
साओमी स्मार्ट फोनको नेपाली बजारमा सबैभन्दा बढी हिस्सा रहेको कम्पनीले दाबी गरेको छ । कम्पनीले आइडिसीको पछिल्लो वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट्याकर, तेस्रो त्रैमासिक रिपोर्टअनुसार साओमी फेरि नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड बनेको दाबी गरेको हो ।
सन् २०२० को पहिलो त्रैमासिकमा ब्रान्डले नेपालको स्मार्ट फोन बजारमा नेतृत्व गरेकोमा तेस्रो त्रैमासमा पनि पहिलो स्थानमा पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार युनिट सिपमेन्टका आधारमा नेपालमा ३४.१ प्रतिशत बजार हिस्सा रहेको छ । मी र रेडमी सिरिजको सफलताका कारण बजार हिस्सा बढी भएको कम्पनीको दाबी छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले यो सफलता मी फ्यानहरूबाट प्राप्त गरेको प्रेम र समर्थनका कारण भएको बताए ।
यो सफलताले सबैका लागि नवीन प्रविधि प्रदान गर्ने हाम्रो उद्देश्यको नजिक पुग्न मद्दत गरेको उनको भनाइ छ । कम्पनीले रेडमी ९ए, रेडमी ९सी, रेडमी ९, रेडमी नोट ९, रेडमी नोट ९ प्रो र रेडमी नोट ९ प्रो म्याक्स सार्वजनिक गर्दै बजारमा उपस्थिति जनाएको छ ।
साओमीले अनलाइन बिक्री साझेदार दराज डटकम र सस्तोडिलमार्फत पनि स्मार्ट फोन बिक्री गरिरहेको जनाइएको छ । यसका साथै देशभर १ हजार ६ सयभन्दा बढी अफलाइन पार्टनर स्टोर र ३ सय ५० भन्दा बढी मी प्रिफर्ड पार्टनर स्टोर स्थापना गरेको कम्पनीको दाबी छ ।