
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु गरेको छ । देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको छ ।
देशभरका परीक्षा केन्द्रमध्ये ६ सय १७ केन्द्रमा प्रश्नपत्र छपाइ गरी पुर्याइएको छ भने अन्य केन्द्रमा इमेलमार्फत प्रश्नपत्र पठाइएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम भएको छ ।
यस वर्षको परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थी सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट सञ्चालन हुने गरी परीक्षा तय भएको थियाे । तर, कोभिड– १९ का कारण परीक्षा स्थगित भएको थियो ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड संक्रमणको जोखिम हुने भएकाले भौतिक दूरी कायम गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरेको बताए ।
बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिँदै छ । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा– ११ को नतिजालाई आधार बनाइनेछ भने २० प्रतिशत आन्तरिक मूल्यांकन हुने भएको छ । परीक्षा बिहान ८ देखि साढे ९ बजेसम्म डेढ घन्टा सञ्चालन हुनेछ ।