मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर ६ शनिबार ००:४६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

समृद्धिको चित्र, विकास विचित्र : चितवनको देवघाटमा सडकको बीचमै रूख राखेर कालोपत्रे 

गत वर्षको बजेटबाटै रकम खर्च हुने गरी अहिले हतार–हतार पिच, तर वातावरणीय प्रभाव मूल्यांकन नभएकोले जथाभावी पिच गरेर ठेकेदारको काम पूरा

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ६ शनिबार ००:४६:००

यो समाचार हेर्न पनि सक्नुहुन्छ :

देशको बजेट कहाँ खर्च भइरहेको छ ? कसरी खर्च भइरहेको छ ? चितवन देवघाटको यो चित्रले देशको विचित्र विकासलाई प्रस्ट देखाउँछ । 

जनताबाट संकलन गरिएको एक–एक रुपैयाँ राजस्वबाट चितवनमा सडक पिच गरिएको छ, जहाँ सडकको बीचमै ठाउँ–ठाउँमा सालका रूख ठिंग उभिएका छन् । 

सकड डिभिजन कार्यालय भरतपुरले चार किलोमिटर सडक मर्मत गर्न गत चैतमा नै ठेक्का दिएको थियो । जिएमआर नेपालले सडक मर्मतका लागि भ्याटसहित ७५ लाख २० हजार ६ सय ५२ रुपैयाँमा ठेक्का पाएको थियो ।

अघिल्लो वर्षको बजेटमा अहिले मंसिरमा मात्र हतार–हतार यसरी पिच गरिएको छ । मर्मत गरिएको सडकको पिच पनि कतै तीन मिटर, कतै पाँच मिटर छ । सडकको दायाँ–बायाँ छोड्नुपर्ने खाली जमिन पनि छैन । यो सडकबाट दिनमा दुई हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्छन् ।

धार्मिक स्थल देवघाट जाने आँपटारी–देवघाट सडक ९० वर्षदेखि सञ्चालनमा छ । तर, सडक अहिलेसम्म व्यवस्थित हुन सकेको छैन । मुग्लिन–नारायणगढ सडकबाट पश्चिम–उत्तरतर्फ वन क्षेत्र हुँदै देवघाट पुगिन्छ । तर, ठेक्काको पैसा पचाउन वातावणीय प्रभाव मूल्यांकन (इआइए)समेत नगरी सडक पिच गरिएको छ । 

सडक डिभिजन कार्यालयले बजेट ‘फ्रिज हुने भय’ देखेपछि इआइएविना नै हतारहतारमा सडक मर्मत गरिएको जनाएको छ । ‘सडक मर्मत गर्नैपर्ने भयो, वातावरणीय प्रभाव मूल्यांकन गर्दा समय लाग्ने भयो, मूल्यांकन नभएसम्म रूख काट्न मिल्दैन । त्यसैले उपलब्ध ठाउँमा पिच गरिएको हो,’ सडक डिभिजन भरतपुरका प्रमुख कृष्ण अधिकारीले नयाँ पत्रिकासँग भने । अहिले बजेट खर्च गरिएको सडकलाई फुटपाथसहित सात मिटरको बनाउन सर्भेसमेत भइरहेको कार्यालयले जनाएको छ । 

उता चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल भने प्रक्रिया मिलाएर ल्याएमा वनले विकासमा अवरोध नगर्ने बताउँछन् । ‘वन पनि सरकारी कार्यालय हो, सरकारी कार्यालयले विकासमा अवरोध गर्दैन । तर, प्रक्रिया नपुगेसम्म अनुमति दिन मिल्दैन,’ उनले भने । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल सरकारी कार्यालयहरूबीच समन्वय नभएकाले समस्या आएको बताउँछन् । ‘भौतिक पूर्वाधार र वन मन्त्रालयबीच नै समन्वय छैन । ५० रूख यसरी बीचबाटोमा पर्छन् । तर, छलफलबाट यसलाई टुंगो लगाऔँ भन्दा हाम्रो तर्क कसैले सुन्दैन,’ उनले भने, ‘जनताबाट उठाइएको राजस्वको यसरी दुरुपयोग भएको छ ।’

न्यूनतम मापदण्ड पूरा नगरी बनाइएकाले सडकबाट दुर्घटनासमेत बढी हुने डर बढेको छ । विगतमा समेत यस सडकमा रूखमा ठोक्किएर, हाँगा खसेर धेरै दुर्घटना भएका छन् ।