनीतिक रूपमा दुई फरक पार्टीमा भए पनि भावनात्मक निकटताले मितेरी साइनोसम्म पुऱ्याएको पुनको भनाइ छ । 

सो अवसरमा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षले टीका र माला एक–अर्कालाई लगाउनुको साथै केकसमेत काटेर खुसियाली साटासाट गरिएको थियो । 

यसअघि अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवकै अवसरमा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षबीच मितेरी साइनो लगाउने तय भइसकेको थियो । 

खासगरी गण्डकी क्षेत्रमा हजारौँ हजार वर्षअघिदेखि मितेरी साइनो लगाउने संस्कृति रहिआएको छ । तर, पछिल्ला वर्षहरूमा नयाँ पुस्तामा यसको आकर्षण घट्दो छ । 

यसलाई जोगाउन विशेष प्रयास गर्नुपर्ने संस्कृतिविद्हरूको भनाइ छ । 

मितेरी साइनोले समाजमा मित्रता र सदभाव कायम राख्न ठूलो भूमिका खेल्ने गरेको संस्कृतिविद्हरूको भनाइ छ ।