१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ मङ्सिर ८ सोमबार २०:२३:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

कांग्रेस सांसद रिजाल भन्छन्– सत्तामा जाने–नजाने भन्ने विषय हाम्रो हातमा छैन (अन्तर्वार्ता)

Read Time : > 3 मिनेट
२०७७ मङ्सिर ८ सोमबार २०:२३:००

नेकपा विवाद उत्कर्षमा पुगेको वेला प्रधानमन्त्री केपी ओलीले विपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटेर सत्ता गठबन्धनका लागि आह्वान गरेको विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । नेताहरूले जनताले चुनावमा पाँच वर्षका लागि कांग्रेसलाई प्रतिपक्षीको भूमिका दिएको भन्दै अहिले सत्ताका लागि खुट्टा उचाल्न नहुने टिप्पणी गरिरहेका छन् । कांग्रेस सभापति देउवानिकट नेताहरू भने भेटमा सत्ता गठबन्धनका सम्बन्धमा छलफल नै नभएको जिकिर गरिरहेका छन् । के कांग्रेस सत्तामा जान तयार भएको हो त ? नेकपा फुट्यो भने कांग्रेस सत्तामा जाला कि नजाला ? नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य डा. मीनेन्द्र रिजालसँग नयाँ पत्रिकाले गरेको संवाद :

नेकपा फुटको संघारमा पुगेका वेला प्रधानमन्त्रीले सभापति देउवालाई भेटेर सत्ता गठबन्धनको अफर गर्नुभएको छ । यसबारे तपाईंको टिप्पणी के छ ? 

यसबारेमा मलाई केही पनि जानकारी छैन । सभापतिजीले केही पनि भन्नुभएको छैन । म एउटा सांसद भएको हिसाबले संसद्मा मैले सक्नेसम्मको आफ्नो भूमिका निभाएको छु । तथापि अहिले मेरो तहसम्म यो विषयमा जानकारी दिनु नपर्ने अवस्था हुनुको अर्थ सत्ता गठबन्धनबारे भरपर्दो कुराकानी भएको हो जस्तो मलाई लागेको छैन । प्रधानमन्त्री ओलीले यसअघि पनि पार्टी फुट्न सक्ने सम्भावना हुँदाखेरि पार्टीभित्र आफ्ना विपक्षीहरूलाई आफूसँग सम्झौता गर्न बाध्यात्मक परिस्थिति सिर्जना गर्न विपक्षीसँग पनि मिल्न सक्ने मेरो सम्भावना छ, मसँग त्यो बाटो छ भन्ने एउटा परिस्थिति निर्माण गरेर दबाब सिर्जना गर्नुभएको थियो । र, त्यस किसिमको सफलता उहाँलाई प्राप्त पनि भयो । तर, त्यो वेला पनि सत्ता गठबन्धनका विषयमा प्रधानमन्त्रीजीसँग कांग्रेसको कुराकानी भएको थिएन । अहिले पनि त्यस्तै परिस्थिति भएकाले आफ्नो फाइदाका लागि पार्टीमा दबाब सिर्जना गर्न खोज्नुभएको हो जस्तो लाग्छ ।

प्रधानमन्त्रीले चाहनेबित्तिकै सभापति देउवा बालुवाटार पुग्नुभयो । के कांग्रेस सत्तामा जान तयार भएको हो त ? 

कसरी त्यस्तो हुन्छ ? सत्तामा हामी जाने–नजाने भन्ने विषय नै हाम्रो हातमा छैन त । पहिले कम्युनिस्ट पार्टी एउटाको सट्टा दुईवटा पार्टी हुनुप¥यो । अनि दुईवटा कम्युनिस्ट पार्टीले सत्ताका लागि सहयोग गर्नुप¥यो भनेर आह्वान गर्नुप¥यो । त्यसपछि मात्रै सत्ता गठबन्धनको कुरा आउने हो । त्यसैले बच्चा जन्मिने कुरा कहाँ छ, कन्दनी बाट्ने कुरा त मूर्खता मात्रै त हो ।

तपाईंलाई याद दिलाउँ, हाम्रो संवैधानिक व्यवस्था नै के छ भने संसद्मा बहुमत प्राप्त संसदीय दलको नेता मात्र प्रधानमन्त्री बन्न सक्छ । त्यही व्यवस्थाअन्तर्गत प्रधानमन्त्री ओली आजको दिनमा प्रधानमन्त्री हुनुहुन्छ । उहाँ हट्नका लागि या त उहाँलाई नेकपा संसदीय दलले दलको नेताबाट विस्थापित गर्नुप¥यो, र अर्को नेता भएर प्रधानमन्त्री हुने भयो । या त संसद्मा नेकपाको बहुमत नहुनुप¥यो । त्यसपछि त बल्ल सत्ता गठबन्धनको कुरा आउने हो । मचाहिँ अहिले दुवै परिस्थिति देख्दिनँ । अहिले नेकपाभित्र पनि उहाँमाथि विश्वास छैन भनेर अविश्वासको प्रस्ताव दर्ता भएको छैन । र, नेकपा अहिले पनि बहुमत प्राप्त दल भएको हुनाले कांग्रेससँग सत्ता गठबन्धन हुने कुरा टाढाको विषय हो । 

सभापति देउवाले प्रधानमन्त्रीलाई पटक–पटक भेट गर्दै आउनुभएको छ । विपक्षी दलको नेताले बारम्बार प्रधानमन्त्रीलाई भेटेर के गर्न खोज्नुभएको हो ? 

होइन, विपक्षी दलको नेताले प्रधानमन्त्रीलाई भेट्नै नहुने हो जस्तो मलाई लाग्दैन । पार्टी सभापतिलाई मैले दिने सुझाब यति मात्रै हो कि भेटघाट भइसकेपछि उहाँको सचिवालय नभए पार्टीमार्फत भेटमा भएको यथार्थ कुरा बाहिर सार्वजनिक भएको भए नचाहिँदो हल्ला फैलिने थिएन । र, त्यसले पार्टीको हित रक्षा हुन्थ्यो भन्ने मलाई लाग्छ । आधिकारिक रूपमा जानकारी गराउनुको सट्टा खालि एक–दुई लाइन सामाजिक सञ्जालमा लेखेर पार्टीका पदाधिकारीले स्पष्टीकरण दिने कुरा होइन । विज्ञप्तिमार्पmत यथार्थ सार्वजनिक गर्नुपथ्र्यो । यसमा व्यवस्थापकीय कमजोरी भएको भन्ने लाग्छ । यो भेटले प्रधानमन्त्रीजीलाई पार्टीभित्र सुविधा मिल्नेबाहेक अरू केही हो जस्तो लाग्दैन । उहाँ सत्ताको प्रतिरक्षाका लागि निपुण खेलाडी हुनुहुन्छ । सत्तामा आफूलाई मजबुद बनाउनका लागि विपक्षीलाई देखाएर दबाब सिर्जना गर्ने उहाँको टेक्निकभन्दा बाहेक मैले बुझेको छैन । 

अनि जनताले चुनावमार्फत कांग्रेसलाई जुन जिम्मेवारी दिएका थिए, त्यो यसैगरी पूरा हुन्छ त ? कांग्रेसको जिम्मेवारी यस्तै हो ? 

कांग्रेसलाई जनताले प्रतिपक्षीको भूमिका दिएका हुन् । हामीले त्यो भूूमिका निर्वाह गरेका छौँ । अहिले खालि के भने कम्युनिस्टप्रति झुकाब राख्नेहरूलाई कम्युनिस्टको सत्ता जोगाउनका लागि कांग्रेस पनि उपयोग भइदेओस् भन्ने होला । म एउटा सांसदको रूपमा संसद्मा प्रधानमन्त्रीको, सरकारको त मैले जानेसम्म कडै आलोचना गरिरहेकै छु त । तर, असल प्रतिपक्ष बन्न अहिले नेकपाका अर्का अध्यक्ष प्रचण्डको प्रशंसा गर्नुपर्छ भने प्रशंसाका दुई–चार वाक्य बोल्न म तयार छु । 

त्यसो भए कारणवश नेकपा फुट्यो भने कांग्रेस सरकारमा जान्छ ? 

त्यो त्यतिबेलै छलफल हुने कुरा हो । त्यो पुल हामी त्यही वेला तर्छौ, जुनवेला हामी त्यहाँ पुग्छौँ । हामीले फुटाएर नेकपा फुट्ने होइन नि । उहाँहरू आफ्नै कारणले फुट्न सक्नुहोला । न हाम्रो कारणले जोडिनुभएको हो न फुट्नुहुन्छ । मलाई त उहाँहरू फुट्नुहुन्छ जस्तो नै लाग्दैन । खासगरी दोस्रो तहका नेताहरूले धेरै मिहिनेत गरेर पार्टीलाई जोड्नुभएको छ । अहिले पार्टी फुट्ने कुराले उहाँहरूको भविष्यमै निकै फरक पर्ने कुरा हुन्छ । त्यसैले उहाँहरू लागेर पार्टीलाई एकताबद्ध राख्नलाई कोसिस गर्नुभएको देख्छु । पहिले पनि उहाँहरू एकता कायम राख्न सफल हुनुभयो, अहिले पनि उहाँहरू एकता कायम गर्न सफल हुनुहोला भन्ने मलाई लाग्छ । 

यो भेटलाई लिएर कांग्रेसले अस्थिरता निम्त्याउन भूमिका खेल्यो भन्ने आरोप पनि छ नि ? 

त्यसो होइन । जनतालाई स्थिर सरकार दिन नसक्नेहरूले पनि जनतालाई जवाफ दिनुप¥यो नि । स्थिर सरकार दिन्छु भनेर नसक्दाखेरि जनतालाई के जवाफ दिने ? पहिले यसको जवाफ त नेकपाले दिनुप¥यो ? त्यसपछि बल्ल हाम्रो कुरा आउँछ । हामी त त्यो सत्ता संरचनामै छैनौँ, टाढा छौँ । हामी त त्यहाँसम्म पुग्छौँ जस्तै लाग्दैन । अझै पनि मलाई त कम्युनिस्ट पार्टी फुट्छ जस्तो नै लाग्दैन ।