१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ८ सोमबार
  • Monday, 07 July, 2025
२o७७ मङ्सिर ८ सोमबार १३:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध कारोबारीको सक्रियता बढेपछि प्रहरीले थाल्याे ‘सर्च एन्ड सिजर’ अप्रेसन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर ८ सोमबार १३:३२:oo

पूर्वीनाका काँकडभिट्टामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । नाकाबन्दीका बाबजुद कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषध दैनिकजसो भित्र्याउने गरेका छन् । 

अनेक बहानामा नाकासम्म पुगेर लागुऔषध ल्याउने गरेको तथ्य बाहिर आएको छ । खोलामा नुहाउने, गाईवस्तु चराउने जस्ता बहानामा मेची नदी पार गर्दै कारोबारीले लागुऔषध भित्र्याउने गरेको प्रहरीले जनाएको छ । 

‘लकडाउन सकियो । सीमावर्ती बजारमा चहलपहल सुरु भएसँगै कारोबारीको पनि सक्रियता बढेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले भने, ‘विभिन्न बहानामा मेची नदीसम्म जाने र लागुऔषध ल्याउने रहेछन् । नुहाउने बहानामा खोलामा जाने र प्रहरीको आँखा छलेर लागुऔषध ल्याउने गरेको पाइयो ।’

नाकामा लागुऔषध कारोबार बढेपछि प्रहरीले ‘सर्च एन्ड सिजर’ अप्रेसन चलाएको छ । प्रयोगकर्तालाई मात्र पक्राउ गर्दा नियन्त्रण सम्भव नभएको निष्कर्ष निकाल्दै प्रहरीले कारोबारीलाई नै पक्राउ गर्ने उद्देश्यले अभियान चलाएको डिएसपी पोखरेलले जानकारी दिए । 

‘एकदम धेरै मौलायो । प्रयोगकर्तालाई मात्र पक्राउ गरेर केही हुँदैन भन्ने हाम्रो निष्कर्ष हो’, उनले भने, ‘अब कारोबारीलाई नै पक्राउ गर्नुपर्छ भन्ने उद्देश्यले सर्च एन्ड सिजर अप्रेसन चलाएका हौँ ।’ 

सोही क्रममा आइतबार इलाका प्रहरी कार्यालय काँकडभिट्टाले २८ ग्राम ब्राउनसुगरसहित लागुऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको छ । घरमै कारोबार चलाउँदै आएका मेचीनगर– ७ का २९ वर्षीय सीताराम आङदेम्बे र उनकी श्रीमती २२ वर्षीय मनीषा मगर आङदेम्बेलाई पक्राउ गरेको छ । 

उनीहरूले लागुऔषधको ‘डिलर’ चलाएको प्रहरीको आरोप छ । प्रहरीले उनीहरूबाट १३ ग्राम ब्राउनसुगर र आगुऔषध बिक्री गरेर जम्मा गरेको एक लाख ३३ हजार नगद बरामद गरेको डिएसपी पोखरेलले जानकारी दिए । यस्तै, उनीहरूसँग लागुऔषध खरिद गर्न आएका धरान– ५ का २४ वर्षीय कल्याण राई र धरान– १६ का २४ वर्षीय रिजन लकान्द्रीलाई पक्राउ गरेको हो ।

कल्याणको साथबाट पाँच र रिजनको साथबाट १० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध ओसारपसारमा उनीहरूको प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको हो । 

पछिल्लो समय पूर्वीनाकाबाट ब्राउनसुगर धेरै बरामद हुने गरेको पोखरेलले बताए । यो नाकामा लागुऔषध ओसारपसारमा झापासँगै मोरङ र सुनसरीका युवाहरू बढी सक्रिय रहेको प्रहरीले जनाएको छ ।